26.1 C
Kathmandu

निर्वाचन आयोगमा दर्ताका लागि ८० दलको निवेदन

काठमाडौँ / निर्वाचन आयोगमा स्थानीय तह निर्वाचन प्रयोजनका लागि १ सय १० वटा राजीतिक दलमध्ये ८० वटा राजनीतिक दलले निवेदन दिएका छन् । आयोगले फागुन ५ देखि आइतबारसम्म दल दर्ताका लागि समय तोकेको थियो ।

राष्ट्रिय दल मान्यता प्राप्त नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीसहित साना दलले निर्वाचनमा भाग लिन निवेदन दिएका छन् । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार निवेदन दिने समय सकिएको छ, दलले बुझाएको कागज कानुनअनुसार छ कि छैन भनेर छानबिन गरेपछि दल दर्ता गरिेने छ ।
आयोगमा दर्ता भएका दलहरूले निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ । दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलहरूले केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या खुलाउनु पर्ने, लेखा परीक्षण प्रतिवेदन पेश गर्नु पर्ने प्रावधान आयोगले राखेको थियो ।

दलले बुझाएको कागजपत्रको आधारमा चैत २५ सम्म छानबिनको काम टुङग्याइसक्ने योजना आयोगले बनाएको छ । छानबिन सकिएपछि चैत २६ मा राजनीतिक दल दर्ताको स्वीकृति दिने निर्वाचन कार्यतालिका रहेको छ । वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनमा ८० वटा राजनीतिक दलले निवेदन दिए पनि ५७ वटाले मात्रै निर्वाचनमा भाग लिएका थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार