27.1 C
Kathmandu

चतुर्‍याइँ बुद्धिमानीको कलङ्क हो

यसै पनि देश स्थायी रूपमा अस्थिरताको भुमरीमा फसेकै थियो । बहुदल र गणतन्त्रले फ्याँकेको सपनाको भकारी सबै प्वाल परेर नेतृत्व वर्ग असफल, नालायक, भ्रष्ट, अनैतिक बनेर नागरिकलाई निराशा र पलायनको मनोविज्ञानतर्फ धकेलिरहेका थिए, प्रेरित गरिरहेका थिए । पद्धति र नेतृत्व वर्ग असफल भइसकेको मात्र नभइ देश नै असफलतातर्फ उन्मुख भइसकेको अवस्थामा नागरिकहरूले परिवर्तन खोजेका थिए । एउटा नेतृत्व खोजेका थिए, जसले अवस्थासमेत परिवर्तन गर्न सकोस्, जसमा समयसापेक्ष नागरिकको अपेक्षालाई सम्बोधन गर्न सकोस् । तर, उ आज स्वर्णिम जेलेन्स्कीको भूमिका निभाउने कसरतमा रहेको देखिन्छ ।

यसैबेला रवि लामिछाने व्यक्तिगत विविध समस्यालाई चिर्दै नेपाल आए । निरास नेपाली नागरिकलाई उनले अन्य देशमा दण्डनीय अपराध हुने डन प्रवृत्तिको मिडियामार्फत आकर्षित गर्न सके । डन प्रवृत्ति यसकारण कि सुशासन भएका देशमा ‘स्ट्रिङ अपरेसन’को अधिकार मिडियालाई हुँदैन, अमेरिका जस्तो ठाउँमा भए गोलीको शिकार हुनुपर्छ । तर, अमेरिकामा के सिके उनले कुन्नि‘ १ अमेरिकामा असम्भव या दण्डनीय हुने मिडिया चलाएर, ‘नेतृत्व वर्गलाई खुला मञ्चमा राखी घुमाएर नाकको डाँडी भाँच्ने मन छ’ भन्नेजस्तो मिडियाको मर्म र धर्मविपरीत उद्घोष गरे । उनको यस्तो अराजक अभिव्यक्तिलाई अवचेतन नेपाली समाज अझ युवाहरूले ‘वाह्।।वाह्’ भनिदिए । यसबाट उनी चर्चित बने र त्यही चर्चा अनि स्ट्रिङ अपरेसनले उनलाई ‘मिडिया डन’ बन्न उत्साहित गर्यो । अनि उनी जीबी राईहरूलाई दुरुपयोग गर्न सफल भए । जहाँ बसेर उनी भ्रष्टहरूको नाकको डाँडी भाँच्ने इच्छा जाहेर गरिरहन्थे त्यही अनियमिताको फोहोर जम्मा गरेर उनी आफूलाई अग्लो बनाइरहेका रहेछन्, अहिलेमात्र खुल्न आयो । अझ वास्तविकता त जीबी राई जीवित फर्की आए भने थाहा हुने नै छ ।

मिडियाको धर्म र मर्मविपरीत कर्म गरिरहँदा समाजले उनको चर्चामा बढोत्तरी गऱ्यो । अनि उनलाई लाग्यो म सही गरिरहेछु ! चर्चा कमाउनु र दीर्घकालीन सफलता हासिल गर्नुमा ठुलो भिन्नता छ भन्ने तथ्य उनको मस्तिष्कमा आउने कुरो पनि भएन, आएको भए उनी अहिले पनि अमेरिकामा सङ्घर्ष गरिरहेका हुन्थे । नकारात्मक र परपीडक मानसिकताले ग्रस्त नेपाली समाजको कुनै एक नागरिकले पनि उनलाई ‘तिमी मिडियाको धर्म र मर्मबाहिर छौ’ भनेर सम्झाउने गुन लगाएन, बरु उक्साउने काम ज्यादा गरिदियो । उनले कसरी बेवास्ता गरे कि अमेरिका जस्तो प्रजातान्त्रिक देशमा कुनै मिडियाकर्मीलाई कुनै कार्यालयमा बिनाअनुमति प्रवेश दण्डनीय हुन्छ, तोकिएको समय र व्यक्तिभन्दा बाहिर कुनै मिडियाको पहुँच र प्रवेश सम्भव छैन । उनले नेपालमा स्ट्रिङ अपरेसन चलाए जुन दण्डनीय थियो, तर राजनैतिक प्रशासनिक सबै क्षेत्र भ्रष्टाचार र अनियमिततामा डुबेको कारण कसैको पनि साहस वा आत्मबल भएन कि उनलाई रोक्ने १ प्रहरीको शैलीमा पहिले धम्क्याउने र पछि असुल्ने कामको चर्चा नभएको होइन, सबै भ्रष्ट तैँचुप मैचुप ! रवि उत्साहित हुँदै गए ।

पछिल्लो स्थानीय निर्वाचनमा काठमाडौंका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अत्यधिक मत प्राप्त गरेर महानगर प्रमुख पदमा विजय हासिल गरे । अनि परिवर्तन खोजिरहेका र ‘नो नट् अगेन’ को नारालाई अगाडि बढाएका रविलाई राजनीतिमा आउन युवा समुहले उक्साउन थालेको थियो त्यसैबेला बालेन्द्रको सफलता देखेका रविको अर्को चतुर दिमागले खुराक पायो उनले स्वतन्त्र शब्दको अपहरण गरे र स्वतन्त्र दल दर्ता गरे । देशको अवस्था परिवर्तन गर्नुपर्छ युवाहरूले नेतृत्व लिनुपर्छ भन्ने एउटा ठुलो जमातले बुझेर नबुझेर वा रविलाई चिनेर नचिनेर समर्थन गरे । तर उनीहरूले न रविको न त विगत न त वर्तमान जीवनशैलीको वास्तविकता खोज्ने र तथ्य भेट्ने कोसिस गरे । बालेन्द्र शाहको स्वतन्त्र शब्दको अपहरणले सफलता पायो त्यसपछि मात्र उनको वास्तविकता खोज्न थालियो जुन हाम्रो समाजको  सक्यो दैलो देख्यो’ कथनलाई चरितार्थ भयो ।

यहाँसम्म आइपुग्दा र यो हप्ता उनले सदनमा देखाएको धम्कीपूर्ण आक्रोश देख्दा र ‘नो नट् अगेन’हरूको सारथी बनेको अवस्थामा मतदाताले ठुलो धोखा खाएको महसूस गर्दैछन् । रास्वपाभित्र इमान्दारिपूर्वक देशको लागि केही गर्ने हुटहुटी बोकेका सदस्यहरू निरास र हतोत्साहित भएका छन् । सार्वभौम नागरिकको गरिमामय सदनमा गृहमन्त्री जस्तो पदमा रहेर सडकको मानिसको शैलीमा जुन धम्कीपूर्ण सम्बोधन भयो त्यसले उनको आफ्नो कमजोरीमात्र प्रदर्शन गरेको नभइ जे होइन भनिरहेका छन् त्यो नै हो भन्ने पुष्टि पनि भएको छ । होइन भने १० वर्ष अमेरिका बसेर फर्केका एउटा शिक्षित नागरिकले यो स्तरको सम्बोधन गर्दैन र, नैतिकताको कसीमा उभिन उनले मार्गप्रशस्त गर्नु पर्थ्यो । तर सदनमार्फत् जबर्जस्ती ‘हेर मलाई अनुसन्धान गर्ने हो भने तिमीहरूको पनि गर्नुपर्छ’ भनी धम्क्याइरहेका छन्  ! त्यसो भन्नुको अर्थ चोर म मात्र होइन अनि किन म दण्डित हुने ? तिमीहरू पनि चौर नै हौ, दण्डित हुनुपर्छ, हामी सबै चोर दण्डित हुने हो त ? भनेर सोधे र, त्यसमा पनि इमानदार भएनन् । त्यहाँ अर्को भ्रष्टाचारको ठुलो चाङ्ग बोकेकाहरूतर्फ संकेत गर्ने हिम्मत उनले गरेनन् । यो कलंकित चतुऱ्याइँले उनको व्यक्तिगत मात्र नभइ दलकै साखमा गिरावट आएको छ । यिनको राजनैतिक भविष्यप्रति प्रश्न चिन्ह खडा भएको छ ।

डन प्रवृत्तिको मिडियामा झैँ नै लामिछाने प्रस्तुत भए जसले गरिमामय सदनको अपमान भएको छ । एउटा जिम्मेवार पदमा रहेको मन्त्रीले सदनमा मुद्दाको किटानी गरेर धम्क्याउने कि ती मुद्दासँग सम्बन्धितलाई कानुनी कठघरामा उभ्याएको प्रगति विवरण पढ्ने रु गृहमन्त्री लामिछानेले आफ्नो दायित्वप्रति आफैले औंलो उठाएका छन् । मतदाताहरूलाई लाजमर्दो बनाएका छन् । समय, सत्ता र सम्पत्ति सँधै कसैको साथ रहँदैन भन्ने चेत देखिएन । उनको आक्रोश र धम्कीले उनले गल्ती गरेको र त्रसित रहेको भनिरहेको बुझ्न साधारण मानिसलाई पनि गाह्रो पर्दैन ।

मिसन र भिजनविहीन व्यक्तिगत स्वार्थमा आशक्त राजनीतिले लामो बाटो तय गर्न सक्दैन । परिवर्तनको सपना देखेका मतदाता एवम् आमनागरिकलाई उनले निरास मात्र गराएका नभइ ठूलो धोका दिएका छन् । कुनै अमुक दलको हतियार बनेर आफ्नो ‘नो नट् अगेन’ नाराले पाएको सफलतालाई लात मार्नु स्वयंम माथि घात हुने चेत लामिछानेमा देखिएन । कुनै विद्वानले भनेका छन्, ‘चतुर्याइँ बुद्धिमानीको कलङ्क हो ।’ रवि बुद्धिमान हुन् या होइनन् समयले मूल्याङ्कन गर्ने नै छ, तर चतुरचाहिँ हुन् त्यसैले कलङ्कित हुने नै भए १

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार