26.1 C
Kathmandu

सेयर बजार फेरि घट्न थाल्यो, अर्थमन्त्रीको प्रतिवद्धता पूरा भएन कि बजारको विश्वास ?

काठमाडौं । अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेले आएपछि २ सय अंकभन्दा बढीले बढेको सेयर बजार फेरि घट्न थालेको छ । बजार घट्नुमा अर्थमन्त्रीको प्रतिवद्धता पूरा भएन कि बजारको विश्वास भन्ने प्रश्न उब्जिएको छ । पछिल्लो समय सेयर बजार लगातार घट्न थालेको छ ।

केही दिनदेखि सेयर बजारमा उच्च गिरावट आउन थालेको छ । १८०० मा झरिसकेको सेयर बजार नयाँ सरकार गठनसँगै माघ दोस्रो साताबाट बढ्न सुरु भएर २२०० अंकभन्दा माथि पुगेको थियो । पछिल्लो दुई साता यता सामान्य घटबढ भइरहेको भएपनि अहिले बजार घटेर २१२७ मा झरिसकेको छ ।

त्यसो त धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालमाथि धितोपत्रको सार्वजनिक निष्कासनको स्वीकृतिमा आर्थिक लेनदेनको आरोप लागेपछि त्यसको प्रभाव सोमबार सेयर बजारमा पनि देखिएको छ ।

सोमबार बजार परिसूचक नेप्से ४१.१६ अंकको गिरावट हुँदा २१२७.३७ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित सबै उपसूचकमा गिरावट हुँदा बजार परिसूचकमा करिब २ प्रतिशतको गिरावट भएको हो । होटल तथा पर्यटन उपसूचक ३.६१ प्रतिशत र वित्त कम्पनी उपसूचक ३.४२ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक २.८९ प्रतिशतले गिरावट भएको छ ।

त्यस्तै निर्जीवन बीमा उपसूचक २.८५ प्रतिशत र बैंकिङ उपसूचक १.१५ प्रतिशतले घटेको छ । नेप्सेमा उच्च अंकको गिरावट भएपनि कारोबार रकम भने करिब साढे ३ अर्ब पुगेको छ । सोमबार ८८ लाख ३६ हजार ४८८ कित्ता धितोपत्र किनबेच हुँदा ३ अर्ब ३० करोड २२ लाख १ हजारको कारोबार भएको छ ।

जसमध्ये सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक १७ करोड ६५ लाख ४० हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको १० करोड ४८ लाख ९३ हजार र पिपुल्स हाइड्रोपावरको ९ करोड ५६ लाख ३० हजारको कारोबार भएको छ । सोमबार नेप्सेमा कुल २१३ कम्पनीको सेयर कारोबार हुँदा २०४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।

९ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको सेयरमूल्यको बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयरमूल्य ५.५६ प्रतिशतले वृद्धि भएको छ । युनाइटेड इदी मार्दी एण्ड आरबी कम्पनीको सेयरमूल्य सर्वाधिक ७.१४ प्रतिशतले गिरावट हुँदा श्वेत गंगा हाइड्रोपावरको सेयरमूल्य ६.७१ प्रतिशत र सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य ६.४४ प्रतिशतले गिरावट भएके छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार