29.1 C
Kathmandu

मन्त्री झाँक्रीले राउटे युवतीसँग गाँसिन मीतेरी साइनो

सुर्खेत/ शुक्रबार पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ कालीखोलामा पुगेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राउटे युवती गाजलु र सम्झनासँग मीत लगाएकी छन् । राउटेलाई परम्परागत काठका घर बनाउन आग्रह गर्दै राउटे बस्ती पुगेकी मन्त्री झाँक्रीले राउटे युवतीहरुसँग मीतेरी साइनो गाँसेकी हुन ।

राउटे समुदायमा मितेरी साइनो धेरै महत्त्व हुन्छ । मन्त्री झाँक्रीले गाजलु र सम्झनासँगै मीत लगाउने भन्दै केही शृंगार र उनीहरूले लगाउने कपडा ल्याइदिएकी थिइन् । उनीहरूले मीत लगाएपछि काठबाट बनेका भाडा दिएका थिए । मन्त्री झाँक्रीले साइनोअनुसारको भूमिका निभाउने बताइन् । मन्त्रीसँग मीत लगाएपछि राउटे युवती गाजलु र सम्झना निकै दंग छन् ।

राउटेहरूलाई परम्परागत घर बनाएर बस्न मनाउन गएकी मन्त्री झाँक्रीलाई राउटे महामुखिया मैनबहादुर शाहीले बसेको स्थानबाट कहिलेकाहीं हप्ता दिन नबित्दै बस्ती सर्नुपर्ने बाध्यता भएकाले यो घर आवश्यक नरहेको बताए । ‘समुदायका कुनै मानिसहरूको मृत्यु हुनासाथ उक्त स्थान छोड्नुपर्ने भएकाले त्यो घर हामीलाई के काम रु,’ उनले भने, ‘समुदायमा पुरानो परम्परा झट्ट छोड्न मिल्दैन ।’

‘राउटेको संस्कारमा असर नपर्ने गरी उनीहरूका लागि आवास निर्माण गरिने बताउँदै मन्त्री झाँक्रीले राउटेहरूको रोजाइ दैलेख, सुर्खेत र सल्यानका विभिन्न जंगलमा भएकाले ३ वटै जिल्लामा काठबाट भनेका घर बनाइदिने बताइन ।

मन्त्री झाँक्रीसँगै सहरी तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले राउटे समुदायका लोकेन्द्र शाहीसँग मीत लगाएका छन् । सहरी तथा भवन निर्माण विभागका महानिर्देशक मैनालीले उनीहरूको इच्छाअनुसार उनीहरूले रोजेको जिल्लामा घर बनाइदिने बताए । उनका अनुसार राउटेहरूलाई घाम र पानीबाट जोगाउन यी घर आवश्यक छ । उनीहरूले चाहेको अनुसार बनाउन र भत्काउन मिल्ने नयाँ प्रविधिको घर बनाउन लागिएको उनको भनाइ छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार