24.1 C
Kathmandu

मानसिक थकान मार्ने प्रतीक्षालय हो मुस्ताङ 

काठमाडौंको धुलो र धूवाँको रापमा थिचिएर थङथिलो भएको यात्रीले मुस्ताङको प्राकृतिक सौन्दर्यको स्वपान गर्दाको आनन्द व्यक्त गर्न सक्ने कुरै थिएन । सामुन्द्रिक सतहको उचाई देखी झण्डै ३८ सय मिटर उचाइमा रहेको मुस्ताङको मुक्तिनाथ यात्रा केबल धार्मिक मात्र होइन त्यो एउटा सभ्यताको अध्ययन हो, संस्कृतिको सम्मान हो अनि पुर्खाको आस्थाको धरोहर पनि हो । मुस्ताङ मानसिक थकान मार्ने एउटा प्रतीक्षालय हो, धार्मिक आस्थाको एउटा आँगन हो जहाँ हिन्दु र बौद्ध धर्मावलम्बीहरू जाने एकमात्र साझा थलो पनि हो । 

 

 

एउटै उद्देश्य लक्ष्य र सपना बोकेका हामी चार युवाको अगुवाइमा खोलिएको व्यवसायिक कम्पनीको योजनालाई सार्थकता दिन र साथीहरूबीच थप आत्मीयता बढाउने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर मुस्ताङको यात्रा गर्ने तय भयो तर एक साथीलाई मनाउन भने हामी तीनलाई निक्कै मेहनत गर्नु परयो तर मन नमिल्ने कुरै भएन मिति २०८० जेष्ठ ९ गते साँझ ७ बजे हामी गन्तव्यको लागि काठमाडौँबाट निस्कियौं । प्राइभेट विद्युतीय गाडीमा पोखरा सम्मको यात्रा गर्ने त्यसपछि मुस्ताङ यात्राको लागि अर्को गाडीको ब्यवस्था फोन मार्फत नै गरिएको थियो ।  यात्रा शुरु भयो तिता मिठा गफ गदै शुरु भएको यात्रा गाडीमा निदाउँदै मिठा गफ गदै गाडीको रफ्तारमा राती १२ बजेतिर साथीले चिनेको रेष्टुरेन्टमा खाना खायौ । पैसा तिरेर खाना खाएपनि हामीले राम्रो आतिथ्यता पायौ ।


रातीको ३ बजे पोखरा पुगियो पोखराको नाइट लाइफ नहेरी निन्द्रा लागेन र लाउन्ज गइयो केही समय बिताएर होटल आएर सुतेको १ घण्टापछि नै मुस्ताङको लागि हिडियो । पाको उमेरका अनुभबि सवारी चालक हरि ढकालको साथमा हामी बाग्लुङ बजार ठूलो रहेछ गाडीबाट नै घुमियो । बागलुङ भगवतीको दर्शनले मन आनन्दित बनायो । ठूलो आस्था रहेछ, त्यहाँका बासिन्दामा । मैले पहाडी क्षेत्रमा त्यत्रो व्यवस्थासहितको प्रबन्ध देखेको थिइन । भरपुर दर्शन गरियो । साथै गलेश्वर महादेवको दर्शन गदै बेनी नजिकै होटल कालीगण्डकी एण्ड थकाली भान्छा घरमा खाना खायौ । बेनीबाट मुक्तिनाथ जादाँ बाटोमा तातोपानी रहेछ । फर्किदा त्यहाँ बस्ने योजना साथ हामी अगाडि बढ्यौ । बाटोमा लोकल दही, लोकल केरा खादै हाम्रो यात्रा अगाडि बढ्यो ।

रमाइलो गफ कहिले संस्थागत र व्यवसायिक कुरा गदै यात्रा अगाडि बढ्यो । बाटोको दृश्य हेर्दै हाम्रो यात्रा अगाडि बढ्यो । तिब्बतबाट निस्किएर आएको कालीगण्डकी नदी चट्टानले बनेका गगनचुम्बी अग्ला पहाडहरूको खोँचबाट दक्षिणतर्फ बगेको रहेछ । नदी चट्टानले बनेका गगनचुम्बी अग्ला पहाडहरूको खोँचबाट दक्षिणतर्फ बगेको रहेछ । कालीगण्डकीको प्रवाह र त्यो दृश्यले हामीलाई रोमाञ्चित बनायो । हिमाली क्षेत्र चिसो स्वभाविकै थियो । कालीगण्डकीको किनारै किनार मोटर बाटो । सिधै उत्तर । बीच बीचमा सानातिना खोलाहरू हान्निएर कालीगण्डकीमा समाहित भएको देख्न पाईन्थ्यो । दृश्यहरू अत्यन्त लोभलाग्दो थिए । ठाउँ ठाउँमा आकाश साँघुरिएको देखिन्थ्यो । हिमाली बाटो ठूला ठूला चट्टानी पर्वतलाई छिचोल्दै गएको छ । अजगंका ती पहाडहरू कुम्भकर्ण झै चिरनिद्रामा छन् । काठमाडौं आसपासमा झै खानी सञ्चालनको नाममा जताततै चिथोरिएका छैनन् । अनन्त सौन्दर्य पस्किरहेका छन् । पहाडको छाती चिरेर निस्किएका झरनाले पीडा भन्दा आनन्द दिइरहेका छन । त्यसका केही दृश्य क्यामरा र मनमा कैद गर्दै हामी अघि बढ्यौँ साथमा मिठा जोक र रमाइलो कुराकानी त छँदै थियो । रुप्से झरनाले हाम्रो यात्रालाई थप उर्जा दियो । माथिबाट हामीलाई भेट्न आतुर भएर बगेको सेतो पानीको दाना शरीरमा पर्दा तरंग उत्पन्न हुन्थ्यो झण्डै ३० मिटर अग्लो रुप्सेलाई हामीले पनि चुनौती दिएजस्तै उसको तस्वीरहरू चोरिरह्यौ । तस्वीर खिच्नुभन्दा उसैलाई हेरिराख्नु हाम्रो यात्राको अर्को रमाइलो क्षण बन्यो । झरनालाई छोडेर थोरै माथी पुग्दा त्यहाँ बगेको एक मिटर चौडा र अत्याधिक गहिराईको कालिगण्डकी पनि सुतेर बगेकी झरनाजस्तै लाग्थ्यो । नजिकै पुगेपछि हिमालको घरमै प्रवेश गरेजस्तो भान हुन थाल्यो, हिमालले आफैं नजिक बनिदिएजस्तै गर्याे र थकित बनेका आँखामा निश्चल उर्जा भरिदियो ।

टुकुचे, मार्फामा केही समय हामी घुम्यौ टिकटक बनायौ र यात्रा जोमसोममा गएर रोकियो । मुस्ताङको सदरमुकाम जोमसोम भएपनि ठूलो रहेनछ । सेवाग्राही कमै होलान् । सरकारी अड्डा धाउनेभन्दा आफ्नो व्यवसाय राम्रोसँगले चले त भै गयो नी । गरेकै छन् । लोडसेडिङ रहेनछ । हामी त्यही बस्ने र भोलि पल्ट मुक्तिनाथ दर्शन गर्ने योजना बन्यौ । साँझ मुस्ताङ जिल्ला घरपझोङ्ग गाउँपालिकामा कार्यरत मित्र राजन कडेल र आशिष भण्डारीले गाउँपालिकामा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम गर्दा कसो होला भन्ने प्रस्ताव आयो । त्यो अवसरलाई हामीले गुमाउन चाहेनौ भोलि पल्ट (जेष्ठ ११) गते कार्यक्रम गर्ने र त्यसको चाँजोपाजो गर्ने जिम्मा प्रदिप जीलाई दिइयो । राती मिठो मुस्ताङे खानाको स्वादसँगै भोलि मुक्तिनाथ दर्शन गर्ने मनोकाङ्क्षा बोकेर निन्द्रादेवीको सरणमा गइयो ।

भोलि बिहानै सबेर यात्रा शुरु गरियो किनकी मन्दिर र दर्शन गरेर हामीले कार्यक्रम सकेर उपल्लो मुस्ताङको पनि यात्रा गर्नु थियो । निलगिरी र धौलागिरि हाम्रो दक्षिणमा थिए । त्यहाँ धौलागिरि र निलगिरी हिमालहरूको सुन्दर दृश्य हामीले हेर्न पायौँ। धौलागिरि दूधले धोएझैं सेतो थियो भने निलगिरी आकाशझैं निलो थियो । हामी मुक्तिनाथ पुग्यौं । मुक्तिनाथ हाम्रो गन्तव्यको शिखर । भगवान नारायणको बासस्थान । त्यो सुन्दरताको वर्णन गरेर साध्य छैन, अत्यन्त सुन्दर । त्यसैले होला महात्मा, साधुसन्त, भक्त प्रशासक, राजनीतिज्ञ, उद्योगी, व्यापारी, कलाकार, सर्वसाधारण सबैको आस्थाको पुञ्ज ।
मन्दिर दर्शन गर्न धेरै भारतीय तीर्थालु आएका थिए । माथिसम्म जान नसक्नेहरूका लागि घोडा र स्ट्रेचरको सुविधा पनि थियो। । हामी माथिसम्म नै हिँडेर जान तयार थियौं। ससाना पाइला चाल्दै हामी माथि पुग्यौं । धेरै भारतीय तीर्थालु आफूलाई मानिसको काँधमा बोक्न लगाएर मन्दिर दर्शन गर्न गइरहेका थिए । मन्दिरअघि दुइटा कुण्ड थिए । मन्दिरपछाडिको १०८ धारा थिए । हामीले पनि दौडेर पुरा गर्यौे त्यो कार्य । टाउको खाने चिसो रहेछ । त्यसपछि कुण्डमा डुबुल्की मार्नु पर्ने अरे, चिसोको पर्वाह नगरी मारियो ।

मुक्तिधाम अगाडिको कुण्डमा डुबेर पैसा निकाल्ने प्रचलनको नक्कल हामीले पनि ग¥यौं  पुजा कार्य भक्ति र प्रेमभावले आ आफ्नो मूल्य, मान्यता र स्वधर्म अनुसार सम्पन्न गरियो । धेरै फोटो खिचियो । कति धेरै धेरै प्रकृतिलाई जिस्क्याउने भोक थियो । फेरी आइपुग्ने नपुग्ने संयोग मात्र भएकोले धितमरुन्जे भगवानको समीपमा बसियो । नारायणको मन्दिर माथि, तल कालीगण्डकीले अविच्छिन्न शालिग्राम पस्कँदै प्रवाहित हुनु संयोग मात्र कहाँ हुन्थ्यो र ? सत्य थियो, त्यो लिला हैन भक्तलाई कृपा थियो भगवानको । भित्र देखिनै आनन्द लागेर आयो । त्यही सेवा गरेर बस्न पाए हुन्थ्यो भन्ने पनि कहिलेकाँही मनमा आउथ्यो । प्रकृतिको त्यो अनन्त स्वादपान गरेर । हामीले त्यहाँ भरपुर आनन्द अनुभूत गर्यौ । ३८१० मिटरको उचाइमा रहेको यो मन्दिरको वर्णन गरेर नसकिने रहेछ । मुक्तिनाथ दर्शनपछि युद्ध जितेको अनुभूति थियो । मुस्ताङ मानसिक थकान मार्ने एउटा प्रतीक्षालय हो, धार्मिक आस्थाको एउटा आँगन हो जहाँ हिन्दु र बौद्ध धर्मावलम्बीहरू जाने एकमात्र साझा थलो पनि हो । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार