27.1 C
Kathmandu

जीवनले मृत्यु सङ्केत गरेको हुन्छ

जीवनलाई राम्रो रूपमा लिने वा नराम्रो रूपमा आ–आफ्नो ठाउँमा हुन सक्छ र जीवन कसरी चलाउने भन्ने विषय पनि त्यत्तिकै जटिल छ । जीवनले मृत्यु संकेत गरेको हुन्छ किनभने जन्मसँगै मृत्यु आएको हुन्छ । जन्म मुहान हो भने मृत्यु अन्तिम विश्रामस्थल । जन्म र मृत्युको विषयमा अनेक टिप्पणी हुन सक्छन् । तर, यो ब्रह्माण्डमा सत्य भनेको नै एक मात्र मृत्यु हो । मृत्युलाई कसैले टार्न सक्दैन र मृत्युको विकल्प पनि केही हुँदैन । तपाईं हामीलाई मन पर्ने भनेको जन्म नै हो । कुनै बच्चा जन्मियो भने घरका सबै सदस्य खुशी हुन्छन् र छरछिमेक पनि । तर, कुनै व्यक्तिको मृत्यु भयो भने घरपरिवार, इष्टमित्र, साथीसंगी सबै दुखित हुन्छन् । किनभने उनीहरूले आफूजस्तै मानिस गुमाएका हुन्छन् । ऊ कहिल्यै फर्किन सक्दैन । सदाका लागि बिदा भएको हुन्छ । मानिस यस कारण पनि दुखित हुन्छ कि कुनै समय ऊ आफैँ पनि यसरी नै मर्नुपर्छ । जीवनबारे धेरै विचार पाइन्छन् । जीवन अमूल्य वस्तु हो । यो अपार छ । विरलै प्राप्त हुने हुँदा यसलाई निरास बनाउनु हुँदैन र जतिसक्यो सुखमय बनाउन सक्नुपर्छ भन्ने एक प्रकारको विचार पाइन्छ । यसलाई भित्रैदेखि बुझ्ने हो भने त्यति महत्व दिनुपर्छ भन्ने छैन । जन्म हुनु र मृत्यु हुनु सामान्य कुरा हुन् । स्वाभाविक प्रक्रियाबाट मानिस जन्मिन्छ र स्वाभाविक प्रक्रियाबाटै मृत्यु हुन्छ भने किन यसबारे टाउको दुखाउने ? सहज रूपमा लिनुपर्छ भन्ने अर्को विचार छ । यो मूलतः आध्यात्मिक चिन्तन मननमा भर पर्छ ।

तपाईंले चलाउने जीवन र मैले चलाउने जीवनमा ठूलो खाडल हुन सक्छ । तपाईं धनी परिवारमा जन्मिएको हुन सक्नुहुन्छ भने म गरिब परिवारमा । तपाईंले उपभोग गरेका वस्तु प्रयोग त के मैले देखेको पनि हुन्न होला । यस कारण तपाईंको जीवनशैली मापनको बाटो भौतिक रूपले सुविधा सम्पन्न हुन्छ । तपाईंको बस्ने घर, खाने वस्तु र प्रयोग गर्ने सामग्री निकै उच्च कोटीका हुन सक्छन् । तपाईंको जीवनशैली यस्ता कुरामा अभ्यस्त भएका हुन्छन् । नयाँनयाँ आधुनिक वस्तुको प्रयोगबाट तपाईंको जीवनयापन चलेको हुन्छ । अर्कोतर्फ मेरो जन्म निम्न परिवारमा भएको छ भने तपाईंको र मेरो जीवनयापनको शैली एकदम फरक हुन्छ । यस्तो फरक हुन्छ कि मापन नै गर्न सकिँदैन । म र तपाईँमा तुलना नै गर्न सकिँदैन । अर्थात् आकाशपातालको हुन्छ । यसरी तपाईं आफैँले बुझ्न सक्नुहुन्छ जीवनको अर्थ र परिभाषा । मेरो जीवनशैली निकै तल्लो तहको छ । मानौँ बिहानबेलुकी खान पुग्ने । एक सरो लाउन पुग्ने र एउटा सानो कटेरो । म यसैमा रमाएको हुन्छु र मलाई सामान्य गाँस, बास र कपास भए पुगिहाल्छ । यसभन्दा बढी मेरो चाहना नै हुँदैन किनभने मेरो औकात नै छैन बढी चाहनाको । तपाईंको जीवनशैलीमा म कहिले पनि पुग्न नसक्ने भएकाले म त्यस्तो कल्पना नै गर्न सक्दिनँ । यसरी प्रत्येक मानिसको प्रत्येक जीवनशैली हुन सक्छ ।

जीवनयापन मापन उच्च हुनुमा मुख्य कारण भनेको धन सम्पत्ति नै देखिन्छ । कुनै मानिससँग अकुत सम्पत्ति छ भने त्यो सम्पत्ति कहीँ लगेर प्रयोग गर्नै पर्‍यो । त्यसकारण यस्ता मानिसले आफ्नो सम्पत्ति अनैतिक कार्यमा खर्चिएका हुन्छन् । जुन पैसाले व्यक्ति वा समाजलाई नै विकृत बनाएको हुन्छ । समाज बिगार्ने भनेकै यस्ता मानिसबाट हो । सामान्य मानिसबाट नराम्रा काम हुन सक्दैनन् किनभने त्यहाँ उनीहरू पुग्नै सकेका हुँदैनन् । उनीहरूलाई आफ्नै रोजीरोटीको जोहो गर्न मुस्किल भएको हुन्छ । नराम्रा काम गर्नेतर्फ उनीहरूको मनै जान सक्दैन । उनीहरूको ह्याउ नै हुँदैन । हामीले के बुझ्नुपर्छ भने कतिपय मानिस त्यसै अर्बपति भएका होइनन् । उनीहरूले गरेका दुःख र परिश्रम तर्फ पनि ध्यान दिनुपर्छ । विश्वका धनी व्यक्तिले कहिले पनि ठगेर, अनैतिक काम गरेर, गैरकानुनी काम गरेर पैसा कमाएका होइनन् । अर्कोतर्फ कतिपय मानिस अरुलाई धनी देखेर डाहाले भुतुक्क भएका पनि हुन्छन् । उनीहरूलाई परिश्रम गरेर धनी हुन मनै लाग्दैन । छोटो समयमा तुरुन्त कसरी धनी हुने भन्ने लालसाले भुतुक्क भएका हुन्छन् । दिनरात नराम्रो सोचाइतिर मात्र लागेका हुन्छन् । धन कमाउन सजिलो उपाय खोजिरहेका हुन्छन् । अर्थात् नराम्रा बाटा ।

अहिले समाजमा यस्तै मानिसको बोली बिकिरहेको पाइन्छ । पैसा भयो भने सबथोक हुन्छ भन्ने विचारले प्रश्रय पाइरहेको हुन्छ । बुझ्नुपर्ने कुरा के हो भने पैसा मात्र सबै कुरा होइन । सबै कुरा त मानिसको आचरणमा भर पर्छ । पैसाको सदुपयोग गर्न सकिएन भने जीवन नै बर्बाद हुन सक्छ । यस्ता घटना तपाईंहामी देख्दै आएकै छौं । तपाईँहामीलाई राम्रोसँग बाँच्नुपरेको छ । जीवन राम्रोसँग चलाउनु छ । मनमा पीर चिन्ता नलिएर जीवन चलाउनु छ । जीवनलाई सुखमय भन्दा पनि खुशीमय बनाउनु छ । जीवनमा सन्तुष्ट लिन सकिने उपाय धेरै छन् । तिनीहरूलाई कसरी प्राप्त गर्ने भन्नेतर्फ नै लाग्नुपर्छ । जीवनलाई खुशीमय तथा सन्तुष्ट बनाउनुपर्छ । खुशीमय जीवनको अन्त्य कहिल्यै हुँदैन । सधैँ सन्तुष्ट भइरहन्छ । अर्कोतर्फ सुखमय जीवन जहिले पनि असन्तुष्ट हुन्छ । आज १० लाख कमायो । भोलि २० लाख कमायो । पर्सि ३० लाख कमायो । कमाउने तृष्णा जहिले पनि भइरहन्छ र जसरी भए पनि कमाउन मात्र मन लाग्छ । यही कमाउने धन्धामै जीवन सकिएको हुन्छ । यसको कहिल्यै अन्त्य हुँदैन । सधैँ कमाएको छ, कमाएको । त्यसकारण कमाउने कामको कहिल्यै अन्त्य नहुने र कहिल्यै कमाएर नपुग्ने भएपछि त्यस्तो कामतिर किन लाग्ने ? थोरै आर्जन गरेर पनि तपाईं राम्रोसँग जीवनयापन गर्न सक्नुहुन्छ भने किन अकुत सम्पत्ति थुपार्नेतिर लागिरहनु हुन्छ ? नलाग्नु नै वेश !

जीवन रहस्यै रहस्यबाट बनेको छ । त्यसकारण हामी कसैले पनि जीवनलाई बुझ्न सकिरहेका छैनौ । नबुझेको भएरै होला धनसम्पत्ति नै सबथोक हो भनेर हिँडेका छौँ । धनकै लागि भ्रष्टाचारका ठुल्ठूला काण्ड हुन्छन् । सम्पत्ति जोड्नकै लागि मुद्दामामिला गरिन्छन् । धनकै लागि बोलचाल हुँदैन । जग्गाजमिन मिचेर, साँध किल्ला परिवर्तन गरेर भए पनि धनी हुने उपाय खोजिरहेका हुन्छन् । नभएको हक बनाउँछन् । त्यस्तैगरी धनी हुनकै लागि व्यापारीहरू मूल्य बढाउँछन् । कर छल्छन् । कर तिर्दैनन् र तिरे पनि थोरै तिर्छन् । मानिसहरू दलाली गर्छन् । छलछाम गर्छन् । सम्पत्ति लुकाइ छिपाइ गर्छन् । यस्ता कार्यले मानिसलाई लोभी पापी र अधर्मी मात्र बनाउँछ । जीवनको अर्थ नबुझेरै मानिस यस्ता काममा लागेका हुन्छन् ।  जीवनबारे तपाईंहामी एकैछिन घोत्लिन सक्यौँ भने पनि हाम्रो दिमागमा धेरै राम्रा कुरा आउन सक्छन् । राम्रो विचारले नै मानिसलाई राम्रो बाटोतिर लाने हो । मानिसका लागि उसको विचार नै प्रधान हो । तर, के गर्ने हामीमा राम्रो विचार गर्ने भित्री इच्छा नै हुँदैन । झलझली आँखामा सम्पत्ति मात्र देखेपछि राम्रो बाटो खोज्नेतर्फ मनै गएको हुँदैन । यो नै मानिसको गलत बुझाइ हो ।

जीवनलाई जति बुझ्न सक्यो उति आनन्द आउँछ । जन्म र मृत्यु नै जीवनको यथार्थ हो । जन्मिँदा मानिस खुसी हुन्छ । किन खुसी हुने रु के हामीसँग उत्तर छ रु छैन । हामी त्यसै खुसी भइरहेका हुन्छौँ । कसैको मृत्यु हुँदा दुःखी हुन्छौँ । किन दुखित भएका हुन्छौँ ?  उत्तर छैन । त्यसै खुसी भएका हुन्छौं । त्यसै दुखित भएका हुन्छौँ । जीवनलाई नबुझेरै कहिले खुसी, कहिले दुःखी हुन्छौं । मानिस यो धर्तीमा रित्तै आएको हुन्छ । जन्मिँदा एक/एक टुक्रा साथमा कपडा पनि लिएर आएको हुँदैन । मर्दा पनि केही लगेको हुँदैन । लाज छोपेको कपडासमेत फुकालेर नांगै पारेका हुन्छन् । कस्तो अनौठो लाग्छ, मानिसलाई जलाउँदा पनि नांगै बनाइदिन्छन् । त्यसकारण जन्मिँदा न केही ल्याएको हुन्छ, न मर्दा केही लिएर गएको हुन्छ भने व्यर्थै अरुलाई अन्याय गरेर सम्पत्ति किन जोड्ने ?  तर, मृत्यु नहुन्जेल बाँच्नका लागि भने केही वस्तु संग्रह त गर्नै पर्छ । यस्ता कुरा बुझ्न सकियो भने नराम्रो काम गर्नेतिर मानिसको मन कसरी जान सक्छ र रु नबुझेर मात्र मानिसले दुःख पाउने हो । बुझ्न सक्यो भने जीवन सरल छ ।

जीवनको उत्तरार्धमा आइपुग्दा त मानिसका आवश्यकता र चाहना यसरी खुम्चिएका हुन्छन् कि एकदम न्यून वस्तु भए पनि पुग्ने हुन्छ । चाहिने भनेको ५ अङ्क मात्र रहेछ । ५ मुठी अन्न भए पुगिहाल्दो रहेछ बिहान बेलुकीको लागि । ५ फिट जग्गा भए पुगि हाल्दो रहेछ बस्नका लागि । ५ हात कपडा भए पुगी हाल्दो रहेछ शरीर ढाक्न । ५ फिटको आकाश भए पनि पुगीहाल्दो रहेछ सास फेर्न । ५ जना सन्तान भए पुगीहाल्दोरहेछ अन्तिम अवस्थामा । ५ जना मलामी भए पुगीहाल्दो रहेछ, धेरै जम्मा गर्नुको पनि के अर्थ हुन्छ र ? ५ हात कपडा भए पुगिहाल्दो रहेछ मृत्यु हुँदा पनि कस्तो अनौठो । तपाईं आफ्नो पीडा कतै पोख्नु छ भने धेरै मानिसलाई सुनाउनुको पनि त के काम छ र ? सुनाएर पनि त कसैले सुन्दैनन् भने किन मानिस खोजिरहनुहुन्छ ?  ५ जना तपाईँका शुभचिन्तक भए पुगिहाल्छ नि !

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार