8.1 C
Kathmandu

द्वन्द्व रुपान्तरणमा उत्कृष्ट बन्दै प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, सामाजिक लेखापरीक्षणमार्फत गरियो समीक्षा

काठमाडौँ । प्राकृतिक श्रोत व्यवस्थापनमा देखिने सामाजिक द्वन्द्वलाई संवादका माध्यमबाट सुल्झाउन क्रियाशील प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले आफ्नो संस्थागत पारदर्शिता र उत्तरदायित्वको अभ्यास गर्दै सामाजिक लेखापरीक्षण सम्पन्न गरेको छ।

२०७० सालदेखि ‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’ भन्ने लक्ष्यका साथ अघि बढेको यस संस्थाले हालसम्म गरेका कार्यहरूको उपलब्धि र प्रभावका बारेमा सरोकारवालाहरूसँग बृहत् छलफल गरेको हो। संस्थाका कार्यकारी निर्देशक चुपबहादुर थापाका अनुसार संस्थाको कार्यशैलीलाई थप परिष्कृत गर्न र आगामी दिनका लागि आवश्यक मार्गदर्शन प्राप्त गर्न यो कार्यक्रम प्रभावकारी बनेको छ।

बाग्मती प्रदेशकी उपसभामुख अप्सरा चापागाईले कार्यक्रममा बोल्दै समुदायस्तरमा प्राकृतिक श्रोतका कारण उब्जने विवाद समाधानमा संस्थाको भूमिकाको सराहना गर्नुभयो। उहाँले द्वन्द्व रुपान्तरणको क्षेत्रमा काम गर्न चाहनेहरूका लागि यो संस्था एउटा सिकाइ केन्द्रका रूपमा स्थापित भएको बताउनुभयो।

यसैगरी त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक दिपेश घिमिरेले संस्थाको कार्यसम्पादनको विश्लेषण गर्दै यो संस्था स्थानीय सरकारको सारथीका रूपमा उभिएको र विभिन्न जिल्लाहरूमा यसको उपस्थिति अर्थपूर्ण देखिएको तथ्य प्रस्तुत गर्नुभयो। उहाँले संस्थाका सबल पक्षसँगै सुधारका क्षेत्रहरूमा पनि ध्यान दिनुपर्ने सुझाव दिनुभयो।

प्रदेश सभा सदस्य भारती पाठकले संस्थाको सफलताको रहस्य यसको पारदर्शिता र कर्मचारीहरूको लगनशीलता रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा संस्थाको वित्तीय विवरण सार्वजनिक गर्दै वक्ताहरूले स्थानीय तहमा हुने न्यायिक कार्यसम्पादनमा केन्द्रले पुर्‍याएको सहयोग अपरिहार्य रहेको धारणा राखेका थिए। सहभागीहरूले आगामी दिनमा पनि स्थानीय सरकार र यस संस्थाबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए। संस्थाका अध्यक्ष नारायणबहादुर खपांगीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमले संस्थाको यात्रा र यसले समाजमा पारेको सकारात्मक प्रभावलाई पुनर्पुष्टि गरेको छ।

 

थप समाचार

ताजा समाचार