26.1 C
Kathmandu

हामी गौरवशाली हिन्दु हौँ

नेपालको इतिहास र पहिचान यहाँका मौलिक धर्म, संस्कृति, परम्परा, ज्ञान विज्ञान तथा प्राकृतिक भूगोल नै हुन् । हामी हिन्दु हौँ, मैले कसैलाई सफाइ दिन्नँ र, दिनु पनि छैन । यो विविधता समाजवाद वा साम्यवादले अथवा लोकतन्त्रले निर्माण गरेको होइन । विविधतालाई विरोधाभास ठान्ने र तह लगाउने संस्कृति नेपालीको होइन । त्यसैले हिन्दु संस्कृतिउपर बढ्दो अत्याचार, घृणावाद तथा सीमान्तकृत व्यवहारका विरुद्ध म रोकिने छैन । सत्यले पोल्छ । यसको अर्थ सत्यलाई खोलामा बगाएर सेलाउन मिल्दैन । इसाई वा मुस्लिम समुदायको विरोध गरेर, तिनको उछितो काडेर धर्मपरिवर्तन रोकिन्न । धर्मनिरपेक्षताको आड लिएर धर्मपरिवर्तनलाई राज्य र राज्यका संचालक राजनैतिक पार्टीहरूले नै उक्साएका छन्, सघाएका छन् र सुरक्षा दिएका छन् । जब यस्तो षड्यन्त्रविरुद्ध एउटा सचेत मौलिकताका पक्षधरले आवाज उठाउँछ, यी सबै मिलेर सम्बन्धित व्यक्ति वा समुदायलाई चरम तिरस्कार गर्छन् । राजनीति र राज्यले संरक्षण गर्नुपर्ने विश्वको सबै भन्दा प्राचीन जीवन्त संस्कृतिको विनासका लागि राज्यतन्त्र नै धर्मनिरपेक्षताको छातामुनि लुकेर धर्मपरिवर्तन गराउने शक्तिसँग चोचोमोचो गरेपछि आफ्नो पहिचानको रक्षामा कलम चलाउनैपर्छ ।

कुनै पनि हिन्दू, बौद्ध वा किरात मुस्लिम वा इसाईका विरुद्ध छैनन् । यदि विरुद्ध हुन्थे भने नेपालमा यिनको सम्मानजनक उपस्थिति हुने नै थिएन । अर्को कुरा, सहज र सरल रूपमा आफ्नो संस्कृतिको अभ्यास गर्ने मुस्लिम वा इसाईले धर्मपरिवर्तन गराउन खेतखलिहान चाहँदैनन् । हिन्दुसँग घृणा गर्ने राजनैतिक दलहरूको संरक्षण प्राप्त नहुने हो भने धर्मपरिवर्तनकारी परजीवीहरू ‘खेतखलिहान’ मा पुग्न सम्भव छ रु संविधानको ठाडो उल्लंघन गर्नेलाई राज्यले पुरस्कृत गरिरहेको छ भने संविधानको रक्षाका लागि आवाज उठाउने हिन्दूहरूलाई राज्यले हेपेको छ । संस्कृति, धर्म र इतिहासका सवालमा म उनीहरूभन्दा बढी ‘निर्लज्ज’ छु । मैले आफ्नो पहिचानको रक्षा र निरन्तरताका लागि लोकतन्त्र, समाजवाद, साम्यवादजस्ता सबै प्रतिमानहरूसँग सङ्घर्ष गर्न सक्छु । यदि यिनै प्रतिमानहरूले मेरो एकमात्र पहिचान ‘सनातन संस्कृति’ रक्षा गर्ने व्यवस्था गर्छन् भने यीप्रति मेरो कुनै गुनासो हुने छैन । लोकतन्त्रका नाममा ‘वैदिक संस्कृतिको उछितो काट्नेसँग’ सम्झौताको कुनै सम्भावना छैन । नेपालीले विगत ३५०० वर्षदेखि सहअस्तित्व र समावेशीपनको अभ्यास गरिरहेका छन् । विश्वका अनेकौँ संस्कृतिहरू ‘निमिट्यान्न पारेको रगत’ बोकेकाहरूले नेपालीहरूलाई सहअस्तित्व र समावेशीपन सिकाउनु विश्वको सबैभन्दा भद्दा ‘कमेडी’ हो ।

तिमीले मलाई मार्न सक्छौ तर मेरो विश्वास, विचार र इतिहासलाई मार्न सक्दैनौ । तिमीले बोकेर हिँडेको विश्वाससँग नेपालको ‘गोरु बेचेको नाता’ सम्म छैन । यदि नाता पर्थ्यो भने २००७ देखि २०८० सालसम्म नेपालले विकासको फड्को मार्थ्यो । अमेरिकीहरू सगरमाथामा जागिर खोज्न आउँथे । क्यानाडाले क्रयोजनिक इन्जनको टेक्नोलोजी किन्थ्यो । हरेक नेपालीसँग विश्वको सबै महँगो कार, आइफोन र विश्वविद्यालय हुन्थ्यो । अब बकम्फुसे ‘विकास, अग्रगमन, वैज्ञानिकता, समाजवाद तथा समानता’ का गफ सुन्न कसैलाई इच्छा छैन । तिमीले वास्तविक ‘लोकतन्त्र’ दिन सकेनौ, बरू भएको आफ्नो संस्कृति र मौलिक पहिचानसमेत खरानी पार्ने आत्मघाती दस्ताहरूको नेतृत्व गरिरहेका छौ । यो देशमा कट्टरता फैलाउनेहरू अरू छन्, म र मजस्ता व्यक्तिहरूले कट्टरताको कल्पना पनि गर्न सक्दैनन् । मन्दिरहरूको शहर (काठमाडौं) उपत्यकामा बसेर, यहाँको प्राकृतिक सुविधाहरू उपयोग गरेर यहीँका देवीदेवताहरूलाई ‘शैतान’ भन्दै मोहम्मद इलियासको बाटोमा म हिँडेको छैन । कसैलाई हिँड्न प्रेरित गरेको छैन । मैले आफ्नो कट्टरता लुकाउन ‘धर्मनिरपेक्षता’को राजनैतिक छाता ओढ्न कसैलाई प्रेरित गरेको छैन । मैले त यतिमात्र भानिरहेको छु कि नेपाल वैदिक सनातन धर्मको उद्गमस्थल हो, हामी नेपालीहरू यसका उत्तराधिकारी हौँ र एउटा उत्तराधिकारीको रूपमा स्रोतको रक्षा गर्नु, यसको निरन्तरता सुनिश्चित गर्नु र यसका असल पक्षहरूलाई विश्वव्यापी बनाएर नेपाललाई विश्वको केन्द्र बनाउनु हाम्रो दायित्व हो । मेरो यो बुझाइ र आह्वानले कसैको छाती चिरिन्छ भने त्यो चिरिनुपर्छ । आफ्नो मौलिकताको पक्षमा बोल्नु, लेख्नु र त्यसको रक्षाका लागि प्रयास गर्नु यदि कट्टरता हो भने हरेक नेपालीका लागि गौरवको कुरा हो ।

जुन बखत पश्चिमी देशका प्रधानमन्त्रीले झैँ खुलारूपमा अन्य समुदायको अपमान वा अवमानना नगरी शपथग्रहण ग्रहण गरेर श्रीपशुपतिनाथमा आशीर्वाद लिन जाने छन्, त्यो मितिदेखि नेपालको राजनीतिमा स्थिरता र विश्वले विश्वास गर्नेछ । देशका ८२ प्रतिशत जनताको मान मर्दन गरेर स्थायित्व खोज्नु बालुवा पेलेर तेल निकाल्ने प्रयत्न गर्नुसरह हो । आजको नेपाल पृथ्वीनारायणको कानुनले वा २००७ अथवा २०४७ को न्यायिक व्यवस्थाले चल्दैन । विश्व धेरै अगाडि बढिसकेको छ । परिवर्तनमा स्थिरता खोज्नु मान्छेको स्वभाव हो । नेपालका हकमा भने गतार्थ भइसकेका विदेशी राजनीति र धर्मनिरपेक्षताको खोल ओढाएर सन् १९१७ को समय लादिन खोजिँदै छ । राजनीति होस् वा धर्म ‘तेतै’ को थोपरिँदै छ । यी हरफ पढ्दा सन् १९१७ तिरका विकासे जडवादीहरूको कन्सिरीको रौँ तात्ने छन् तर नेपालीको समसामयिक विकास नहुनुमा सन् १७८९ र सन् १९१७ बोकेर हिँड्नु हो । वास्तविक तत्थ्य के हो भने यी दुवै तारिखहरूसँग नेपाली समाजको कुनै नातो छैन तर यी तारिखका नाठाहरू भने छन् ।

जबसम्म यहाँका राजनैतिक नेतृत्वले नेपालको मौलिक संस्कृतिमा आधारित मौलिकतासँग आधुनिकताको (जापानझैँ) समन्वय गर्दैनन् तबसम्म नेपालको विकास हुँदैन । नेपाली जनता विकास चाहन्छन् तर आफ्नो मौलिकता छोड्ने वा त्याग्ने शर्त स्वीकार्य हुँदैन । साथै, देशको ८२ प्रतिशत हिन्दु जनसङ्ख्याको मानमर्दन गरेर, यिनको पहिचान मेटाएर, विदेशी शरणार्थीको काल्पनिक इतिहास पढाएर कुनै पनि राजनैतिक शक्तिले सफलता प्राप्त गर्न सक्दैन । जुन बखत पश्चिमी देशका प्रधानमन्त्रीले झैँ खुलारूपमा अन्य समुदायको अपमान वा अवमानना नगरी शपथग्रहण ग्रहण गरेर श्रीपशुपतिनाथमा आशीर्वाद लिन जाने छन्, त्यो मितिदेखि नेपालको राजनीतिमा स्थिरता र विश्वले विश्वास गर्नेछ । देशका ८२ प्रतिशत जनताको मान मर्दन गरेर स्थायित्व खोज्नु बालुवा पेलेर तेल निकाल्ने प्रयत्न गर्नुसरह हो । देशका हरेक नागरिक समान हुन् । कसैले कसैको अपमान गर्ने छूट छैन । सबैलाई आफ्नो धर्मसंस्कृतिको रक्षा गर्ने स्वतन्त्रता प्राप्त छ । यस्तो व्यवस्थामा हिन्दुहरूलाई पनि प्राकृतिक रूपमा आत्मसुरक्षा गर्ने अधिकार छ । मैले मेरो प्राण रहेसम्म हिन्दुहरूको आत्मरक्षा र सम्मानका लागि आवाज उठाइरहने छु । यो आवाज देशका गैरहिन्दू समुदायका विरुद्ध कत्ति पनि होइन । यो आवाज देशको मौलिक सभ्यता अर्थात् सनातन वैदिक हिन्दु संस्कृतिको निरन्तरताका लागि हो । आत्मरक्षा र आफ्नो ऐतिहासिक पहिचानको रक्षाका लागि हो । म तिम्रा धम्कीबाट डराएको छैन । तिमीले मेरो प्राण लिन सक्छौ तर मेरो विश्वास र सनातन धर्मको आदिथलोका रूपमा नेपालको पहिचान मेटाउन सक्ने छैनौ ।

अन्त्यमा भन्न चाहन्छु, हामी सनातनी कसैलाई घृणा नगरौँ, सबैलाई प्रेम गरौँ तर हाम्रो धर्म, संस्कृति, ज्ञान–विज्ञान मेटाएर हाम्रो मौलिक चिनारी (परिचय) मेटाउनेहरूसँग नझुकौँ । हामी अमृत कर्मतिर अग्रसर हुनैपर्छ । देवदेवी संस्कृतिको मूल थलो नेपाल र नेपालआमाका उत्तराधिकारी हामी नेपालीलाई हार्ने, कायर बनेर विदेशीको दासता स्वीकार गर्ने अनि नेपाल र नेपालीको मौलिक पहिचान नष्ट गर्ने शक्तिसँग सम्झौता गर्ने अवकाश छैन । साथ हिँडौं, सँगै भोजन गरौँ, मिलेर स्वसंस्कृति अर्थात् ऋषिसंस्कृतिको रक्षाका लागि पराक्रम गरौँ । यस विषयमा मन्त्रणा गरौँ । मनको सम्मान गरौँ । स्वधर्म, स्वसंस्कृति तथा सामूहिक उन्नतिका लागि सधैं हाम्रो मन मिलोस् हामी सबै मिलेर गौरवका साथ उद्घोष गरौँ, ‘हाम्रो देश सनातन संस्कृतिको उद्गमस्थल हो । हामी ऋषि संस्कृतिका उत्तराधिकारी हौँ । हामी सबैलाई आफ्नो ठान्ने हिन्दु हौँ । हो, गौरवशाली हिन्दु हौँ ।’

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार