26.1 C
Kathmandu

प्रदेश २ को नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम राख्ने निर्णय

जनकपुर/ प्रदेश २ को नाम मधेस र राजधानी जनकपुरधाम राख्ने निर्णय भएको छ । प्रदेशसभाको दुई तिहाइले प्रदेशको र नाम राजधानीको टुंगो लागाएको हो । संघीयताको झन्डै पाँचवर्षे अभ्यासपछि प्रदेश २ को नाम र राजधानी टुंगो लागेको छ ।
प्रदेशसभामा संख्या १ सय ४ सदस्य छन् । प्रदेशसभामा सोमबार भएको मतदानमा प्रदेशको नाम मधेसमा ८० र राजधानी जनकपुरधाममा ७८ मत खसेको थियो । पहिलो प्रस्ताव दुई तिहाइले पारित भएपछि यससम्बन्धी अन्य प्रस्ताव भने स्वतः निष्क्रिय भएको घोषणा भयो । यस्तै, अस्थायी राजधानी जनकपुरधामलाई सोमबार दुई तिहाइले स्थायी घोषणा गरिएको छ । प्रदेशसभामा जनकपुरधामलाई राजधानी बनाउन यहाँ प्रतिनिधित्व गर्ने सबै दलले गरेको प्रस्तावको पक्षमा ७८ मत खसेको थियो ।

राजधानी जनकपुरधाम राख्ने विषयमा सबै दल एक मत भए पनि प्रदेशको नामका विषयमा भने दलहरूले फरक प्रस्ताव राखेका थिए । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रको साझा प्रस्ताव मधेश प्रदेशमा थियो । अन्य राजनीतिक मुद्दामा फरक ठाउँमा रहँदै आएका एमाले र एकीकृत समाजवादी भने यो विषयमा एकमत थिए । उनीहरू नाम जानकी राख्ने पक्षमा थिए । त्यस्तै कांग्रेसले नाम मिथिला–भोजपुरा राख्न खोजेको थियो । तर बारा, पर्साका सांसदहरूले नाम मध्य–मधेस र राजधानी वीरगन्ज प्रस्ताव राख्ने पक्षमा थिए ।

नाम र राजधानी निश्चित गर्ने मधेस छैटौं प्रदेश हो । प्रदेश १ भने अहिलेसम्म अनिर्णीत छ । यसअघि नाम तोकिएका वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम पुरानै नाम दोहोरिए भने ‘मधेस’ नयाँ नाम छानिएको छ । मौलिक नाम राख्दै राजधानी पनि टुंगो लागेको खुसीमा प्रदेशमा मंगलबार सार्वजनिक बिदा दिइएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले बताए ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार