8.1 C
Kathmandu

बाढीपीडितको सहयोगका लागि निर्धन उत्थान लघुवित्तको ३४ लाख बढी राहत

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले हालैको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा चौतीस लाख बत्तीस हजार दुई सय आठ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कोषबाट २५ लाख रुपैयाँ र कर्मचारीहरूका तर्फबाट सङ्कलित ९ लाख ३२ हजार २०८ रुपैयाँ गरी सो रकम कोषमा जम्मा गरिएको हो।

२०८३ भदौ १८ गते अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष जनार्दन देव पन्तले नेपाल सरकारका माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो। उक्त अवसरमा संस्थाका सञ्चालकद्वय, प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवको समेत उपस्थिति रहेको थियो।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका जिल्लामा ठूलो धनजनको क्षति भएको प्रति संस्थाले गहिरो दुःख व्यक्त गरेको छ। संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै बाढीका कारण अकालमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक-सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, विपत्तिको यस घडीमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल सरकार एवं विभिन्न सङ्घ-संस्थाहरूको सार्थक पहलप्रति ऐक्यबद्धतासमेत जनाएको छ।

नेपालमा ‘लघुवित्तका पिता’ स्वर्गीय डा. हरिहरदेव पन्तको नेतृत्वमा स्थापित निर्धन उत्थान लघुवित्त ग्रामीण बैंकिङ पद्धतिमा आधारित लघुवित्त सेवा सुरु गर्ने नेपालको पहिलो संस्था हो। संस्थाले हाल देशका ७७ वटै जिल्लामा रहेका १८५ वटा शाखा कार्यालयहरूमार्फत चार लाखभन्दा बढी विपन्न घरधुरीलाई निरन्तर लघुवित्त सेवा प्रदान गर्दै आएको संस्थाका वरिष्ठ व्यवस्थापक जिताराम गौतमले जानकारी दिनुभयो।

थप समाचार

ताजा समाचार