ललितपुर । संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावित नागरिकको सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ काठमाडौँ शिक्षालय ललितपुरले भव्य साइकल र्यालीको आयोजना गरेको छ । “बाढीपीडितका लागि साइकल र्याली, मानवताका लागि एकता” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी र स्थानीय जनसमुदाय गरी ३०० भन्दा बढी साइकलप्रेमीहरूको सहभागिता रहेको थियो ।
महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले उद्घाटन गर्नुभएको उक्त र्याली इमाडोलस्थित काठमाडौँ शिक्षालय परिसरबाट सुरु भई ग्वार्को, बालकुमारी, टिकाथली, बालकोट, लुभु, लामाटार र महालक्ष्मी नगरपालिकालगायत क्षेत्रको परिक्रमा गर्दै पुनः विद्यालय परिसरमै पुगेर समापन भएको थियो । २० र २५ किलोमिटर दूरीका दुई विधामा सञ्चालित र्यालीलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, नेपाल स्काउट र १५० भन्दा बढी स्वयंसेवकहरू खटिएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउन विद्यालय र समुदायले देखाएको यो अग्रसरता अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो । युवापुस्तालाई शारीरिक तथा मानसिक रूपमा सबल बनाउँदै समाज र वातावरणप्रतिको दायित्व बोध गराउन यस्ता अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले संविधानको मर्म अनुसार नागरिकमा सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाशराज पाण्डेले साइक्लिङलाई केवल खेलमा सीमित नराखी मानवीय सेवा, व्यवहारिक शिक्षा र वातावरणीय चेतनासँग जोडिएको अभियानका रूपमा अघि बढाइएको जानकारी दिनुभयो । र्यालीको दर्ता शुल्कबाट सङ्कलित रकमको २५ प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बुझाइने जानकारी दिँदै अध्यक्ष पाण्डेले विद्यालयका तर्फबाट यसअघि नै भोटेकोशी बाढीप्रभावितहरूलाई ललितपुर प्याब्सनमार्फत ५१ हजार रुपैयाँ सहयोग गरिसकिएको स्पष्ट पार्नुभयो । जलवायु परिवर्तनका कारण मुलुकले भोगिरहेको वातावरणीय सङ्कटबारे विद्यालय तहबाटै सचेत गराउन हरेक वर्ष संविधान दिवसका दिन यो र्यालीलाई वार्षिक अभियानका रूपमा निरन्तरता दिइने उहाँको भनाइ थियो ।
शिक्षालयकी प्रिन्सिपल प्रेमलता श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन, वडा अध्यक्षहरू छिरिङ लामा र अमृत केसी, नगर शिक्षा शाखा निर्देशक चिरञ्जीवी पौडेल तथा व्यावसायिक साइक्लिङ खेलाडीहरूको उपस्थिति रहेको थियो । समारोहमा सहभागीहरूलाई विद्यालयका तर्फबाट टी-सर्ट, पदक र सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।





