ओखलढुङ्गा । ओखलढुङ्गाको माटो, भूगोल र यहाँको जनजीविकालाई नजिकबाट बुझेका प्रभावशाली नेता कुमार लुइटेल यसपटक ओखलढुङ्गाको स्वाभिमान र समृद्धिको स्पष्ट मार्गचित्रसहित प्रतिनिधिसभा सदस्यको चुनावी मैदानमा उत्रिनुभएको छ। ३५ वर्ष लामो अनवरत राजनीतिक यात्रा र विकासप्रतिको स्पष्ट दृष्टिकोण बोक्नुभएका लुइटेलले अघि सार्नुभएको ‘उद्यमशील र आत्मनिर्भर ओखलढुङ्गा’ को सङ्कल्पले यतिबेला जिल्लाभर नयाँ उत्साह जगाएको छ।
लुइटेलको उम्मेदवारी केवल संसद्को एउटा सिट सुरक्षित गर्नका लागि मात्र नभई ओखलढुङ्गालाई आधुनिक, प्रविधिमैत्री र आर्थिक रूपमा सबल बनाउनका लागि भएको उहाँको दाबी छ। उहाँले अघि सार्नुभएको ‘प्रविधि, पौरख र पहिचान’ को नाराले ओखलढुङ्गाको रैथाने सीपलाई आधुनिक बजारसँग जोड्ने र युवाहरूलाई जिल्लाभित्रै सम्मानजनक रोजगारी सिर्जना गर्ने ठोस योजना समेटेको छ। विशेषगरी रुम्जाटारको ऐतिहासिक राडीपाखी उद्योगको पुनरुत्थान, कोरिडोरमा आधारित व्यावसायिक कृषि प्रणाली र पर्यटनको विविधीकरणमार्फत जिल्लाको अर्थतन्त्रमा कायापलट गर्ने लुइटेलको प्रमुख लक्ष्य रहेको छ।
ओखलढुङ्गावासीले कुमार लुइटेललाई रोज्नुपर्ने मुख्य कारण उहाँले अघि सार्नुभएको पूर्वाधार विकासको महाअभियान पनि हो। घुर्मी–चतरा र लिखु कोरिडोरजस्ता रणनीतिक सडकहरूको कालोपत्रे गर्नेदेखि रुम्जाटार विमानस्थललाई नियमित सञ्चालनमा ल्याउनेसम्मका योजना उहाँको प्राथमिकतामा छन्। यति मात्र होइन, शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन हरेक पालिकामा नमुना आवासीय विद्यालय र सामुदायिक विद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) शिक्षाको अनिवार्य अवधारणा उहाँले नै अघि सार्नुभएको छ, जसले ओखलढुङ्गाका बालबालिकालाई विश्वव्यापी प्रतिस्पर्धामा खरो उतार्ने विश्वास गरिएको छ।
स्वास्थ्य सेवामा ‘स्मार्ट’ अवधारणा ल्याउँदै इन्टरनेटमार्फत विशेषज्ञ सेवा पुर्याउने र जल पर्यटनको माध्यमबाट दूधकोशी र सुनकोशीको पानीलाई डलरमा बदल्ने लुइटेलको सोचले ओखलढुङ्गालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनारी दिने निश्चित छ। भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र जनतासँग सिधा संवाद गर्ने पारदर्शी नेतृत्वको खोजी गरिरहेका मतदाताका लागि लुइटेल एक भरोसायोग्य र अनुभवी विकल्प हुनुहुन्छ।
सांस्कृतिक वैभवको संरक्षण गर्दै पर्यटनलाई रोजगारीसँग जोड्ने र सिमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने उहाँको प्रतिबद्धताले समावेशी ओखलढुङ्गाको तस्बिर झल्काउँछ। त्यसैले, ओखलढुङ्गाको ऐतिहासिक पहिचान जोगाउन, आधुनिक र डिजिटल ओखलढुङ्गा निर्माण गर्न र आफ्नै घरआँगनमा विकासको लहर ल्याउन कुमार लुइटेललाई मतदान गर्नु आजको आवश्यकता र समयको माग दुवै देखिएको छ।

