27.1 C
Kathmandu

कम्युनिष्ट जुट्नु वा फुट्नुले तात्त्विक असर पर्दैन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १४ महिनाभित्रै तेस्रोपटक सत्ता समीकरण परिर्वतन गरी नेपाली कांग्रेसको पोल्टाबाट एमालेको काखमा ‘भ्यागुते जम्प’ हानेपछि धेरैको मनमा यो प्रश्न खेल्दैछ कि के कम्युनिष्टहरू फेरि मिल्न लागेका हुन् ? यो अर्को चरणको कम्युनिष्ट एकताको ‘रिहर्सल’ हो कि संसदीय अङ्कगणितको खेल मात्रै ? यो गठबन्धन परिवर्तन मात्रै हो कि कम्युनिष्ट एकताकै नयाँ प्रयत्न ? ठीक यहीबेला यो प्रश्न वा जिज्ञासाको उत्तर दिन सक्ने हैसियतमा सायद एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्ड आफैँ छैनन् भने अरुका अनुमान कति सही सावित होलान् ? यो गठबन्धन परिवर्तन त हो नै तर, नयाँ गठबन्धन कति दिगो हुन्छ यसै भन्न सकिन्न । गठबन्धन नै टिक्ने कुनै भरपर्दो आधार नभएको बेला कम्युनिष्ट एकताको कुरा त धेरै परको विषय हुने भयो । भनिन्छ— कम्युनिष्टहरू फुटेको भोलिपल्ट एकताको कुरा गर्न र जुटेको भोलिपल्ट विभाजनको तयारी गर्न सुरु गर्दछन् । नफुट्दा यिनलाई लाग्छ कि हद भयो ‘अब मिलेर बस्न’ सकिँदैन । फुटेपछि लाग्छ कि ‘यसरी भिन्नाभिन्नै त अस्तित्व जोगाउन’ गाह्रो छ । कहिले ‘आन्तरिक अन्याय’ को अनुभूति त कहिले ‘अस्तित्व सङ्कट’ को छटपटी, कसै गर्दा धर छैन । कम्युनिष्टभित्र फुट्दा होस् वा जुट्दा, कहिल्यै शान्त र स्थिर हुन नसक्ने ‘भड्कने आत्मा’ को बास हुन्छ । अस्थिरता र कम्युनिष्ट कार्यनीति एकअर्काका पर्यायजस्तै हुन् ।

यो टिप्पणी कमरेडहरूलाई निकै कठोर र पूर्वाग्रहपूर्ण लाग्न सक्दछ । तर, यस भनाइभित्र निकै ठूलो सत्यता छ । नेपालको मात्रै हैन, संसारभरकै कम्युनिष्ट आन्दोलन, पार्टी र नेताहरूको अन्तर्निहित गुण हो यो, जन्मजात चरित्र । संसारमा कम्युनिष्टहरूको जे जति विकास र विस्तार भएको छ, यही चरित्रबीच भएको छ । जेज स्तो सङ्कुचन र पतन भएको छ, त्यो पनि यही चरित्रले गर्दा भएको छ । विभाजन र एकताको अनन्त प्रक्रिया कम्युनिष्ट आन्दोलनको मौलिक चरित्र भएको हुँदा यी कतिखेर फुट्दछन्, कतिखेर जुट्दछन् । कसैले सही विश्लेषण वा आकलन गर्न सक्दैन । यो कुरा स्वयम् उनीहरूलाई नै थाहा हुँदैन । कार्ल मार्क्सको पालादेखि कम्युनिष्ट आन्दोलन यस्तै थियो । मार्क्स, बाकुनिन, वर्नस्टिनआदिका गुट थिए । ती यसरी टकराउँथे कि बरु आफैँ समाप्त हुन राजी हुन्थे । अन्ततः भयो पनि त्यही । कार्ल मार्क्सले आफैँ हैरान भएर प्रथम अन्तर्राष्ट्रिय विघटन गरिदिएका थिए । एङ्गेल्सको नेतृत्वमा पुनर्जीवित भएको दोस्रो अन्तर्राष्ट्रिय प्रथम विश्वयुद्धलाई हेर्ने दृष्टिकोणलाई लिएर क्षतविक्षत भएको थियो । लेनिनले पुनर्गठन गरेको तेस्रो अन्तर्राष्ट्रिय स्टालिन आफैँले विघटन गरिदिएका थिए । लेनिनको पालामा कम्युनिष्ट अन्तर्विरोध, कलह र सङ्घर्ष झनै चर्को थियो । कार्ल काउत्स्की, रोजा लक्जम्बर्ग, लेनिन, प्लेखानोभ, त्रोतस्कीमार्तोभको विवादबारे कम्युनिष्टहरू विज्ञ नै होलान् । स्टालिनले आफूसँग विवाद गर्ने त्रोतस्की, किरोभ, कामेनेभ, जिनोवियेभ, बुखारिनलगायतको ‘भौतिक सफाया’ नै गर्दिए ।

चिनियाँ कम्युनिष्ट पार्टी पनि यो प्रक्रियादेखि मुक्त थिएन । माओले लि साओचीलाई जेलभित्रै सडाए । लिन प्याओमाथि माओको हत्या गर्न खोजेको आरोप लाग्यो । भाग्दै गरेका लिन प्याओ आकासमा सन्दिग्ध हवाई जहाज दुर्घटनामा मरे । तङ स्याओ फेङ्ले लामो जेल जीवन बिताउनुपर्यो । चियाङ चिङले जेलभित्रै आत्महत्या गरिन् । विश्व कम्युनिष्ट आन्दोलनमा यस्ता कथा कति छन् कति, चर्चा गरेर साध्य हुन्न । एकदलीय कम्युनिष्ट व्यवस्था संस्थागत भइसकेका देशमा निर्मम अन्तर्पार्टी सङ्घर्ष सहज नहोला । तसर्थ आजको चीन, उत्तर कोरिया, भियतनाम र क्युवाजस्ता देशको बारेमा यसै भन्न सकिँदैन । सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाका किम जोङ उनले भित्रभित्रै धेरै पार्टी नेता र उच्च पदस्थलाई मृत्युदण्ड दिएका छन् । उनले आफ्नै काकालाई समेत कुकरलाई खुवाएर मारेको आरोप लागेको छ । चीनमा भने कठोर अन्तर्पार्टी सङ्घर्षको पछिल्लो शिकार बो सीलाई मानिन्छन् । राष्ट्रपति सी चिनफिङका प्रतिस्पर्धी मानिएका बो पार्टी र राज्यका सबै पदबाट मुक्त गरिएर लामो समयदेखि जेलमा राखिएका छन् । भारततिरको कुरा पनि त्यही हो । त्यहाँ अहिले ३६ वटा कम्युनिष्ट समूह छन् । सीपीआई, सीपीएम, माले लिवरेशन, आरएसपी र फरवार्ड ब्लक अलिक ठूला संसदीय कम्युनिष्ट पार्टी हुन् । नक्सलवादी युद्ध गरिरहेको माओवादी कम्युनिष्ट सेन्टर भिन्नै छँदैछ । नेपालमा त उपरोक्त भनाइ कति प्रासङ्गिक छ, भनिरहनै पर्दैन । नेपालमा पनि यो जन्मजात चरित्र नै हो । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ दोहोर्याएर एकीकृत कम्युनिष्ट पार्टीको महासचिव हुन सकेनन् । आज पुष्पलालको जतिसुकै बखान गरियोस्, बाँचुन्जेल अधिकांश कम्युनिष्ट गुटले उनको निन्दा र आलोचना गर्थे । माले र मसाल दुवै धारले पुष्पलाललाई देखी सहँदैनथे । मोहनविक्रम सिंहले त ‘गद्दार पुष्पलाल’ नामको किताब नै लेखे ।

माले धारले उनलाई ‘कांग्रेसको पुच्छर’ भन्थ्यो । संसद् पुनर्स्थापना र संयुक्त जनआन्दोलनको कार्यनीति अवलम्बन गरेबापत पुष्पलालमाथि त्यस्तो आरोप लाग्ने गर्दथ्यो । अन्ततः सबैले उनकै राजनीतिक लाइनको प्रशंसा गर्न थाले । कम्युनिष्ट आन्दोलन र पार्टीमा जीवनकालभित्रै मान्छेको सही मूल्याङ्कन र सम्मान हुने सम्भावना धेरै कम हुन्छ । जसले पार्टी र राज्यसत्ता कब्जा गर्छ, उसकै मात्र देवत्वकरण, गुणगान र जयजयकार हुन्छ । अल्पमत पक्ष सर्वथा पीडित र प्रताडित हुन्छ । यो क्रम अहिलेसम्म रोकिएको देखिन्न । कम्युनिष्टहरू कतिखेर फुट्छन्, कतिखेर जुट्छन्, कम्युनिष्ट गुटहरूको सङ्ख्या कति बढ्यो वा घट्यो, कसैले हिसाब राख्न सक्दैन । अहिले पनि देशमा करिब दुई दर्जन कम्युनिष्ट समूह छन्, निर्वाचन आयोगमा दर्ता भएका मात्रै । ५ वटा कम्युनिष्ट घटकको त सङ्घीय संसद्मै प्रतिनिधित्व छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) , नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) । राष्ट्रिय जनमोर्चा नेकपा (मसाल) को चुनावी मोर्चा हो । कुनै बेला ऋषि कट्टेल नेतृत्वको नेकपा चर्चामा थियो, नेकपासँग नाम जुधेका कारण । अहिले त्यो समूह के गर्दैछ, कसैलाई थाहा छैन । यसका अतिरिक्त सीपी मैनाली नेतृत्वको माले, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी यदाकदा चर्चामा हुन्छन् । विप्लव नेतृत्वको नेकपा त सत्तारुढ वामपन्थी पार्टीहरूको गठबन्धन ‘समाजवादी मोर्चा’ मै सामेल भएको थियो । यहाँसम्म कि एमालेको तर्फबाट राष्ट्रियसभा सदस्य रहेका वामदेव गौतमले समेत निर्वाचन आयोगमा एक भिन्नै कम्युनिष्ट समूह दर्ता गराएका छन्।

२०७४ को आम निर्वाचनमा वामपन्थी गठबन्धन बन्दा कम्युनिष्ट समर्थक निकै खुसी र उत्साहित थिए । जन्मजात विभाजित रहँदै आएको कम्युनिष्ट पार्टी एकीकृत भए बलियो राजनीतिक शक्ति निर्माण हुने र देशले ‘कायापलट’ गर्ने अपेक्षा धेरैमा थियो । कम्युनिष्ट एकता र बहुमतको वामपन्थी सरकार यसका समर्थक मतदाताको दशकौँ लामो प्रतीक्षाको विषय थियो । २०७४ को आम निर्वाचनमा वाम गठबन्धनले झन्डै दुईतिहाइ बहुमत हासिल गर्यो । देशको इतिहासमै पहिलोपटक एकल बहुमतको कम्युनिष्ट सरकार बन्यो । एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको विशालकाय कम्युनिष्ट पार्टी बनाए । जीवनमा एकपटक एकलौटी कम्युनिष्ट सरकार भोग्ने युटोपिया साकार भएजस्तो भएको थियो । तर, न वाम गठबन्धन टिक्यो, न कम्युनिष्ट एकता । करिब ४ वर्ष एमाले र माओवादी गुटले झगडा गरेर बिताए । राष्ट्रिय जीवनको महत्त्वपूर्ण समय मुफतमा खेर फाले । अझ माधव नेपाल र वामदेव गौतमको गुटसमेत यो झमेलामा फस्यो । प्रचण्डले पार्टी कब्जा गर्न खोजेको भन्दै ओलीले दुई र दुईपटक असंवैधानिक संसद् विघटन गरे । र, लोकतन्त्र र संविधानवादप्रतिको आफ्नो प्रतिबद्धता आफैँ भङ्ग गरे । आफैँले देवत्वकरण गर्दै आएको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को पहिलो बुँदा ‘संविधानको सर्वोच्चता’ को आफैँ हुर्मत लिए। राजनीतिमा मतभेद स्वाभाविक कुरा हो । मतभेद कहिले विचार, सिद्धान्त र एजेन्डामा हुन्छ । कहिले कार्यशैली, कार्यदिशा, नेतृत्वको चरित्र र गुणस्तरमा पैदा हुन्छ । यो कम्युनिष्टहरूको मात्र हैन, राजनीतिकै सार्वभौम नियम हो । यो अरु विचारधारा र दृष्टिकोण भएका दल र आन्दोलनमा पनि लागू हुन्छ । तर, अरुको भन्दा फरक कम्युनिष्टहरूको अनौठो कुराचाहिँ के हो भने मतभेद हुनेबित्तिकै फुट्ने सम्भावना धेरै हुन्छ । अन्य दलले कतिपय मतभेद आफूभित्र पचाएर हिँड्छन् । आन्तरिक लोकतान्त्रिक अभ्यासबाट हल गर्दछन् । कतिपय आन्तरिक बेमेल, असहजता यहाँसम्म कि अन्यायलाई समेत धैर्यतापूर्वक हल गर्दछन् ।

अन्य दलमा पार्टीभित्रको फरक वा अल्पमतलाई त्यति धेरै दमन पनि गरिँदैन, जति कम्युनिष्ट दलहरूमा गरिन्छ । तसर्थ, त्यहाँ फरक मत वा अल्पमत पक्षले नयाँ परिस्थिति र ध्रुवीकरण पर्खिने धीरता गर्दछ । कम्युनिष्टहरूमा त्यस्तो सहिष्णुता र धैर्यता बिरलै देखिन्छ । सामान्य उदाहरणका लागि एमालेमा अध्यक्ष केपी शर्मा ओलीले आफ्ना प्रमुख प्रतिस्पर्धी भीम रावल र घनश्याम भुसालको चुनावी टिकट नै काटी लिए । ठीक त्यस्तै व्यवहार कांग्रेसमा सभापति शेरबहादुर देउवाले शेखर कोइराला र गगन थापासँग गरेनन् । यो कुराबाट के पुष्टि हुन्छ भने कम्युनिष्ट फुटको एउटा मुख्य कारण आन्तरिक लोकतन्त्रको अभाव, एकमनावाद, असहिष्णुता र अधैर्यता हो । संस्थापन पक्षीय गुटले यस्तो स्थिति सृजना गर्दछ कि अल्पमत पक्षको सामान्य राजनीतिक अधिकार र आत्मसम्मान समेत त्यहाँ बाँकी रहँदैन । दोस्रो कुरा— फुट्ने बित्तिकै कम्युनिष्टहरूले अर्को समूह, गुट र नेतालाई तल्लोस्तरमा उत्रेर गालीगलौज गर्न थाल्छन् । भए नभएको आरोप लगाउँछन् । माले एमाले फुट्दा वामदेव गौतमलाई ‘संसारकै सबैभन्दा ठूलो भ्रष्टाचारी’ भनेर खुलामञ्चबाट घोषणा गरिएको थियो । हालै माधव नेपाल फुट्दा ‘नाम लिँदा पनि मुख कुल्ला गर्नुपर्ने मान्छे’ भनेर निम्नकोटीको गालीगलौज गरियो । माधव नेपाल एमालेको करिब १५ वर्ष पार्टी प्रमुख रहे । उनी माले धारका संस्थापक नेता हुन् । अलिकति कुरा नमिल्दा उनीमाथि त यो स्तरको गालीगलौज हुन्छ, आफैँले जीवन लगाएर बनाएको पार्टी बुढेसकालमा आफैँले छोडेर हिँड्नुपर्ने हुन्छ भने अरुको के कुरा ?

एमाले र माओवादीको एकअर्काप्रतिको आलोचना र गालीगलौज दशकौँदेखि त्यही प्रकृतिको थियो । नेकपा (नेकपा) कालमा एकअर्काप्रति तेर्साइएको आरोपपत्र सम्झिने हो भने गैर कम्युनिष्टहरूको आङ नै छिरिङ हुन्छ । गालीगलौजको संस्कृति कम्युनिष्ट आन्दोलनमा मार्क्सको पालामा त्यति धेरै थिएन । त्यतिखेर सैद्धान्तिक विवाद गरिन्थ्यो । लेनिनको पालाबाट गालीगलौजको प्रचलन सुरु भयो । लेनिनले रोजा लक्जम्बर्ग, कार्ल काउस्की, लियोन त्रोतस्कीमर्तोभलाई चर्को गालीगलौज गर्थे । रोजालाई उनी ‘श्यालजस्ती धुर्त आइमाई’ भन्ने गर्थे । कार्ल कास्कीको बारेमा उनले ‘गद्दार काउत्स्की’ भन्ने किताब नै लेखे । मोहनविक्रम सिंहले पुष्पलालको बारेमा त्यसैको सिको र अन्धानुकारण गरेर किताब लेखेका थिए । तर, चाखलाग्दो कुरा के छ भने अस्तित्व सङ्कटको चिन्ताले जब कम्युनिष्ट गुटहरू मिल्छन्, ती सबै कुरा बिर्सन्छन् । मानौँ कि केही भएकै थिएन । सबैथोक ठीकठाक थियो । यस्तो अनौठो चरित्र अरुमा पनि हुँदै नहुने हैन । तर, कम्युनिष्टहरूमा बेजोड हुन्छ । फुट्दा यी एकअर्कालाई ‘मनपरी’ भन्न सक्छन् । जुट्दा तत्क्षण सबै बिर्सन पनि सक्छन् । तसर्थ, कम्युनिष्ट फुट र एकताको रहस्य पार्टी सत्ता कब्जासँग जोडिएको हुन्छ । पार्टी कब्जा हुने स्थितिमा सबै कुरा गौण हुन्छन् । कब्जा नहुने स्थितिमा फुट्न कुनै ठूलो निहुँ नै चाहिँदैन । मोटो ‘श’ कि पातलो ‘स’ भन्ने निहुँमै पनि फुट्न सक्दछन् । यस्तो कम्युनिष्ट संस्कृति लोकतन्त्रवादी जनमतलाई अनौठो लाग्दछ । के तमासा गरेको होला जस्तो लाग्दछ । यही संस्कार र संस्कृतिको कारणले किशोर अवस्थामा कम्युनिष्ट भएका धेरै असल र बौद्धिक मान्छे कम्युनिष्ट पार्टीमा जीवनभर टिक्न सक्दैनन् । यस्तो अनावश्यक रडाको र निम्नस्तरको संस्कारहीन राजनीतिमा जीवन खेर फाल्ने काम गर्न धेरैलाई गाह्रो हुन्छ ।

साम्यवादको सिद्धान्त र कम्युनिष्ट पार्टीको अभ्यासप्रति युवा उमेरको अपेक्षा र वयस्क जीवनमा भोग्न परेको यथार्थबीच धेरै फराकिलो दूरी हुन्छ । किशोर अवस्थाका ‘युटोपिया’ भिन्नै हुन्छन् । वयस्क जीवनका ‘रियालिटी’ भिन्नै हुन्छन् । कतिपयले यो कुरा बुझ्दाबुझ्दै पनि ‘एकबारको जुनीमा लागि त हालियो, कति पार्टी परिवर्तन गर्दै हिँड्नु’ भन्ने सङ्कोचले छोड्न सक्दैनन् । नेपालमा कम्युनिष्ट एकताप्रति जनतामा जे अपेक्षा र आशा थियो, त्यो २०७४ को वाम गठबन्धन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण, केपी शर्मा ओली नेतृत्वको सरकारको असफलता र पतन, दुईदुई पटकको असंवैधानिक संसद् विघटन र चार टुक्रामा नेकपाको विभाजनले समाप्त गर्दिएको छ । २०७४ को चुनाव कम्युनिष्ट शक्तिका लागि दिग्विजयको पराकाष्ठा थियो । अब कम्युनिष्ट एकता नै भए पनि त्यस्तो चमत्कार हुनेवाला छैन । किनकि कम्युनिष्ट एकताको ‘हाइपोथेसिस’ सम्परीक्षण र असफल सिद्ध भइसकेको छ । कम्युनिष्ट विचार, पार्टी र संस्कृतिबाट देशको विकास, सुशासन, समृद्धि र सामाजिक न्याय सम्भव छैन भन्ने कुरा नेपाली जनताले राम्ररी बुझिसकेका छन् । कम्युनिष्टहरूको ‘लोकतान्त्रिक प्रतिवद्धता’ देशव्यापीरूपमा यद्यपि शङ्काको घेराभित्र छ । मानौँ की हिजोको सोभियत सङ्घजस्तै चीन ‘आर्थिक महाशक्ति’ मात्र नभएर ‘राजनीतिक महाशक्ति’ का रूपमा अघि आयो र उसले देशव्यापीरूपमा चिनियाँ राजनीतिक प्रणालीको प्रवर्द्धन गर्न चाह्यो भने के नेपालका कम्युनिष्टहरू लोकतन्त्रकै पक्षमा होलान् ? यो प्रश्न धेरैलाई काल्पनिक जस्तो लाग्ला तर, असम्भव हैन ।
किनकि नेपालका कम्युनिष्टहरूले सोभियत सङ्घको पतनपछि मात्र बहुदलीय लोकतन्त्र मान्न थालेका हुन् । सोभियत सङ्घको विघटनपछि मात्र एमाले र मदन भण्डारीले जनताको बहुदलीय जनवाद अघि सारेका हुन् । माओवादीले अस्ति भर्खरसम्म ‘नयाँ जनवादी क्रान्ति र जनवादी अधिनायकत्व’ र प्रचण्डपथको पैरवी गरेकै हो । तसर्थ, वैकल्पिक लोकतान्त्रिक शक्ति नेपाली राजनीतिको धेरै ठूलो आवश्यकता वा खाँचो हो । लोकतान्त्रिक प्रणाली सफल हुन कम्तिमा दुई राष्ट्रिय चरित्रका लोकतान्त्रिक दल चाहिन्छ । कम्युनिष्ट, राजावादी र क्षेत्रीय शक्तिहरूले त्यो आवश्यकता पूरा गर्न सक्दैनन् । नेपाली कांग्रेस आधारभूतरूपमा एक लोकतान्त्रिक दल त हो । तर, यति धेरै फोहोर जमेको र निष्प्रभावी छ कि जुनकुनै बेला भारतीय राष्ट्रिय कांग्रेसको हालतमा पुग्न सक्दछ । तसर्थ, कम्युनिष्टहरूको एकता र विभाजन अर्थहीन र असान्दर्भिक प्रमाणित भइसकेको विषय हो । कम्युनिष्टहरू फुटे पनि, जुटे पनि देशको राजनीतिमा कुनै तात्त्विक भिन्नता आउँदैन । उत्तर पुँजीवादी तथा उत्तर साम्यवादी युगको प्रगतिशील लोकतान्त्रिक वैकल्पिक राजनीतिका लागि नयाँ लोकतान्त्रिक दलकै आवश्यकता पर्दछ । कम्युनिष्ट एकता वा विभाजनले राष्ट्र र नागरिकको आवश्यकतासँग कुनै तादात्म्यता र औचित्य राख्दैन । कम्युनिष्टहरू मिले के हुने ? फुटे के हुने ? मिले त्यही २०७४ पछिको प्रवृत्ति र घटनाक्रम दोहोरिने मात्र हो । के त्यस्तो पुनरावृत्ति देश र जनताको आवश्यकता हो र ?

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार