काठमाडौँ। स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई मंगलबार राति सिन्धुलीबाट नियन्त्रणमा लिएको हो। सिआइबीका अनुसार पाण्डेले आफ्नो मोबाइल फोन स्विच अफ गरी भाग्दै गरेको अवस्थामा सिन्धुलीको कमलामाई नगरपालिका-६ स्थित मदनभण्डारी राजमार्गको बसपार्क क्षेत्रमा सवारी जाँचका क्रममा फेला पारिएको थियो।
पाण्डे बैंकको लोन रिकभरी कमिटीका अध्यक्ष समेत हुन् र लिलामी प्रक्रियामा उनको प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ।नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत असोज ३ गते स्मार्ट सेलको सम्पत्ति लिलामीका लागि सूचना प्रकाशित गरेको थियो। सो बोलपत्रमा दूरसञ्चार उपकरण जडान भएका घर–जग्गाको बाँकी बहाल र विद्युत महसुलबापतको ४० करोड रुपैयाँ समेत एकमुष्ठ कबुल गर्नुपर्ने सर्त राखिएको थियो। बोलपत्रदाताबाट सो रकम उठाए पनि बैंकले हालसम्म न घरधनीलाई बहाल बुझाएको न त विद्युत महसुल नै तिरेको पाइएको छ। यसरी रकम संकलन गरेर सम्बन्धित पक्षलाई भुक्तानी नगरेपछि पाण्डेमाथि ठगी तथा आपराधिक विश्वासघातको आरोप लागेको हो।
स्मार्ट सेलले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ बमोजिम उसको सम्पूर्ण सम्पत्ति र पूर्वाधारहरू नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा पुगेका थिए। प्राधिकरणको स्वामित्वमा आइसकेको सम्पत्तिलाई बेइमानीपूर्वक सरकारको हक टुटाउने उद्देश्यले गैरकानुनी रूपमा लिलामी गरेको दाबी प्रहरीको छ। यसअघि यही प्रकरणमा स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी, पलिना श्रेष्ठ र नरेन्द्र उलाकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। पाण्डेको पक्राउसँगै सिआइबीले यस प्रकरणमा थप कानूनी कारबाही अघि बढाएको छ।

