23.1 C
Kathmandu

काठमाडौंमा चैत्र १ देखि २५ औं फ्लोरा एक्स्पो हुँदै

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा पुष्प व्यवसायको प्रबर्द्धन गर्ने उद्देश्यले भृकुटिमण्डपमा चैत्र १ देखि ४ गते  सम्म  २५ औं पुष्प प्रदर्शनी आयोजना हुने भएको छ ।  ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय ‘भन्ने मूल नाराका साथ यो मेलाको आयोजना गर्न लागिएको हो । 

मेलामा ६० वटा व्यवसायिक स्टल, ८ वटा सूचनामूलक स्टल, एउटा प्रतिस्पर्धा स्टल, एउटा सेल्फी स्टल, एउटा फूड स्टल र ३ वटा ल्याण्डस्केपिङ्ग स्टल गरी ७३ वटा स्टल रहने एशोसिएसनले जनाएको छ ।

एशोसिएसनका अनुसार मेलामा मौसमी फूल, फुल्ने तथा नफुल्ने आलंकारिक बोट बिरुवाहरू, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बिउबिजन र ग्रिनहाउसको प्रर्दशनी गरिने छ । त्यसैगरी कृषि औजार, उपकरण, प्याकेजिङका  सामाग्री, सूक्ष्म तथा थोपा सिँचाइ  प्रविधि, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी, पुष्प सजावटका प्रदर्शनी तथा बिक्री कक्ष रहने बताइएको छ । मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरू तथा बिभिन्न संघ संस्थाहरूको सहभागिता रहने छ ।

मेलामा सहभागि भएका बिभिन्न पुष्प व्यवसायीहरूद्वारा उत्पादित फूल बिरुवाहरू बीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधाहरूमा उत्कृष्ट हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने आयोजकले बताएका छन्।

एशोसिएसनका अध्यक्ष मिनबहादुर श्रेष्ठका अनुसार मेलामा पुष्प उद्यमी, व्यवसायी, कम्पनीहरूको लागि पुष्प तथा पुष्पजन्य बस्तुको आफ्नो बजार बिस्तार गर्न, सूचना तथा नयाँ नयाँ प्रजातिको विकास र गुणस्तर उत्पादनका क्षेत्रमा भएको प्रगतिको बारे ग्राहकलाई जानकारी गराइने छ । यसका साथै ग्राहकका आवश्यकता थाहा पाउन, बजार सर्वेक्षण गर्ने, पुष्प सम्बन्धी नयाँ नयाँ विकास भएका उत्पादनहरूलाई सार्वजनिक गर्ने र ग्राहक उपभोक्तासँग आपसी सम्बन्ध स्थापना गर्ने अवसर उपलब्ध हुनेछ ।

घर आँगन बगैंचा सजाउन, ज्ञान सिप हासिल गर्न, अध्ययन अनुसन्धान गर्न चाहने व्यक्ति, संघ संस्थाहरूलाई यो मेलाले निकै महत्वपूर्ण सहयोग पुर्याउने आयोजकको दावी छ । 

एशोसिएसन नेपालका उपाध्यक्ष एवं मेला संयोजक सिताराम पन्तका अनुसार अवधिभर ५० हजार अवलोकन कर्ताद्वारा अवलोकन हुने तथा करिब एक करोडसम्मको व्यवसायीक कारोबार हुने अपेक्षा लिएको छ । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार