27.1 C
Kathmandu

इलामको निर्वाचनले दिएको सन्देश

अहिलेसम्म इलामले दुई वटा कुराको निर्णय ग¥यो । पहिलो, रास्वपाको लिटमस टेस्ट । दोस्रो, नेपालीमा राजनीतिमा वंशवाद अझै सकिएको छैन । योसँगै जोडिएको सन्देशचाहिँ नेपालमा वामपन्थी ध्रुवीकरण भयो भने अझै पनि नेपालमा कम्युनिष्टलाई पछाडि पार्न सहज छैन । सुरुमा पहिलो सन्देश रास्वपाको लिटमस टेस्टकै कुरा गरौँ । एक वर्षअघिको उपनिर्वाचनमा चितवनमा जितेर र तनहुँमा खाता खोलेर हौसिएको रास्वपालाई इलामले ऐना देखाइदियो । उसले प्रस्ट भन्यो, ‘तिमी एक वर्षमै पुरानो मात्र हैन, जडौरी भइसक्यौ । अरूले लुटेको देख्न नसकेर डाका मार्न आएका रहेछौँ । डाकाभन्दा लुटेरा नै ठीक । कम्तीमा ज्यान त लिँदैन ।’ इलाम जित्न रास्वपाले न्वारानदेखिको बल लगाएको थियो । पार्टी सभापति, उपसभापति, महासचिवलगायत सारा पार्टी हाइकमान्ड मात्र हैन, पार्टीका सबै मन्त्री पनि इलाममा उतारेको थियो । स्टार क्याम्पेनर भनिएका डा. स्वर्णिम वाग्लेले पूरै डेरा जमाएका थिए । यति सारा गर्दा पनि इलाममा रास्वपा पराजित मात्र भएन, सर्मनाक पराजित भयो । यो हार रूपमा मिलन लिम्बूको भए पनि सारमा सम्पूर्ण रास्वपा नै हा¥यो । अझ, भनौँ रास्वपा भनेकै रवि लामिछाने जस्तो देखिन्छ, यस अर्थमा यो रवि लामिछाने नै लज्जास्पद हार भयो ।

रास्वपा इलाममा जित्नेवाला थिएन । किनकि, पहिलो त उसँग त्यहाँ संगठन नै थिएन । दोस्रो, उसँग कुनै एजेन्डा पनि थिएन । तेस्रो ऊ सरकार पक्ष थियो । चौथो र सबैभन्दा महत्त्वपूर्ण कुरा रास्वपा सभापति रवि लामिछाने एक सहकारी ठगी आरोपीका रूपमा इलाम पुगेका थिए । यसअघि उनले चाल्ने गरेका सारा तिकडमहरू दुक्की दाउ भइरहेका थिए । २१ थान सांसदलाई ढाल बनाएर सरकारमा पुगेका उनको नियत र ल्याकत दुवै पर्दाफास भैसकेको थियो । यस्तो अवस्थामा उनको डुंगा पार लाग्नेवाला नै थिएन । इलाममा शर्मनाक हारेको रास्वपाले अब के भन्छ ? ‘इलाम जितिसकेका छौँ, मत गन्ने औपचारिकता मात्र बाँकी हो’ भन्ने रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले के भन्छन् ? समग्रमा यो निर्वाचनको मूल्याङ्कन रास्वपाले कसरी गर्छ ? अहिले नै केही भन्न सकिन्न । तर, रास्वपाको गति र मति दुबैमा अब गम्भीर धक्का लाग्ने छ । जितको उन्माद मात्रै देखेको रास्वपालाई यो हार पचाउन निक्कै हजमोला खानुपर्ने हुन्छ । यसै पनि रास्वपाको सहने क्षमता कम छ । छिट्टै तात्ने, छिट्टै सेलाउने हलुङ्गो जस्तै हो यो । किनकि, यसले राजनीतिको स्वाभाविक ‘पेस’ समात्न सकेकै छैन । तर, रास्वपाले जे मूल्याङ्कन गरेर लाज बचाउन खोजे पनि इलामले उसको हैसियतको ऐना देखाइदियो । उसका लागि २०७९ को चुनावको परिणाम नै न भूत न भविष्य हो । अब उसका लागि थप असहज दिन सुरु हुन्छन् ।

यसै पनि सहकारी ठगी प्रकरणले रवि लामिछाने र रास्वपालाई हायलकायल बनाएको छ । यसै पनि सधैँ पेचिलो हुने गृह प्रशासन रविका लागि बोकाको मुखमा कुभिन्डोजस्तै हो । मात्र, आफ्ना काला कर्तुत छोप्न गृह मन्त्रालय रोजेका त्यहाँ त्यति मात्र हैन, अरू पनि धेरै गर्नुपर्ने हुन्छ भन्ने उसले बुझेकै छैनन् । त्यो उनको ल्याकतभन्दा धेरै ठूलो कुरा हो । अहिले नै उनका लागि प्रहरीको सरुवा बढुवा निल्नु न ओकल्नु भैसकेको छ । अब बिस्तारै उनी अरू रक्षात्मक हुने स्थिति सिर्जना हुन्छ । सरकारका लागि पनि रवि टोक्नु न बोक्नु भएका छन् । खास गरी सरकारको नेतृत्व गरिरहेका प्रचण्डका लागि त ‘नखाऊँ भने दिनभरीको सिकार, खाऊँ भने कान्छा बाबुको अनुहार’ नै भएका छन् । सरकारमा रहेको नेकपा एसका अध्यक्ष माधव नेपाल यसै पनि एमाले र माओवादीको पेलाइबाट आजित छन् । उनले कांग्रेससँग उठबस बढाएका छन् । उनलाई थाहा छ, राजनीतिक जीवनमा केही गर्ने अन्तिम अवसर यही हो । उनको चञ्चलतासँगै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको पनि चञ्चलता बढ्छ । यो सबै परिस्थिति पेचिलो हुँदै गयो भने यो सरकार ढल्न कुनै बेर लाग्दैन । त्यो बेला रविको रास्वपा सरकार बाहिर हुन्छ । अब कांग्रेस सत्तामा पुग्यो भने रविका लागि त्यही नै गलपासो हुन्छ । रवि र स्वर्णिम मिलेर यस बीचमा कांग्रेसलाई धेरै नै चिढाइसकेका छन् । यो दूरी उनका लागि महँगो पर्ने निश्चित छ । कांग्रेस सत्तामा फर्क्यो भने रविको दोहोरो राहदानी कुनै पनि दिन ब्युँतेर उनी जेलको चिसो छिँडीमा पुग्न सक्छन् । गर्दनमाथि झुन्डिरहेको सहकारीको स्याँगी त यसै पनि कुनै दिन झर्छ नै ।

यो निर्वाचनले नेकपा एसका सम्मानित नेता झलनाथ खनाललाई उनको गृह जिल्ला इलामले स्पष्ट सन्देश दिएको छ । अब इलामलाई खनाल र उनको पार्टी नेकपा एस चाहिँदैन । खनालमार्फत इलामेली वामपन्थी मतदाताले नेकपा एसका अध्यक्ष माधव नेपाललाई पनि तुष्टिको राजनीतिको कुनै काम नभएको सन्देश दिएका छन् । कुनै पनि किसिमको ‘फेस सेभिङ’ गरेर वामपन्थी ध्रुवीकरणलाई मार्गप्रशस्त गर्नु नै उनका लागि बुद्धिमानी हुने छ । इलाममा यसपटक नेकपा एस बाहेकका अन्य वामपन्थी दलले एमाले उम्मेदवारलाई सघाए । इलाममा एमालेको चट्टानी संगठन छ । यो सङ्गठनले जस्तोसुकै प्रतिकुलतामा पनि आफ्नो पक्षमा परिणाम ल्याउन सक्ने हैसियत राख्छ भन्ने पटक पटक प्रमाणित गरेको छ । एमालेको जितमा ठूलो मत त एमालेको सङ्गठित मत नै हो । तर, माओवादीले आफ्नो उम्मेदवार उठाएको भए त्यसले कांग्रेसको जितलाई मार्ग प्रशस्त गर्ने थियो । त्यसो गर्दा पहिला त वामपन्थी विभाजित भएकाले उनीहरूले जित्दैनन् भन्ने सन्देश जान्थ्यो । दोस्रो, माओवादीले आफ्नो उम्मेदवारमार्फत मत सुरक्षित गर्दा त्यो मत आफैँ पनि एमाले हराउन पर्याप्त हुन्थ्यो। समग्रमा फेरि पनि वामपन्थी राजनीतिलाई अलि परसम्म पुर्याउने हो भने नेपालका वामपन्थी एक ठाउँमा नआई विकल्प नै छैन भन्ने सन्देश पनि इलामले दिएको छ । यो सुन्नुपर्ने पहिलो व्यक्ति फेरि पनि एमाले अध्यक्ष केपी शर्मा ओली नै हुन् । उनले सुनेर प्रचण्ड र माधव नेपाललाई पनि सुनाउन जाँगर चलाए भने नेपालमा वामपन्थी ध्रुवीकरण सम्भव छ । बहुमत होइन, दुईतिहाइ नै सम्भव छ ।

इलामले कांग्रेसलाई सन्देश दिएको छ । त्यो सन्देश भनेको गुट, उपगुटमा बाँडिन हैन, मनदेखि नै मिल्नलाई हो । यदि कांग्रेसमा शेखर कोइराला र शेरबहादुर देउवा क्याम्प हुँदैनथ्यो भने इलाममा यसपटक कांग्रेसको पक्षमा परिणाम आउन सक्थ्यो । तर, जति नै प्रयास गरे पनि धार्नी नपुग्ने गरी उफ्रिरहेका कांग्रेसी भ्यागुताहरूले यसपटक पनि इलाम धार्नी पुर्याएनन् । कांग्रेसमा यो कुनै नयाँ रोग हैन । कृष्णप्रसाद भट्टराई हार्दा खुसी हुने गिरिजाप्रसाद कोइराला मार्काका कांग्रेस हिजो पनि थिए, आज पनि छन् । इलाममा डम्बर खड्का हार्दा भेषराज आचार्य हाँस्न नमिले पनि भेषराजमार्काका इलामे काङ्ग्रेसहरू चियावारीतिर हाँसिरहेकै होलान् । कांग्रेस भित्रको अन्तरपार्टी मन मिलाइ कांग्रेसको स्वास्थ्यको लागि त आवश्यक छ नै, देशको भलाइका लागि पनि नभई नहुने भैसकेको छ । इलामको अर्को सन्देश पहिचानको वकालत पनि हो । इलामले जित्ने सङ्ख्यामा पहिचानवादीलाई मत नदिए पनि यो मतलाई कोशी प्रदेशमा नजरअन्दाज गर्न सकिन्न भन्ने प्रस्ट सन्देश दिएका छन् । मुढामा त गजब सङ्ख्यामा मत खस्यो नै, अरू पार्टी पनि पहिचानको विपक्षमा चुँसम्म गर्न सकेनन्, उल्टै हामी पनि पहिचान विरोधी हैनौँ भनेर साखुल्ले हुने स्थितिमा पुग्नु प¥यो । यसले के देखाउँछ भने खास गरी पूर्वी पहाड पहिचानको पक्षमा छ । यसलाई बेलैमा सम्बोधन गरिएन भने भविष्यमा यो पृथकतावादी आन्दोलनको आधार पनि बन्न सक्छ ।

समग्रमा इलामले सारा नेपालको ध्यान तानेर एउटा परिपक्व निर्णय गरेको छ । इलामले एमालेको वंशवादलाई मोहर लगाएर पूरै ठीक त गरेन तर कांग्रेसलाई नै हराउन कांग्रेस लागेको यो आत्मघाती चुनावमा इलामले यो भन्दा फरक परिणाम पनि दिन सक्दैन थियो । कांग्रेस एक भएर आफ्नो पक्षमा परिणाम ल्याउन सकेको भए इलाममा वंशवाद पनि पराजित हुन्थ्यो, नयाँ चटकेको चटक पनि सकिन्थ्यो । त्यसले एमालेको पक्षमा एक सांसद कम भए पनि तात्त्विक फरक पार्ने थिएन, न कांग्रेसको पक्षमा एक थान सांसद थपिदा त्यसले सिंहदरवारको अंकगणितलाई नै फरक पार्थ्यो । त्यसो गर्न नसके पनि इलामले आफ्नो माटोमा जन्मेको सबैभन्दा ठूलो राजनीतिक छोरो सुवास नेम्बाङको छोरालाई समवेदनाको मत दिएर उनलाई राजनीतिक श्रद्धाञ्जली दियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार