27.1 C
Kathmandu

रङगहरुको पर्व ‘होली’

होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दुहरूको प्रमुख चाड हो । हिन्दु संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता युगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु) होलिकाले आगोमा भस्म पार्न लाग्दा होलिका आफै आगोमा भस्म भएकी थिइन र विष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन शुरु भएको मानिन्छ । यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ ।

होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवायुवतीहरू गीत गाउँदै नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् । यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली शुरु भएको मानिने फागुपर्व पूर्णिमाको राति उक्त चीर (लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकश्यपुका छोरा प्रह्लाद विष्णुका परम भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएका थिए । एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएको थियो । दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भने अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध चुसाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । होली हिन्दुहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो। यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ। भारतमा पर्ने विंध्यक्षेत्रको रामगढ भन्ने स्थानमा स्थित ईसापूर्व ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ । संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो ।

फागु पूर्णिमा अर्थात होली पर्व नेपालमा निकै हर्षोल्लासको साथ मनाउने गरिन्छ । नेपालमा यो पर्व धुमधाम गरी, अरू ठूला चाडहरू जस्तै रमाइलो गरी मनाइन्छ।  होलीको अघिल्लो साँझ नेपालको वसन्तपुर दरवार अगाडि होलिका दहन गरेर  यस चाडको सुरुवात गरिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिकाले विष्णुका परम भक्त हिरण्यकश्यपुका छोरा (प्रह्लाद) लाई मार्न अग्निमा आसन गर्दा होलिका आफै जलेर नष्ट भएको र असत्य माथि सत्यको जित भएको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ। हिन्दु धर्म मान्नेहरूको बाहुल्यता भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भव्य हुन्छ। नेपालमा पहाडी क्षेत्रमा फागुपूर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलिपल्ट मात्र तराईमा होली मनाइन्छ । नेपालको विशेष सहरहरु काठमाडौँ, पोखरा, धरान, भरतपुर, विराटनगर, धनगढी लगायत ठाउँमा होलीको रौनक अझै फरक हुन्छ । विशेष सांस्कृतिक कार्यक्रमहरू र त्यसमाथि रङहरूको वर्षाले सहरको होली अझै रमाइलो र राम्रो देखिन्छ । नेपालका गाँउहरूमा पनि होली भव्यताका साथ मनाइन्छ । होलीमा पानी छयाप्ने, अबिर, केशरी लगायत रङ लगाउने चलन छ । वर्तमान समयमा होलीले विभिन्न खालका विकृति, विसङ्गतिहरू पनि नभित्र्याएको पनि कहाँ हो र रु होलीमा आजका युवाहरू इच्छा विपरित रङ्ग दलिदिने, अण्डा फोड्ने, गाडीको मोबिल दल्ने, हिलो लगाइदिने, युवाहरू रक्सी, गाँजा, भांग, खाएर मातिने जस्ता काम गर्छन् जसलाई राम्रो मान्न सकिदैन । नेपालका मुख्य शहरहरूमा होलीका लागि भनेर विभिन्न ठाउँमा कडा सुरक्षा जाँच गरिन्छ।

प्रत्येक वर्ष वसन्तपुरमा विधिपूर्वक चिर ठड्याइएसँगै फागुपर्व सुरु हुन्छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि मुलुकभर फागु अर्थात् होली पर्व सुरु हुने गर्दछ । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई आइतबार बिहान विशेष पूजा गरी ठड्याइने गरिन्छ । रङ्गीचङ्गी कपडाहरू झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको अग्लो बाँसको चीर ठड्याइन्छ । त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एक आपसमा अबिर छ्‌यापी हर्ष र उल्लासका साथ होली खेल्न सुरु हुन्छ । सो अवसरमा स्थानीयवासी तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिने गर्दछ । असत्यमाथि सत्यको विजय हुने मान्यताका साथ प्रतीकात्मक रूपमा चिर उठाउने र एकसातापछि फागु पूर्णिमाका दिन सो चिर ढलाएर टुँडिखेलमा पुर्याइ दहन गर्ने परम्परा रहेको छ। चीर बीचमै ढलेको खण्डमा पुनः ठड्याइ शान्ति स्वस्ति र क्षमा पूजागर्ने चलन छ। त्यसरी अचानक चीर ढलेका कारण देशमा कुनै संकट नपरोस् र अनिष्ट नहोस् भनी ब्राह्मणद्वारा स्वस्ति, शान्ति, होम र क्षमा पूजा गराइने चलन रहँदै आएको छ ।  त्यसै अवसरमा हनुमानढोका दरवार परिसर तथा हनुमानढोका दरबारभित्रको मोहनकाली चोक र दाखचोकमा पनि रंगिविरंगी कपडाका टुक्राहरू झुन्ड्याइएको मयलको रुखको हाँगा गाढेर पूजा पनि गरिने चलन छ । साथै, मोहनकाली चोकमा काठ निर्मित हातमा मुरली लिएका श्रीकृष्णको मूर्ति र नौवटा विभिन्न मुद्राका गोपीका मूर्तिहरू सजाई अबिर छर्केर पूजा गरिदै आएको छ ।

फाल्गुण शुक्ल पूणिर्माको साइतमा चीरलाई ढाली तानेर लगी टुँडिखेलको मध्यभागमा पुर्याएर दाह गरेर पर्व समापन गरिन्छ । त्यसको भोलिपल्टदेखि वसन्त ऋतु प्रारम्भ हुन्छ । टुँडिखेलमा दाह गर्नुअघि चीरको अन्तिममा दर्शन र पूजा गर्न मारवाडी समुदायका श्रद्धालुहरूको निकै घुइँचो लाग्ने गर्छ। चीर दाहपछि त्यसको खरानी प्रसादका रूपमा मानिसहरूले घर घर लैजाने चलन छ। यसैगरी ठमेलस्थित विक्रमशील महाविहारमा रहेको चकँ द्य चक्रमणशीलको मूर्तिलाई राति त्यसै महाविहारसँगैको टुँ (इनार) चोकमा नौ पटक ओहोरदोहोर गराउने परम्परा छ। नेपाल भाषामा यसलाई गुह्रु न्यायेकेगु भन्ने गरिन्छ। त्यसो गर्नुअघि मूर्तिलाई बाजागाजाका साथ होली खेल्दै जात्रा गरेर ठमेल नगर परिक्रमा गराइन्छ। सिंहसार्थ बाह भनिने त्यस मानवाकृत रातो चकँ द्यको मूर्तिलाई बाजागाजाले सहित जात्रा गर्दै ठमेलबाट ज्याठा, असन, इन्द्रचोक हुँदै हनुमानढोका पुर्याई त्यहाँबाट मरुसत्तल, प्याफल, नरदेवी, टेंगल, बाँगेमुढा, थँहिटी, क्वबहाल हुँदै विक्रमशील महाविहार पुर्याउने परम्परा छ। चकँ द्य जात्राका क्रममा बोधिसत्व महामञ्जुश्री यहाँ आई विक्रमशील महाविहारमा बस्दा आफैले लेखेको भनिने प्रज्ञापारमिता नामका ठूल्ठूला चार ठेली ग्रन्थ पनि सँगै बोकेर नगर परिक्रमा गराउने परम्परा थियो। तर केही वर्षयता ठ्यासफु का रूपमा रहेको प्रत्येक पाना कालो पृष्ठभूमिमा सुन र चाँदीको मसीले रञ्जना लिपिमा लेखिएको ग्रन्थका पृष्ठहरू च्यातिने र हराउने डरले परिक्रमा गराउन छाडेको छ।

व्यापारीहरूको नेतृत्व गर्दै ल्हासामा व्यापार गर्न गएका सिंहसार्थ वाह स्वदेश र्फकने क्रममा सँगै आएका सबै व्यापारीहरू मारिएका र उनी मात्र बाँचेर सकुशल आफ्नो घर फर्केको खुसियालीमा सिन्दुर जात्रा गरी होली खेलिएदेखि चकँ द्य जात्रा गर्ने परम्परा चलेको लोककथन पनि छ। ऋतुराज वसन्तको पुनरागमनमा प्रकृति नै हराभरा भई सर्वत्र रमणीय देखिन थालेको वातावरणमा आठ दिनसम्म एकापसमा मैत्री एवं सद्‌भावपूर्ण खेलिने यस राष्ट्रिय पर्वमा भाङ, घोट्टा पिउने तथा ख्याली, टप्पा, वसन्त राग गाउँदै नाच्दै निकै रमाइलो गरिन्छ । युवायुवतीहरूले यस पर्वलाई आफूले मन पराएकासंग लामो समयदेखि आफूले प्रकट गर्न नसकेको माया प्रीतिलाई नाच गानको माध्यमबाट प्रकट गर्ने अवसरको रूपमा पनि लिने गर्दछ । यस पर्वमा चीर ठड्याउने परम्परा सम्बन्धमा एक लोककथन अनुसार एक पटक यमुना नदीमा एक समूह गोपिनीहरू निर्वस्त्र नुहाइरहेका थिए । त्यसै बेला भगवान श्रीकृष्णले ती गोपिनीहरूको सबै लुगाहरू नदीको किनारमा एउटा रुखको हाँगामा झुन्ड्याई आफू अर्का हाँगामा बसी बाँसुरी बजाउन थालेका थिए । गोपिनीहरूले आफ्ना लुगा पाउन धेरै बिन्तीभाउ गर्दा पनि कृष्णले लुगा झारिदिएनन् । बरु उनले भने निबस्त्र नुहाएकोमा प्रायश्चित गरेमात्र लुगाहरू दिनेछु । त्यसअनुसार गोपिनीहरूले श्रीकृष्णलाई अर्घ्य जल चढाएर प्रायश्चित गरेका थिए । त्यसपछि कृष्णले रुखको हाँगाबाट लुगाहरू झारी दिएका थिए । श्रीकृष्णको त्यसै रास लीलाको स्मरणमा गोपिनीहरूको लुगाको प्रतीकमा रंगीचंगी कपडाका टुक्राहरू झुन्ड्याई चीर ठड्याउने प्रचलन भएको भन्ने छ । काठमाडौँ लगायतका पहाडी भेगमा फागु पूर्णिमाका दिन होली खेलिन्छ भने तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइन्छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार