23.1 C
Kathmandu

कृषि बीमामा अर्बौं खर्च तर बढेन आकर्षण

काठमाडौं /सरकारले कृषि बीमामा ठूलो रकम खर्चिदा पनि यसप्रति किसानको आकर्षण बढ्न सकेको छैन । किसानले नबुझेर वा बुझाउन नसकेर कृषि बीमामा कृषकहरुको आर्कषण अपेक्षाकृत रुपमा बढ्न नसकेको हो ।

बाली तथा पशुपालन व्यावसायका जोखिम तथा अनिश्चितता कम गरी कृषकलाई कृषि व्यवसायतर्फ उन्मुख गर्न र कृषि क्षेत्रमा निजी, सरकारी तथा वित्तीय संस्थाहरुको लगानी बढाउन र लगानी सुरक्षित गर्न भन्दै ८ वर्ष अगाडी बीमा कार्यक्रम सुरु गरिएको थियो । बीमा समितिका अनुसार यो ८ वर्षको अवधिमा सरकारले बीमा गर्न ४ अर्बभन्दा धेरै खर्च गरिसकेको छ । तर त्यसबाट प्राप्त प्रतिफलको भने कुनै लेखाजोखा गरिएको छैन ।

बीमा समितिका अनुसार आर्थिक वर्ष २०७०/७१ देखि ०७७/७८ सम्म बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट ५ अर्ब ६० करोड ४ लाख २७ हजार रुपैयाँ शुल्क आर्जन गरेका छन् । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल यसका लागि सरकारले अनुदानमा ४ अर्ब १९ करोड १६ लाख १९ हजार ९० रुपैयाँ खर्चिएको बताउँछन । यो अवधिमा कृषि बीमावापत किसानले कुल १० करोड ४० लाख ४७ हजार १७४ रुपैयाँ दावी भुक्तानी पाएका छन् ।

पशुपन्छी बीमासमेत जोड्दा यो अवधिमा किसानको जम्मा ६४ करोड ९३ लाख ९ हजार ८४५ रुपैयाँ दाबी परेको बीमा समितिले जनाएको छ । आव ०७६/७७ मा कृषि बीमामा दावी पेश गर्ने किसानको संख्या ५३३ मात्रै थियो । गत वर्ष पनि जम्मा १ हजार ९३३ किसानले मात्र यस्तो बीमा दाबी गरेका छन ।

२०६९ माघ १ देखि सञ्चालित बाली बीमालाई औपचारिक तथा कानुनको रुपमा लिइन्छ । कृषि बीमा गर्दा लाग्ने बीमा शुल्कको ७५ प्रतिशत अनुदान सरकारले उपलब्ध गराउने व्यवस्था छ । सरकारले किसानलाई राम्रै सुविधा दिने भएपनि यस तर्फ किसानहरुको आर्कषण बढ्न सकेको छैन । राष्ट्रिय किसान आयोगका अध्यक्ष डा.प्रेमप्रसाद दंगाल १ करोड ८० लाख हाराहारी किसान भए पनि गत आर्थिक वर्षमा जम्मा ५ हजार जनाले कृषि बीमा गराएको बताउँछन् ।

कृषि बीमाको तुलनामा पशु बीमामा बढी आकर्षण देखिएको छ । कृषि बीमाबारे बुझाउन नसक्दा यसमा धेरै किसानको ध्यान नगएको अध्यक्ष दंगाल बताउँछन् ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार