27.1 C
Kathmandu

असल मानिसको मौनता र बिग्रीएको देश

असल मानिसहरूले पनि देश बिगार्छन् भन्दा विश्वास नलाग्न सक्छ । तर, द्वन्द्ववादी दृष्टिकोणबाट हेर्दा असल मानिसहरूले देश र जनताको निम्ति राम्रो काम मात्रै गर्दैनन्, देश बिगार्ने कुराको जिम्मेवार पनि हुन्छन् भन्ने कुरा देख्न सकिन्छ । फ्रान्सेली सम्राट् नेपोलियन बोनापार्ट भन्छन्, ‘संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभएर असल मान्छेहरूको मौनता हो ।’ नेपोलियनले भनेको सन्दर्भ हाम्रो देशको अवस्थासँग मिल्दोजुल्दो छ । जस्तोः कर्मचारीतन्त्र भ्रष्ट छ । त्यसको विरुद्ध बोल्ने आँट खासै कोही गर्दैनन् । निजी क्षेत्रको बदमासीले सीमा नाघेको अवस्था छ । निजी स्कुल र अस्पतालहरूको मनोमानी, सार्वजनिक संस्थानका कर्मचारीहरूको दादागिरी र रूखो बोलीका बारेमा आमजनता जानकारी नै छन् । तर, आफ्ना करबाट पालितपोषित कर्मचारी, प्रशासक, सेना, प्रहरी, सार्वजनिक पदमा रहेका नेताहरूका विरुद्ध बोल्ने आँट कसैले गर्दैनन् ।

सत्य आफैँ जित्दैन, सत्यलाई जिताउनुपर्छ भन्ने कुरा धेरैलाई थाहा छैन । यहाँ त सत्य देख्दादेख्दै पनि असली भनिने मानिसहरू मौन छन् । सत्य कुराको हत्या भइरहेको छ, नीति मिचिएको छ, विधि लत्याइएको छ । तर, कोही बोल्दैनन् । चुपचाप छन् । छिमेकी घरको मान्छे सरकारी कर्मचारी छ, उसको दिन दुई गुणा, रात चार गुणाका दरले धन दौलत, गाडी, विलासिता बढिरहेको छ, तर, त्यसको आयस्रोतको बारेमा कोही बोल्दैन । बरु उल्टै त्यो त खरदार, सुब्बा, अधिकृत, शिक्षक, प्रशासक, सचिव, उपसचिव हो नि तलबको चारगुणा पैसा कमाउँछन् भन्दै गौरवका साथ कुरा काटेर बस्छन् । तर, उसले सुन्नेगरी कोही बोल्दैनन् । किनकि, ऊ शक्तिशाली कहलिएको छ ।

सुकरातले राज्य सबै काम राम्रा मात्रै गर्दैन, गलत पनि गर्छ भनेर भने । युवालाई प्रश्न र सन्देश गरभन्दा मृत्युवरण गर्नुपरेको थियो । त्यसपछि प्रश्न गर्ने चलन सुरु भयो । फ्रान्सेली, अमेरिकी, चिनियाँ सांस्कृतिक क्रान्ति, भारतीय क्रान्तिमा प्रश्न गरे । जो सफल पनि भए । प्रश्न गर्ने हिम्मत नगर्ने, गलत र भ्रम देख्दादेख्दै पनि त्यसको बारेमा मौन बस्नेहरू खराब मान्छेभन्दा देश नबन्नुमा बढी जिम्मेवार हुन्छन् । आज मुलुकको बर्बादीलाई लिएर सबैभन्दा सतही कुरा गर्नेमा पनि असल भनिनेहरू नै छन् । ०८२ मा वर्तमान संविधान कार्यान्वयनमा आएको ठिक एक दशक पुग्दैछ । कुनै पनि व्यवस्थाको बारेमा रिभ्यु गर्ने न्यूनतम समय भनेको २० वर्ष हो । विद्यमान संविधानलाई लिएर सफल, असफल, राम्रो नराम्रो, के कसो हो भनेर प्रश्न गर्ने बेला अहिले नै भएको छैन । आजै कसैले गणतन्त्र, संघीयता, संविधान ठिक छैन भन्दैछ भने त्यो हतार मानसिकताको उपज हो । सतही कुरा हो । सुनियोजित कुरा निराशा बाँड्नेहरूको खेलबाहेक अरू केही होइन ।

मौनता घरदेखि सुरु भएर राज्य तहसम्म देखिन्छ । जस्तो घरमा श्रीमानको ज्यादतीविरुद्ध श्रीमती मौन बस्छन् । आफूमाथि भएका शोषण, दमन, पीडा, अन्याय, दुःखलाई भाग्यवादसँग जोडेर आत्मवञ्चनमा बाँचिरहेका देखिन्छन् । सामान्य महिलाको हकमा मात्रै होइन, हिजो क्रान्ति र युद्धमा सामेल भएका महिलाहरू (जो आज पनि राजनीतिमा सक्रिय छन्) पनि आज श्रीमानको ज्यादती सहेर बसिरहेको अवस्था छ । सन्तान र समाजको सीमालाई नाघ्न महिलाहरूलाई भारी परिरहेको छ । महिला र पुरूषबीचको सार्थकता अभिन्न छ । यसमा कुनै दुईमत छैन । तर, महिलामाथि पुरुष आजका दिनसम्म हाबी छन् । यो अवस्था कायम रहनुमा महिलाहरू मौन बस्नु नै हो । त्यस्तै नेता, कर्मचारीहरूले अतिरिक्त पैसा कमाउँदा परिवार मौन बस्छन् । हरेक दिन पैसाको बिटो बोकेर आफन्त आइरहेको छ भने समयमै परिवारले प्रश्न गर्नुपर्छ । तर, यहाँ जब अख्तियार लाग्छ, त्यसपछि बल्ल परिवारको चेत खुल्छ । जुनबेला आफ्नो घरको जागिरे व्यक्ति भ्रष्टाचारको मुद्दामा डुबिसकेको हुन्छ । भ्रष्टाचारको मुद्दा लागेर जेलमा कोचिनु पुग्छन् । त्यो बेला परिवारसँग पश्चात्ताप गर्नुबाहेक अर्को विकल्प रहँदैन ।

आफन्त जेल जानुपर्ने अवस्था आएको खण्डमा बिगो जरिवाना तिर्नुपर्दा पसिना छुट्छ । त्यसपछि बल्ल आफन्त, परिवार र समाज भ्रष्टाचारले तीन पुस्ता पिर्छ भन्ने कुरा थाहा पाउँछन् । यो सब हुनुको पछि परिवारको मौनता जिम्मेवार छ । यता राजनीतिक दलमा पनि यस्तै छ । राजनीति क्षेत्रको मुहान भनेको जनता हुन् । जनताहरूले आफ्नाबीचमा रहेका स्थानीय नेता कार्यकर्ताको अराजकता, भ्रष्टाचार, लोभीपापी कर्महरूमाथि निगरानी राख्न सकिरहेको देखिँदैन । कुनै बेला आन्दोलनले नेता जन्माउँथ्यो । आज अवस्था करिब बदलिएको छ । हाम्रो देशको राजनीतिले एउटा दिशा लिइसकेको छ । राजनीति आन्दोलनको परिकल्पना वर्तमान संविधान गरेको छैन । अपवाद बाहेक संविधानले भनेको कुरा सत्य हो । यस कोणबाट हेर्दा वर्तमान अवस्थामा संघीयता कार्यान्वयनमा छ ।

जनताको सबैभन्दा नजिकको साथी भनेको वडा र पालिका बनेको छ । पालिका स्तरमा रहेका नेता भोलि यस मुलुकको मूल नेता हो । आजका वडाध्यक्षहरू भोलिका दिनमा यो देशका सांसद, मन्त्री, प्रधानमन्त्री हुन सक्छन् । यसरी हेर्दा जनताले उत्पादन गर्ने नेता पारदर्शी, जिम्मेवार, जबाफदेही र अनुशासित हुनुपर्छ । साथै, पार्टी सङ्गठनमा विचार उत्पादनको कामका बारेमा पनि जनता चनाखो बन्नुपर्छ । आज कुनै पनि दलमा विचार उत्पादन र पुनरुत्पादनको काम शून्य छन् । विचार निर्माणको काम अवरुद्ध छ । यसको मुख्य पक्ष नेतृत्व हो । सामान्य आलोचनासम्म सहन नसक्ने नेतृत्व छ । तल्लो संरचना दास जस्तै छ । नेतृत्वका नालायकीका विरुद्ध बोल्न सकिरहेको छैन । बरु उल्टै चाकडी गरेर नेतृत्वको बचाउमा देखिन्छ ।

माओवादीमा प्रचण्डको आलोचना गर्नेहरू पलायन नभएको भए माओवादीको हालत यस्तो नहुन पनि सक्थ्यो । हजारौँ मानिसहरूले आहुति दिएर ल्याएको व्यवस्थाले जन्माएको माओवादी पार्टीमा आज कुनै एक जना आरोपमुक्त नेता भेटिँदैन । यस्ता बिचौलिया, सुन तस्कर, जग्गा दलाल, कमिसन खोर, मानव तस्करको काँधमा चढेर प्रचण्डले अस्थिर राजनीति गरिरहेका छन् । आफूभन्दा तलका सबै नेताहरू गन्हाइरहेको छन् । यस्तो अवस्थामा प्रचण्ड कसरी चोखो हुन सक्छन् ? यता सरकारको कुरा गर्दा उनै प्रचण्ड नेतृत्व सरकारका गृहमन्त्री रवि लामिछानेमाथि उठेको प्रश्न कम छैन । उनीमाथि १९ हजार जनताले सहकारीमा जम्मा गरेको पैसा दुरुपयोग गरेको आरोप छ । वर्तमान व्यवस्थाले अङ्गीकार गरेको तीन खम्बे अर्थनीतिको एउटा खुट्टा (सहकारी) भाँच्ने व्यक्तिलाई प्रश्न गर्नेहरूको संख्या बहुत सानो छ । यसरी हेर्दा मौनताको सवाल गम्भीर छ भन्ने देखाउँछ । अन्य, राजनीतिक दलको नेतृत्वमाथि पनि अनेकौँ प्रश्न छन् । कम्युनिष्ट आन्दोलन खिइँदै जानुको मुख्य कारण पनि असल मान्छेहरूको मौनता र हस्तक्षेपकारी भूमिका खेल्न नसक्नु हो । जनताले सही नेता र सही विचारको पहिचान गर्न सकेको खण्डमा मात्रै देशले उचित गति लिन्छ । एक वाक्यमा भन्दा असल मानिसहरूको मौनता देश र जनताको लागि घातक हुन्छ । आम नागरिक सचेत बनौँ । सभ्य बनौँ । जिम्मेवार बनौँ । अनि देश बनिहाल्छ नि ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार