24.1 C
Kathmandu

शीर्ष नेताहरूले आफ्नो चरित्र सुधार्नु जरुरी

कहलिएका ठूला मानिसले जे जस्तो काम गर्दछन् सामान्य मानिसले पनि त्यसैको अनुकरण गर्छन् । त्यसैले ठूला व्यक्तिले उदाहरणीय तथा अनुकरणीय कार्य गरेर जस्तो आदर्श स्थापित गर्दछन् त्यसको सारा संसारले तिनै कुराको अनुशरण गर्ने गर्दछन् । त्यसैले ठूलो मानिस हुनलाई त्याग, तपस्या र बलिदानको जरुरत पर्दछ । बलिदान र त्याग गर्न सक्ने व्यक्तिमात्रै समाज, राष्ट्रको शीर्ष नेता बन्न सक्छ ।

उदाहरणीय कार्य गर्न नसक्ने पथभ्रष्ट व्यक्तिलाई मुलुकले कसरी र किन शीर्ष नेता मान्ने ? आफूले आफैलाई शीर्ष व्यक्तिमा घोषणा गर्दैमा शीर्ष हुन त सकिँदैन । व्यवहारले नै आफूलाई ‘शीर्ष’ प्रमाणित गर्न सक्नुपर्छ । अरुको मनमा उ प्रति स्वतः आदरभाव पैदा हुनुपर्छ । तर, हाम्रो मुलुकका स्वघोषित शीर्ष नेताहरूको व्यवहार र चरित्र अनुकरण गर्न लायक छैन । भ्रष्टाचारका अनेक काण्डमा ती मुछिएका छन् । कल्पना गर्न नसकिने कामलाई पनि पैसाको लोभमा ‘नेता’ हरूले सम्भव बनाइदिएका छन् । नागरिक बनाउने निकायका प्रमुखले नै आफ्ना नागरिकलाई अनागरिक तुल्याएर शरणार्थीसम्म बनाए । हुनै नसक्ने नारा लिएर मुलुकलाई बन्धक बनाएका छन् ।सामान्यतया सबैले देखेको, भोगेको र सुनेको सत्यतथ्य यही हो ।

संविधान जारी भएको वर्षौ बितिसक्दा पनि सम्पूर्ण जनताले संविधानलाई अपनत्व ग्रहण गर्न सकिरहेका छैनन् । अस्थिर राजनीतिले गर्दा समाजमा द्वेष, कलह, विनाशको स्थिति रहिरहन्छ भने भ्रष्टाचार, कालोबजारी दिन प्रतिदिन बढ्दै गएको छ । पहिलो पुस्ताले गरेका सकारात्मक कार्यहरूको अनुकरण नगर्ने परिपाटीले गर्दा अस्थिरता, अन्यौलता र असहजता बढ्दै गएको छ । नेतृत्वकर्ताले आफ्नो इच्छा आकांक्षा पूर्तिको लागि जबर्जस्ती तवरले आफू अनुकुलको निर्णय गर्दा पटकैपिच्छे गल्तीहरू दोहोरिएका हुन् । समाज राष्ट्रको हितभन्दा आफ्नो आकांक्षा र भनाइलाई लागू गर्नको लागि जस्तोसुकै हतकण्डा अपनाउन पछि नपर्ने सोचले गर्दा मुलुकको यो गति भएको हो । नेतृत्व वर्गहरूको चरित्र राष्ट्रिय विषयका मुद्दाहरूमा बहस वादविवाद गर्दैनन् अनियमितता  ढाकछोपको लागि एउटै थलोमा देखापर्छन । त्यसैले यस्तो चरित्र दिनप्रतिदिन घनिभूत भएर झाँगिने खतरा बढेको छ ।

वास्तवमा शीर्ष नेता बन्ने व्यक्ति राष्ट्रिय चरित्रको हुनुपर्दछ । लोभलालच मोहमा नपरी त्याग गर्न सक्ने व्यक्तिमात्रै शीर्ष नेता बन्न सक्छ । जनता पनि सुध्रिन जरुरी छ । नेपाली जनताको चरित्र मूल्यांकन र परीक्षण नगरी कसैलाई देवत्वकरण गरिदिने र सुनेकै भरमा कसैलाई राक्षसीकरण गरिदिने गरेका छन् । त्यो सोझोपनको फाइदा उठाउँदै नयाँ नयाँ नेताहरू उदाए अहिले ती उदाएका नेताहरूको चरित्र छर्लङ्ग भएको छ । सस्तो लोकप्रियता कमाउँदै स्वघोषित शीर्ष नेता बनेकाले राष्ट्रको जल जमिन जङ्गललाई संरक्षण गर्नुको साटो कमाउने साधन बनाएका छन् । त्यसैले शीर्ष नेताहरूले आफ्नो चरित्र सुधार गर या छो, निर्णय आफै गर !

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार