26.1 C
Kathmandu

राष्ट्रिय गौरवका आयोजनाको बजेट खर्च सन्तोष जनक रहेन

काठमाडौँ / चालु आर्थिक वर्ष २०७८/७९ को ७ महिना वित्न लागि सक्दा पनि राष्ट्रिय गौरवका आयोजनाको बजेट खर्च सन्तोषजनक पाइएको छैन । चालु आवको ७ महिनामा यी आयोजनामा १८ प्रतिशत मात्र खर्च भएको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारले राष्ट्रिय गौरवका २२ आयोजनामा ८० अर्ब १० करोड ५१ लाख रुपैयाँ बराबर बजेट छुट्याएकोमा माघ मसान्तसम्ममा यी आयोजनामा १४ अर्ब ४७ करोड रुपैयाँ बराबर खर्च भएको छ ।

महालेखा नियन्त्रकको तथ्यांक अनुसार राष्ट्रिय गौरवका ४ वटा आयोजनामा बजेट खर्च १० प्रतिशतभन्दा कम रहेको छ । चालु आर्थिक वर्षका लागि साढे ८ अर्ब बजेट पाएको पोखरा क्षेत्रीय विमानस्थलले माघ मसान्तसम्ममा एक रुपैयाँ पनि खर्चिन सकेको छैन । ३ अर्ब ५२ करोड ८० लाख बजेट पाएको दक्षिण एसिया पर्यटन पूर्वाधार आयोजनामा ५.२ प्रतिशत अर्थात् १८ करोड ५० लाख रुपैयाँ बराबर मात्रै बजेट खर्च भएको छ । वर्षौंदेखि अघि बढ्न नसकेको बूढीगण्डकी जलविद्युत् आयोजनामा यस वर्ष पनि कुनै भौतिक प्रगति छैन । सरकारले बूढीगण्डकीका लागि ६ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बजेट छुट्याएकामा हालसम्म २.७ प्रतिशत अर्थात् १८ करोड ८६ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको देखिन्छ ।

अमेरिकी अनुदान सहयोगको परियोजना मिलेनियम च्यालेन्ज अकाउन्ट नेपालमार्फत अघि बढिरहेको ४ सय केभी प्रसारण लाइनलाई पनि सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेको छ । लप्सीफेदी–दमौली–सुनवल र गल्छी–हेटौंडा प्रसारण लाइनमा चालु आर्थिक वर्षका लागि सरकारले ९ अर्ब १० करोड २३ लाख रुपैयाँ बराबर बजेट छुट्याएको थियो । यस प्रसारण लाइनमा माघ मसान्तसम्ममा ३८ करोड ८६ लाख रुपैयाँ बराबर खर्च भएको छ । मिलेनियम च्यालेन्ज नेपाल अकाउन्टका लागि चालु आर्थिक वर्षमा विनियोजन भएको कुल बजेटमा माघ मसान्तसम्मको खर्च ४.३ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षका लागि राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा बढी बजेट मिलेनियम च्यालेन्ज नेपाल अकाउन्टले पाएको थियो ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, मेलम्ची खानेपानी आयोजना र रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनाहरूमा पनि बजेट खर्च न्यून देखिएको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले चालु आर्थिक वर्षका लागि १ अर्ब ५२ करोड ६४ लाख रुपैयाँ बराबरको वार्षिक बजेट पाएकामा हालसम्म १२.३ प्रतिशत अर्थात् १८ करोड ७८ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको छ । मेलम्ची खानेपानी आयोजनाको माघ मसान्तसम्मको खर्च १३.४ प्रतिशत छ । यो आयोजनाका लागि सरकारले यस वर्ष १ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरेकामा हालसम्म २३ करोड ६४ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको देखिन्छ । सरकारले रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनाका लागि यस वर्ष ६ अर्ब ५३ करोड २५ लाख रुपैयाँ विनियोजन गरेकामा हालसम्म १ अर्ब २ करोड ५३ लाख अर्थात् १७।७ प्रतिशत खर्च भएको छ ।

बजेट खर्च बढी देखिएका गौरवका आयोजनाहरूमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी विकास कोष, हुलाकी राजमार्ग र महाकाली सिँचाइ आयोजना छन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि यस वर्ष ३६ करोड विनियोजन भएकामा हालसम्म ८३.३ प्रतिशत अर्थात् ३० करोड रुपैयाँ खर्च भएको छ । लुम्बिनी विकास कोषका लागि १ अर्ब ५० करोड रुपैयाँ बजेट राखिएकामा हालसम्म ४९.७ प्रतिशत अर्थात् ७४ करोड ६० लाख रुपैयाँ खर्च भएको छ । हुलाकी राजमार्ग र महाकाली सिँचाइ आयोजनाको बजेट खर्च क्रमशः ४२.४ र ३४.७ प्रतिशत छ ।

बबई सिँचाइ आयोजनाले २४.१, सिक्टा सिँचाइले १९.४, रानीजमरा कुललिया आयोजनाले २५.७, भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले १७.८ र सुनकोसी मरिन डाइभर्सनले ३३.६ प्रतिशत बजेट खर्च गरेका छन् । पशुपति क्षेत्र विकास कोषको हालसम्मको बजेट खर्च २६.१ प्रतिशत बराबर छ । काठमाडौं–तराई मधेस फास्ट ट्र्याकका लागि ८ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ विनियोजन भएकामा हालसम्म २२.८ प्रतिशत अर्थात् २ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ ।

पुष्पलाल मध्यपहाडी राजमार्गले माघ मसान्तसम्म २ अर्ब २१ करोड ७७ लाख अर्थात् विनियोजित बजेटको २७.३ प्रतिशत र उत्तर–दक्षिण राजमार्गले १ अर्ब १७ करोड अर्थात् विनियोजित बजेटको २८.४ प्रतिशत खर्च गरेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार