26.1 C
Kathmandu

शेयरमा साना लगानीकर्ता प्रताडित भए, नीति सञ्चाउनुपर्ने अवस्था आएको गगन थापाको भनाइ

काठमाडौं । शेयर बजारको विषयमा नेपाल राष्ट्र बैंकले लिएको अदूरदर्शी नीतिका कारण ४० औं लाख लगानीकर्ता प्रताडित भएको संसद सदस्य गगन थापाले बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको संसदको बैठकमा बोल्ने क्रममा थापाले भने ‘बजारमा रहेको तरलता अभावले शेयर बजारमा समस्या ल्याउनु स्वभाविक हो । तर, पछिल्लो अवस्था आउनुमा राष्ट्र बैंकले लिएको नीतिले शेयर बजारमा संकुचन आएको छ ।’

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर धितोमा कर्जा लिन कडाइ गरेको थियो । उक्त नीतिमार्फत न्यूनतम ४ करोड र अधिकतम १२ करोड रुपैयाँमात्रै शेयर कर्जा लिन पाउने केन्द्रीय बैंकको व्यवस्थापछि शेयर बजार निरन्तर घटिरहेको छ ।

थापाले भने ‘शेयर बजार सामान्य रूपमा तलमाथि हुन्छ । लगानी गर्नेले यो कुरा बुझ्नु पनि पर्छ । तर, अहिले राष्ट्र बैंकले लिएकै अस्थिर नीतिको कारणले बजार अस्वभाविक रूपमा घटिरहेको छ ।’

शेयर बजारमा आएको ह्रासले सबै लगानीलाई निरुत्साहित गरेको छ । २८ भदौ २०७८ मा ३१९८ सहितको उच्चतम विन्दूमा पुगेको शेयर बजार परिसूचक हिजो मंगलवार १९९९ को विन्दूमा झरेको छ । नेप्से परिसूचक घट्दै जाँदा शेयर बजारमा नकारात्मक प्रभाव बढिरहेको छ ।

शेयर बजार माथि स्थायित्व कायम गर्न र विश्वास जगाउन अर्थ मन्त्रालय नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डजस्ता नियमकारी निकायले प्रमूख भूमिका खेल्नुपर्ने भनाइ पनि थापाको छ ।

नियमनकारी निकायहरूले बजारमा सकारात्मक सन्देश दिन र उनीहरूको भूमिकाको बारेमा समेत सदनलाई जानकारी दिनुपर्ने थापाको भनाइ छ । थापाले भने ‘धितोपत्र बजारमा नीति दिगो र समग्र अर्थतन्त्रको विकास गर्ने खालको हुनुपर्छ । साना लगानीकर्ता आम मानिस हुन ।

उनीहरूको लगानीको जोखिमको वारेमा सचेतना नगरिएको र यस्तो अवस्थाको संकेत नगरिदिएका कारण शेयर बजार अहिलेको अवस्था पुगेको हो ।’ शेयर बजारलाई ठीक ठाउँमा ल्याउनै पर्ने भएपनि एकैपटक गर्लाम्मगुर्लुम बजार घट्दा हाम्रो अर्थतन्त्रले थेग्न नसक्ने अवस्थामा पुगेको थापाको बुझाइ छ ।

शेयर बजार घट्दै जाँदा भोलिका दिनमा यो समस्याले थप पिरल्न सक्ने भएकोले यसको समस्या समाधान गर्न आवश्यक रहेको पनि उनले बताए ।

‘विश्वव्यपी रूपमा शेयर बजारलाई अर्थतन्त्रको परिसूचकको रूपमा लिइन्छ । शेयर बजारको स्थायित्व र सवलताले लगानीकर्ताको मात्रै नभएर समग्र अर्थन्त्रको सम्मुनति हुन्छ’, थापाले भने ‘विगत लामो समयदेखि नेपालको शेयर बजार अस्थिर भएको छ । यो सँगै साना लगानीकर्ता त उठ्नै नसक्ने गरी डुबेका छन् ।’

थापाले भने ‘प्रत्येक दिन म कहाँ नै १० देखि १५ जना मान्छे आउँछ । काठमाडौका नभएर बाहिरका बाहिरका आम मान्छेले पनि गुनासो लिएर आउँछन् । साना साना दुःख गरेर कमाउने मान्छे शेयर बजारमा लगेका छन् ।

यसमा लगानी फसेपछिको पीडाले कोही आत्महत्या गर्छु भन्ने अवस्थासम्म पुगेका छन् ।’ अहिलेको शेयर बजारलाई सुधार्ने र लगानीकर्तालाई प्रोत्साहन गर्ने काम नियामक निकायको भएको पनि थापाले बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार