29.1 C
Kathmandu

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी सम्पती आर्जन गरेको दावी गर्दै पौडेलविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

पेमेण्ट गेट९वे सम्बन्धी उपकरण खरिद प्रकरणमा शुक्रबार मात्रै विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पौडेलविरुद्ध आइतबार अख्तियारले पुनः अर्को मुद्दा दायर गरेको हो । पौडेलविरुद्ध २०८० असोज १५ गते पेमेण्ट गेट वे प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएकोमा त्यसको किनारा लगाउँदै विशेष अदालतले उनलाई दोषी ठहर गरेको थियो । पछिल्लोपटक २०८० माघ १० गते सुनिल पौडेल र अर्का भ्रष्टाचार आरोपित विकल पौडेललाई अख्तियारले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरेको थियो । पक्राउ परेको तीन महिना पछाडि अख्तियारले विशेषमा मुद्दा लगेको हो ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार पौडेलले सार्वजनिक पदको दुरुपयोग गरी २३ करोड ७५ लाख ४६ हजार रूपैयाँ आर्जन गरेको देखिएकोले त्यति नै बिगो कायम गरी सोही बमोजिम जरिवाना असुल उपर गर्न माग दाबी पेश गरिएको छ ।

पौडेलले खासगरी दूरसञ्चार र प्रविधिजन्य उपकरण खरिद तथा त्यससँग जोडिएको आर्थिक खटनपटनमा अनियमितता गरेर गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारले अभियोग लगाएको छ । अख्तियारले यो मुद्दामा सुनिललाई भ्रष्टाचार निवारण ऐन २०५९ का तीनवटा दफा अनुसार कारबाही गर्न माग गरेको छ।

जसअनुसार उनलाई अकुत सम्पत्ति कमाएको कसुरमा दफा २० को उपदफा २ अनुसार २ वर्षसम्म कैद र बिगो जत्तिकै जरिवाना तिराउन माग गरिएको छ। अख्तियारले गरेको माग अनुसार सुनिलको कसुर स्थापित भए उनले २३ करोड ७५ लाख ४६ हजार जरिवाना तिर्नुपर्ने छ भने उनले गैरकानुनी तरिकाले आर्जन गरेको सम्पत्ति समेत जफत हुनेछ।

त्यसैगरी अख्तियारले सुनिलले सम्पत्ति विवरण बुझाउँदा झुटो विवरण पेस गरेको अभियोगमा दफा १६ को २ अनुसार एकदेखि तीन महिनासम्म कैद र १० हजार रूपैयाँसम्म जरिवाना तिराउन माग गरेको छ । त्यस्तै अख्तियारले सुनिलले राष्ट्रसेवकको हैसियतमा रहँदा कसुर गरेकोले उनलाई दफा २४ अनुसार थप सजायको माग गरेको छ । जसअनुसार उनलाई थप तीन वर्ष कैद माग गरिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार