29.1 C
Kathmandu

भगवान राम र उनका सात गुण

व्यक्तिमा जुन अति आवश्यक गुण वा विशेषता हुनुपर्ने छ, त्यो सबै कुरा हामी भगवान् रामचन्द्रसित सिक्न सक्छौँ। सामान्य अर्थमा भगवान् भनेको भाग्यशाली हुन्छ, तर यहाँ भगवान्को अर्थ दिव्य आत्मासित छ। कुनै पनि देवीदेवतालाई हामी पूजाअर्चना गर्छौँ, यसको खास मतलब हुन्छ। त्यो हो– त्यस देवीदेवताको गुण आफ्नो जीवनमा उतार्न। त्यसपछि मात्र हाम्रो पूजाअर्चना सफल हुन्छ र देवी-देवता हामीमाथि प्रसन्न हुनुहुन्छ। भगवान् राम आफैँमा महाज्ञानी र महागुरु पनि हुनुहुन्छ। उनको जीवन एउटा महान् सन्देश हो। वर्तमान सामाजिक व्यवस्थामा जति पनि कुरीति, कुव्यवस्था र जटिलता छन्, ती सबै समस्याको समाधान भगवान् श्रीरामको जीवनदर्शनमा छ। भगवान् रामको ज्ञान तथा उहाँको कार्यशैलीमा लिडरसिप र म्यानेजमेन्टको ठूलो उदाहरण हो। वर्तमान समयमा भगवान् श्रीरामको व्यक्तित्वका गुणहरूको हामीलाई धेरै खाँचो छ। चारैतिर अशान्ति र दुःखको वातावरण छ।

समानता: भगवान् रामको पहिलो सबैभन्दा ठूलो गुण थियो– समानताको भाव। उहाँले आफ्नो जीवन यात्रामा कसैसित कहिल्यै पनि भेदभाव गर्नु भएन। जङ्गलमा शबरीको जुठो बयर खानु। यो घटना समानताको भावको उत्कृष्ट उदाहरण हो। गीतामा भगवान् श्रीकृष्ण पनि भन्नुहुन्छ– हामी सबैमा भगवान् व्याप्त हुनुहुन्छ। आधुनिक म्यानेजमेन्टले पनि राम्रो तरिकाले कार्य गर्नका लागि सबैसित समान भाव राख्नू भन्छ।

नैतिकवान्: भगवान् रामजस्ता ठूला नैतिकवान् खोज्न गाह्रो हुन्छ। असल मान्छेको यो महान् गुण हो। वर्तमान समयमा यही गुण नभएका कारणले समाजमा अराजकता र अव्यवस्था फैलिएको छ। यसकारण हामीलाई नैतिकवान् हुनुपर्छ। जसरी हाम्रो नैतिकताको भावबाट अर्काको साथसाथ हामीलाई पनि कल्याणकारी हुन्छ त्यस्तै अर्काको नैतिकताको भाव अर्काको साथसाथ हामीलाई पनि कल्याणकारी हुन्छ।

शीलवान्: आत्मविकासआत्मकल्याणका लागि हामी शीलवान् हुनुपर्छ। भगवान् राममा यो पनि एउटा महागुण थियो। आफ्नो बेलाको सबैभन्दा शक्तिशाली राजा हुँदाहुँदै पनि कसैको अधिकार क्षेत्रमा प्रवेश गर्नुभएन। उहाँको कार्यशैलीमा मर्यादा थियो, अनुशासन थियो र सम्मान पनि थियो।

धैर्यवान्: भगवान् राम महान् धैर्यवान् हुनुहुन्थ्यो। उहाँ सानाभन्दा साना र ठूलाभन्दा ठूला कार्य धैर्यका साथ गर्नुहुन्थ्यो। एउटा चिनियाँ उखान छ, ‘जोसँग पेसेन्स छैन त्यो पेसेन्ट हो।’ धैर्य मानवको महान् गुण हो। धैर्य सफलताको रहस्य हो। यसकारण हामी सबै धैर्यवान् हुनुपर्छ। मनोचिकित्सक भन्नुहुन्छ– जो जति शक्तिशाली हुन्छ ऊ उति नै धैर्यवान् हुन्छ।

त्याग: वर्तमान समयमा चारैतिर लोभ, लालच र ठगीको माहोल छ। जसले गर्दा समाजमा अराजकता र असन्तोषको माहोल छ। भगवान् राम महान् त्यागी पनि हुनुहुन्थ्यो। आफ्नो बुबाको एउटा वचनको भरमा राजकाज छाडेर जङ्गल जानुभयो। समाज कल्याण र लोककल्याणका लागि हामीलाई अलिअलि भए पनि त्यागको भावना राख्नुपर्छ।

सन्तोष: एउटा उखान छ– सन्तोषम् परम् सुखम्। भन्नाले सन्तोषको भाव महान् सुख हो। ज्ञानी व्यक्ति मात्र सन्तोषको लाभ लिन सक्छ। सामान्य व्यक्ति सन्तोषको लाभ लिन सक्दैन। भगवान्  राम सन्तोषी पनि हुनुहुन्थ्यो। पूरा जीवनमा उहाँले कहिल्यै पनि गुनासो गर्नुभएन। गुनासो नगर्नु धार्मिकताको महान् गुण हो।

आज्ञाकारी: आयुर्वेद भन्छ– आज्ञाकारी सन्तान हुनु महासुख हो। हजारौं मान्छेको काउन्सिलिङ गर्दा मैले हेरें, कोही कसैको कुरा मानिरहेको छैन। सबै आआफ्ना दुनियाँमा मस्त छन्। भगवान् राम महाआज्ञाकारी हुनुहुन्थ्यो। बुबाको कुरा होस् वा गुरुको कुरा होस्, श्रीमतीको कुरा होस् वा आमाको कुरा होस्, सबैप्रति उहाँका मनमा आदर थियो र प्रेम पनि थियो। दुःखी भएर होइन आनन्दित भएर सबैको कुरा मान्नुहुन्थ्यो। किनकि सबप्रति उहाँको मनमा आदर र प्रेम थियो।

भगवान् रामका यी सातवटा महागुणलाई हामीले आफूमा उतारेर जीवनलाई सुसभ्य र सुसंस्कृत बनाउन सिकौं।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार