27.1 C
Kathmandu

राम्रो कामको सुरुवात आफैबाट गरौँ

देशमा भएका हरेक परिवर्तनमा विदेशीकै भूमिका महत्वपूर्ण रहँदै आएको सबैले अनुभूति गरेकै कुरा हो । तर, त्यसैमा हामीले गर्व गरेका छौँ । यो कस्तो राष्ट्रिय चरित्र हो ? प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र विदेशीले ल्याइदिनुपर्ने, विकास गर्ने पैसा, ऋण, अनुदान विदेशीले दिनुपर्ने, युवा रोजगारी विदेशीले जुटाइदिनुपर्ने, छोराछोरीलाई पढ्न छात्रवृत्ति विदेशीले दिनुपर्ने, स्वदेशमै पढ्नेलाई पनि विदेशीले विभिन्न नाममा छात्रवृत्ति दिएर पढाइदिनुपर्ने । विद्यालय भवन पुस्तकालय आधुनिक उपकरण विदेशीले अनुदान दिनुपर्ने । स्वास्थ्यक्षेत्रमा पनि विदेशीले लगानी गरिदिनुपर्ने, सडक, विद्युत्, वन जङ्गल खोलानाला संरक्षण सबै अरुले नै गरिदिनु पर्ने । मानवअधिकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सञ्चालन गरी नेपालको सूक्ष्म व्यवस्थापनसमेत विदेशीले गरिदिनु पर्ने !

हरेक क्रियाकलाप विदेशीले गरिदिने हो भने हामीले के गर्ने ? सहीछाप गर्ने मात्र नेपालीको काम हो कि मुलुकको समग्र परिवर्तनमा महत्वपूर्ण भूमिका हुन्छ । सबैका सधैँका परिवर्तनमा सबै आफैले गरेको जस्तो देखाउन खोज्ने यथार्थमा केही नगर्ने ! रिमोट कन्ट्रोल अन्यत्रै हुने ! सधैं परिवर्तनमा महत्वपूर्ण भूमिका जस्तो देखिएतापनि यथार्थमा त्यसो नभएको पछिल्लो गतिविधिले प्रष्टाएको छ । आन्दोलन परिचालन नियन्त्रण अन्तैबाट हुने प्रर्दशनचाहिँ नेपालीभूमिमा हुने । सोझासाझा नेपाली जनतालाई ठुल्ठुला प्रलोभन देखाउने आन्दोलनमा सरिक बनाउने अन्तिममा ‘मुर्ख’ तुल्याउने । सुटुक्क कहाँ कसरी हुन्छ आफू र आफ्नालाई सुरक्षित बनाउने खेलमा लागेको अहिले प्रष्ट देख्न सकिन्छ ।

२००७ सालको परिवर्तनदेखि २०६२/०६३ सम्मको परिवर्तनमा विदेशीको भूमिका महत्वपूर्ण रह्यो । जति राष्ट्रियताका कुरा गरे पनि सात सालको सम्झौता र पछिल्लो १२ बुँदे सम्झौता दिल्लीमै भए । चर्को राष्ट्रवादका कुरा गर्नेहरू एकैचोटि दिल्लीमा सम्झौता गर्न पुगे । २००७ सालमा नेपाली काङ्ग्रेस, राणा र राजाले दिल्लीमा गएर सम्झौता गरेका थिए, त्यस सम्झौतालाई लिएर उग्र राष्ट्रवाद ठहरिएको नेपाल कम्युनिस्ट पार्टीले भारतीय विस्तारवाद र काङ्ग्रेसलाई भारतीय दलाल दलको उपमा दिएर आफू चोखो राष्ट्रवादी ठहरिने प्रयास गरेको थियो । मौका पाउनासाथ नेपालमा भएका सबै कम्युनिष्ट पार्टीहरू एकैचोटि २०६२ मा दिल्ली सम्झौता गर्न पुगे, त्यसदिनबाट तिनका मुखमा ताला लाग्यो । नेपालमा प्रजातन्त्र र गणतन्त्र ल्याउन भारतले महत्वपूर्ण भूमिका खेलेको कुरा भारतीय लेखकहरूले उजागर गर्दै आएका छन् । पृथक पृष्ठभूमि भएको हाम्रो मुलुकमा विभिन्न जातजाति, धर्म, सम्प्रदाय मिलेर बस्नुको साटो एक्लै भएर अगाडि बढ्ने गलत प्रवृत्ति हाबी हुँदै गएको देखिन्छ । एकै किसिमको सामाजिक पृष्ठभूमि भएका मानिसहरू पनि विभिन्न धर्म, सांस्कृतिक परम्पराको कारणले विभाजित भएका छन् ।

राजनीतिक परिवर्तनदेखि सबै काम विदेशीले गरिदिने हो भने हाम्रा नेताहरूको के काम ? वास्तवमा हाम्रा नेता भनिएकाहरूले जनताले केही बुझेका छैनन् भन्ने ठानेर व्यवहार गरिरहेका छन् । आफ्ना कुकर्महरु छरपष्ट भइसक्दा पनि सुतुरमुर्गले टाउको लुकाएझैँ गरेर उनीहरु आफ्नो लज्जा ढाक्ने दुष्प्रयत्न गरिरहेका छन् । सबै काम आफैले गरेको हुँ भनी पुष्टि गर्न आफैले आफैलाई सय दुई सय किलोका माला पहिराउन प्रतिस्पर्धा गरिरहेका छन् । पृथक पृष्ठभूमि भएको हाम्रो मुलुकमा विभिन्न जातजाति, धर्म, सम्प्रदाय मिलेर बस्नुको साटो एक्लै भएर अगाडि बढ्ने गलत प्रवृत्ति हाबी हुँदै गएको देखिन्छ । सामाजिक अगुवा, बुद्धिजीवीहरू पनि समस्यालाई समाधान गर्नुको साटो संकुचित बन्दै गएका छन् । एकै किसिमको सामाजिक पृष्ठभूमि भएका मानिसहरू पनि विभिन्न धर्म, सांस्कृतिक परम्पराको कारणले विभाजित भएका छन् ।

विश्वका कयौं मुलुकहरूको इतिहास हेर्दा जाति, धर्म, संस्कृतिबीच भएको प्रतिस्पर्धाले जातीय धार्मिक युद्धहरू भएका छन् । नेपालको सन्दर्भमा केही वर्षदेखि जातीय, धार्मिक, सांस्कृतिक विषयमा बहस चलिरहेको छ । यसलाई समयमै व्यवस्थापन गर्न नसकेमा जाति, जनजाति, धर्म, भाषा तथा सांस्कृतिक परम्पराकाबीच समस्या नआउला भन्न सकिँदैन । वर्षामा च्याउ उम्रेजस्तै फस्टाएका गैरसरकारी संस्थाहरूको काम नै मिलाउनेमा नभइ फुटाउनेमा हुन्छ, तर यसतर्फ राज्यले गम्भीर भएर कहिल्यै सोचेन । जसको परिणाम जटिल बन्दै गएको छ । जनतामा ‘राष्ट्रको नागरिक हुँ’ भन्ने भावना विकसित हुनुको साटो कुनै एक जाति, धर्म, सम्प्रदाय अथवा भौगोलिक इकाईको सदस्य हुने धारणाको विकास भएको छ, जो अति खतरनाक हो । यसले समाजलाई कहालिलाग्दो गरी बिथोल्न शुरु गरिसकेको छ । त्यसैले देशभक्त नागरिक हुँ भन्ने भावना समस्त जनतामा जागृत गराउनु आजको अपरिहार्यता हो । यस्तो गम्भीर सवालमा राज्यसञ्चालकहरू उपेक्षाभाव दर्शाइरहेका छन् । उपेक्षामात्रै नभइ उनीहरू स्वयम् नै विदेशीको खेताला बनेको आभास हुनु घोर विडम्बना हो । हर मामलामा सँधै विदेशीको काँध चढेर कहिले कसरी पार लाग्ने ? यसमा अब ध्यान पुग्नैपर्छ ।

यसरी, अहिले देशको अवस्था अत्यन्तै गम्भीर मोडमा छ । एकै पटक राजनीतिक, आर्थिक समस्या देखापरेका छन् । यस्तो जटिल परिस्थितिको सामना गर्दै समस्या समाधान पनि हामी आफैले गर्नु पर्दछ । हामीले आफ्नो समस्याको समाधान बाहिरबाट खोज्दा समस्याहरू उल्टै बढ्नेछन् भन्ने महसूस नगर्न सक्नुपर्छ । मुलुकमा कस्तो शासन व्यवस्था स्थापित गर्ने भन्ने कुरा नेपालीजनले नै परिस्थितिको आँकलन गरेर स्वयम् गर्न सक्नुपर्छ, परायाको मुख ताक्नु हुँदैन । तबमात्र राष्ट्र सवलताको मार्गमा अघि बढ्छ । आम नेपालीजनमा राष्ट्रियता भावना पनि त्यसपछि जागृत हुँदै जान्छ । राम्रो कामको सुरुवात आफैले गरेमा प्रशंसायोग्य हुन्छ र दीर्घकालीन रहन्छ भन्नेमा सबैको सकारात्मक धारणा बन्न जरुरी छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार