27.1 C
Kathmandu

शासक नैतिकवान् र जनता कर्तब्यवान भएनन् भने देशको हालत यस्तै हुन्छ

नेतृत्वमा दृष्टिकोण, भिजन, दूरदर्शिता हुनुपर्छ, देशमा प्रचण्ड नेतृत्वको सरकार छ । वाम भनिएका दलहरूको बाहुल्यता रहेको सरकारमा बहुरङ्गी अपराधमा मुछिएका मन्त्रीहरू छन् । जसबाट जनताले कुनै अपेक्षा र नयाँ आशा गरेका छैनन् । यस्तो बेला प्रचण्डले हृदयले बोल्ने कुरा ओठले बोल्नुपर्ने बाध्यता छ । सरकारले सुशासनको क्षेत्रमा काम गर्छ, अपराध, भ्रष्ट, तस्कर र बिचौलियालाई कारबाही गर्छ भनेर भाषण गर्दैछन् । स्वयं प्रचण्डमाथि पनि यति प्रश्न छन्, गनिसाध्य छैन । समयमै सङ्क्रमणकालीन न्यायका कामहरू पूरा भएनन् भने प्रचण्डले ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ । त्यतिमात्रै होइन, उनको आफन्तवादसमेत नांगो छ । आँखाले चित्र चिन्छ तर, चरित्र चिन्दैन । प्रचण्डको आँखाले चिनेका नेताहरूको चरित्रबारे उल्लेख गर्नुपर्दैन । रङ्ग चिन्नु, अनुहार चिन्नुलाई राजनीतिमा पहिचान गरेको ठहरिन्न । कुनै पनि नेतृत्वको आधार भनेको तहगत पार्टी संरचना र संगठनको नेतृत्व हो ।

नेतृत्वको दृष्टिकोण, भिजन, दूरदर्शिता, पारदर्शिताको उपज नै संगठन हो । नेतृत्वको क्षमता जस्तो छ, त्यस्तै पार्टी र संरचना निर्माण हुन्छ । प्रचण्ड विगत ४० वर्षयता पार्टी सत्ता र १५ वर्षयता राज्यसत्तामा छन् । पार्टी सत्ता र राज्यसत्तामा आफूपछि अर्को कुनै उत्तराधिकारी जन्माउन सकेका छैनन् । जसले समयमै जुन नेताले उत्तराधिकारी जन्माउँछ, त्यो नै सफल नेता हो । तर, प्रचण्ड यो समयको आफूलाई बहुत सफल नेता सम्झिन्छन् । असलियत यो होइन, उनी जस्तो असफल र अयोग्य नेता नेपालमा अर्को कोही छैन, जसले जनयुद्धको मर्म र धर्म बिर्सियो । विगतको विरासतलाई भजाएर खानबाहेक आजका दिनमा प्रचण्डसँग विकल्प छैन । प्रचण्डले माओवादी पार्टी कस्तो बनाएका रहेछन्, उनको पार्टीका नेता, कार्यकर्ताहरूलाई कुन खालको स्कुलिङ दिएका रहेछन् भन्ने कुरा पछिल्ला भ्रष्टाचार, तस्कर काण्डहरूले प्रस्ट पारिदिएका छन् । आज प्रचण्डको पार्टीमा कुनै पनि नेता, कार्यकर्ताको सोच सद्दे भेट्न मुस्किल छ ।

यसरी हेर्दा प्रचण्ड नैतिक प्रश्नहरूको कठघरामा छन् । तर पनि उनले नक्कली जवाफ दिएर टार्ने गर्छन् । तर, त्यसलाई दुनियाँले राजनीति जवाफ मान्दैन । उनको विगत र वर्तमानलाई हेर्दा आगत झन् दुःखद हुने देखिन्छ । उनी स्वयंले पनि आफू बाँचुन्जेल यो मुलुकमा उथलपुथल भइरहन्छ भनेका छन् । २१ फागुन २०८० मा बोलेको त्यो उथलपुथलवाला वाक्य प्रचण्डले त्यसै बोलेका होइनन् । संघको सरकार बदल्ने र त्यसको बाछिटा प्रदेशमा पर्ने हुनाले प्रदेश संरचनाप्रति मानिसहरूको वितृष्णा बढेको छ । संघीयतालाई नेता व्यवस्थापन र कार्यकर्ता भर्तीकेन्द्र बनाइरहेका छन् । अर्कोतर्फ धम्कीको राजनीति आजको दिनमा कसैले पत्याउँदैन । देशको मुख्य व्यक्तिले देशलाई अस्थिर बनाइराख्ने, अराजकता फैलाइरहने, सत्ताका निम्ति जस्तोसुकै सम्झौता गर्न पछि नहट्ने, तस्कर, माफिया, भ्रष्ट, ठगहरू बोकेर पार्टी र राज्य सत्ता सञ्चालन गर्ने तर, सुशासनका गफ हानेर नथाक्ने प्रचण्डको औचित्य राजनीतिमा उहिल्यै सकिसकेको हो । विविध बाध्यतावश आजसम्म प्रचण्डहरूलाई यो देशले पाल्नु परिरहेको छ ।

राजनीतिमा ससाना कुराले अर्थ राख्छन् । ससाना मान्छेहरूको तागतले नै पार्टी चलेको हुन्छ । तिनै कमजोर, साना, गरिब, विपन्नहरूको निम्ति राजनीति हुनुपर्छ । विगतको विरासतको नाममा सत्तामा बस्ने र भत्ता खानेहरूले जनयुद्धमा आहुति दिएका हजारौँ सहिदहरूको सपना, चाहना के थियो ? तत्कालीन अवस्थामा बाँडिएका नारा र वर्तमान पाराबिचको तादात्म्यता मिल्छ कि मिल्दैन ? भनेर कसले सोध्ने होला ? कसलाई सोध्ने होला ? भनिन्छ, तत्कालीन जनयुद्ध विश्व इतिहासकै ऐतिहासिक थियो । तर, समयको कालखण्डमा उक्त आन्दोलनका नेताहरू पतित हुँदै गए । संघर्ष भुल्दै गए । यो धेरै अगाडिको कुरा भयो । गत निर्वाचन २०७९ मा प्रचण्डले चुनाव जित्ने अवस्था कम बन्दै गएको थियो । प्रचण्डका पूर्व सहयोद्धा डा. बाबुराम भट्टराईले ठूलो त्याग गरेर गोरखाबाट चुनाव जिताउने भूमिका खेलेका थिए । मानुषीलाई काठमाडौँबाट चुनाव लडाउने प्रक्रियालाई छोडेर हेर्ने हो भने बाबुरामले प्रचण्डलाई राजनीतिक जीवनको अन्तिम कालखण्डमा आएरसमेत साथ दिएको मान्न सकिन्छ ।

आज उनै बाबुरामको पार्टी फुटाउने प्रमुख भूमिकामा प्रचण्ड देखिएका छन् । प्रचण्डको निगाहमा प्रधानमन्त्री बन्नेहरूको संख्या धेरै छ । मन्त्री, सांसदको संख्या गनिसाध्य छैन । प्रचण्डले बनाएका प्रधानमन्त्री, मन्त्री र सांसदको हैसियतबारे जनता जानकार छन् । उनले कस्ता मानिसलाई राज्यको माथिल्लो तहमा पुर्‍याएपुर्याइदिएबापत उनले कति फाइदा लिए भन्ने कुराका बारेमा पनि सायद भन्न पर्दैन । माथि भनिएझैँ पहिलो कुरा प्रचण्डले मान्छे चिन्दैनन् । दोस्रो कुरा असल नियतले लगाएको गुन तिर्न सक्दैनन् । यसै कारण आजका दिनमा प्रचण्ड देशका निम्ति अस्थिर पात्र साबित बनेका छन् । अन्त्यमा, यसरी हेर्दा हाम्रो देशमा राजनीति भइरहेको छैन । यहाँ अराजनीति भइरहेको छ । लाजनीति भइरहेको छ । राजनीति भइदिएको भए त प्रचण्डहरू, रविहरूमा थोरै भए पनि नैतिकता भन्ने जिनिस देखिन्थ्यो होला । पुरानाले त देश लुटे, बिगारे, भत्काए, सक्काए रे । तर, नयाँ भनिएकाहरू के कम ? तिमीहरू दूधले नुहाएका हौँ र ? हामीले पनि यो देश लुट्न पाउनुपर्छ । अराजकता मच्चाउन पाउनुपर्छ भनेर ठूलो स्वरमा कराउँदैछन् । देशका शासक नैतिकवान् र जनता कर्तव्यवान भएनन् भने त्यो देशको हालत यस्तै हुन्छ । जस्तो हाम्रो देशमा भइरहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार