29.1 C
Kathmandu

वाइडबडी विमान खरिदमा भ्रष्टाचारको अभियोग: पूर्वमन्त्री शाहीसहित ३२ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । आयोगले नेपाल वायुसेवा निगमको वाइडबडी दुई जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, पूर्वसचिवद्वय शिशिरकुमार ढुंगाना र शंकर अधिकारी, वायुसेवा निगमका तत्कालीन प्रमुख सुगतरत्न कंशाकारसहित ३२ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । वाइडबडी दुई जहाज खरिद गर्दा करिब १ अर्ब ४७ करोड ८५ लाख ५ हजार ४ सय ८२ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको को हो ।

अख्तियारले तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाही, तत्कालीन महाप्रबन्धक तथा सन्चालक समिति सदस्य सुगतरत्न कंसकार, तत्कालीन पर्यटन सचिव तथा सन्चालक समिति सदस्य शंकरप्रसाद अधिकारी, भन्सार विभागका तत्कालिन महानिर्देशक तथा सञ्चालक समिति सदस्य शिशिर ढुंगाना, मन्त्रालयका तत्कालीन सहसचिव तथा सञ्चालक समिति सदस्य बुद्धिसागर लामिछाने, सञ्चालक समिति सदस्य टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पान्डे पनि प्रतिवादी बनेका छन् ।

त्यसैगरी अख्तियारले नेपाल वायु सेवा निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन, तत्कालीन कामु निर्देशक रविन्द्र श्रेष्ठ, तत्कालीन कामु निर्देशक र हालका निर्देशक उपेन्द्र पौडेल, तत्कालीन उपनिर्देशक तथा हालका निर्देशक श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारष पौडेल, तत्कालीन निमित्त उपनिर्देशक तथा हालका निर्देशक उमेश पौडेल र तत्कालीन उपनिर्देशक र हाल उपनिर्देशक बृहतमान तुलाधारलाई प्रतिवादी बनाएको छ । सम्पत्ति शुद्धीकरण विभागका तत्कालीन महानिर्देशक तथा सञ्चालक समिति सदस्य जीवनप्रकाश सिटौला, तत्कालीन सन्चालक समिति सदस्य तथा हाल नागरिक उड्डयन प्राधिकरणका सन्चालक समिति सदस्य रहेका अच्युतराज पहाडी, नेपाल बायु सेवा निगमका तत्कालीन कामु निर्देशक रामहरी शर्मा सेढाई, तत्कालीन कामु निर्देशक तथा हाल नायब महाप्रबन्धक रहेका जनकराज कालाखेती र तत्कालीन उपनिर्देशक प्रभासकुमार कर्माचार्य, तत्कालीन निर्देशक गणेशबहादुर चन्द, तत्कालीन कामु निर्देशक कर्णबहादुर थापा र तत्कालीन निमित्त निर्देशक तथा हाल वरिष्ठ क्याप्टेन रहेका सुबास रिजाललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

निगमले २०७३ सालमा करिब २४ अर्ब रूपैयाँमा दुइटा वाइडबडी एयरबस जेट विमान खरिद प्रक्रिया अघि बढाएको थियो। संसदको सार्वजनिक लेखा समितिले २०७५ सालमा गरेको छानबिनमा विमान खरिद गर्दा निगमलाई करिब ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ नोक्सान भएको निष्कर्ष निकालेको थियो।

पूर्वमन्त्री शाही कर्णाली प्रदेश सभाका सांसद र पूर्वमुख्यमन्त्री समेत हुन् । उनी पुष्पकमल दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा कांग्रेसबाट पर्यटनमन्त्री बनेका थिए । यो प्रकरणको अनुसन्धानमा तानिएका पूर्वमन्त्रीहरू जितेन्द्रनारायण देव र दिलनाथ गिरीको भने संलग्नता पुष्टि नभएकाले अभियोग दायर नभएको अख्तियारले जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार