26.1 C
Kathmandu

राज्यको अभिभावकत्व खोज्दै वितरक 

उद्योग अथवा सेवा व्यवसायबाट उत्पादित बस्तु तथा सेवा आफै उपभोक्तासम्म पुग्दैनन् । यसरी उत्पादित बस्तु तथा सेवाहरूलाई उपभोक्तासम्म पुर्याउने काम गर्ने व्यक्ति नै वितरक हुन । त्यसैले वितरक एउटा पेशासँगै महत्वपूर्ण जिम्बेवारी पनि हो । वितरक एउटा व्यक्ति हो जसले उत्पादक र उपभोक्ता बीच मध्यस्थताको काम गर्दछ । वितरकले उत्पादकबाट बस्तु वा सेवा लिएर बजारमा त्यसको सहज उपलब्धताका लागि काम गर्छन । नेपालमा समेत विगत लामो समय देखि वितरकहरूले आफ्नो पेशागत व्यवसायिक धर्म निर्वाह गर्दै आइरहेका छन् । मुलुक भित्र २० हजार भन्दा बढिको सङ्ख्यामा यस्ता वितरकहरू कार्यरत रहेपनि उनीहरु यकिन तथ्यांक भने छैन । राजधानी काठमाडौंमा कस्मेटिक तथा खाद्यान्न सामग्रीको क्षेत्रमा काम गर्ने वितरकहरू भने आफ्नो पेशागत हकहितका लागि सङ्गठित हुन थालेका छन् । वि. सं. २०५८ सालमा नेपाल वितरक संघ नामक संस्था स्थापना गरि करिव ६ सयको हाराहारीमा वितरकहरू यसमा सङ्गठित भएका छन् । यद्यपि यो क्षेत्रमा संलग्न अझै धेरै वितरकहरू यस संस्थामा आवद्ध हुन सकेका छैनन् । 

आयातित वा उद्योगबाट उत्पादित बस्तु तथा सेवाको सहज बजारिकरणका लागि वितरकहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । यदि वितरकहरू हुँदैनथे भने त्यस्ता वस्तु तथा सेवा सहज रुपमा बजारबाट तपाई हामी उपभोक्तासम्म आइपुग्न असम्भव जस्तै हुन्थ्यो । आइपुगिहाले पनि मूल्य र उपलब्धताका हिसाबले सर्वसुलभ रुपमा त्यसको उपभोग गर्न तपाई हामी उपभोक्ताले पाउने थिएनौ भन्दा सायद फरक पर्दैन । त्यसैले बजारलाई चलायमान गराउन र उपभोक्तालाई उद्योग व्यवसायीसँग प्रत्यक्षरूपमा जोड्न वितरकहरूले निर्वाह गरिरहेको भूमिका निकै महत्वपूर्ण छ । 

वितरक पेशामा अहिले पनि हजारौं व्यक्तिहरू प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएका छन् । जसले एकातिर मुलुक भित्रै रोजगारीको सिर्जना गरिरहेका छन् भने अर्कातिर बजारमा माग र आपूर्तिको सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान दिइरहेका छन् । साँच्चै भन्ने हो भने बजारमा बस्तु तथा सेवा सर्वसुलभ गराउँने मुख्य दायित्व सरकारको हो । राज्यले नागरिकहरू प्रति निर्वाह गर्नुपर्ने यो महत्वपूर्ण दायित्वलाई वितरकहरूले निर्वाह गरिरहेका छन् । यस्तो महत्वपूर्ण जिम्बेवारी निर्वाह गरेर आफ्नो पेशालाई निरन्तरता र सरकारको दायित्व समेत बहन गरिरहेका वितरकहरू भने आफैं समस्यै समस्याको चंगुलमा छन् । शहरी क्षेत्र खासगरी राजधानी काठमाडौं उपत्यका भित्र वितरकको काम गर्ने पेशाकर्मीलाई रिङ्गरोड भित्र सामान वितरणको काम गर्नु फलाको चिउरा चपाए सरह भएको छ । रिङ्गरोड भित्र ट्राफिक जामको समस्या देखाउँदै सरकारले सामान वितरणका लागि निश्चित समय तोकिदिएको छ । जसले गर्दा दिनहुँ थुप्रै ढुवानीका साधनहरू ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका छन् । यसले पेशाकर्मीहरू निकै मारमा परेका छन् ।

बजार प्रणालीको एउटा महत्वपूर्ण हिस्साको रुपमा रहेका विचारकहरूलाई राज्यले अहिलेसम्म पनि चिन्न  नसकेकोमा पेशाकर्मीहरू खिन्न छन् । उनीहरूका सवालमा न त अहिलेसम्म कुनै कानुन निर्माण भएको छ । नत उनीहरूले अन्य पेशाकर्मी झै अधिकारको उपभोग गर्न पाएका छन् । कानुनले उपभोक्तालाई गुणस्तरीय बस्तु तथा सामग्री उपभोग गर्न पाउन अधिकारको प्रत्याभूति गरेको छ । अनि गुणस्तरीय बस्तु तथा सामग्री उपभोक्तासम्म पुर्याउने दायित्व भने वितरकहरूको काँधमा छ । साधारणतया कानुनले दायित्वसँगै अधिकारको पनि व्यवस्था गरेको हुन्छ । तर वितरकका हकमा भने कानुनी दायित्व मात्रै सिर्जना गरिएको छ, अधिकारको व्यवस्था र त्यसको प्रत्याभूति कँही कतै उल्लेख छैन । राज्यको उपेक्षा, कानुनी पहिचान र अधिकार नभएपनि वितरकहरूले आफ्नो  पेशागत व्यवसायिक धर्म भने निर्वाह गरीरहेकै छन् ।

नेपालमा अहिले विभिन्न मल्टिनेसनल कम्पनीसँगै स्वदेशी उद्योगबाट उत्पादित सेवा तथा वस्तुहरूको खपत भइरहको छ । यस्ता कम्पनी तथा उद्योगहरूको उत्पादनको बजारिकरणका लागि निश्चित मार्जिनमा वितरकहरूले काम गरिरहेका छन् । न्यून मार्जिन, बस्तु तथा सेवा बिक्रीका लागि उद्योग तथा कम्पनीहरूको चर्को दबाब, साना तथा मझौला व्यवसायीहरू भ्याट प्यानमा दर्ता नहुनु, उधारोमा सामान छाड्नु पर्ने बाध्यता, चेक बाउन्सको समस्या, नियमित बजार अनुगमनको अभाव, ट्राफिक व्यवस्थापनको समस्या, अस्पष्ट सरकारी नीति र लगानीको जोखिम लगायतका कारणले पछिल्लो समयमा धेरै पेशाकर्मीहरू वितरणको पेशाबाट पलायन भएका छन् । यसले बजारमा बस्तुको माग र आपूर्तिको सन्तुलनमा समस्या  आउने जोखिम बढेको छ । नेपाल वितरक संघले पेशाकर्मीले खेपिरहेका यस्ता समस्याको समाधानका लागि समय समयमा विभिन्न सरकारी निकायहरूको ध्यानाकर्षण गरिरहेको छ । यद्यपि अहिलेसम्म यसको सुनवाई भएको छैन ।

विश्वमा माहामारीको रुपमा देखापरेको कोरोना संक्रमण लगायत २०७२ सालको महाभूकम्प र नाकावन्दिको समयमा बजारमा बस्तुको अभाव हुन नदिन वितरकहरुले खेलेको भूमिका निकै सराहनिय छ । यो पेशाबाट हजारौले रोजगारी पाएका छन, बजारमा माग र आपूर्तिको सन्तुलन कायाम भइरहेको छ, अनि उपभोक्ताले सहज रुपमा बस्तु तथा सेवाको उपभोग गर्न पाएका छन् । तर यति हुँदा हुँदै पनि यो पेशामा अबसर भन्दा बढि चुनौती र समस्याका पाहाडहरु छन् । रिंगरोड भित्र ट्राफिक व्यवस्थापनका नाममा सरकारले तोकिदिएको सामान ढुवानीको समयावधिले व्यवसायीहरुलाई निकै सास्ति भएको छ । एकातिर समयमै समान ढुवानी गरेर बजारमा समान पुर्याउनुपर्ने बाध्यता अनि अर्काेतिर दिनहुँ सवारी कारबाहीमा पर्दा व्यवसायीहरुले ठूलै रकम ट्राफिक जरिवानाका रुपमा तिरिरहेका छन् । व्यवसायीहरुले झेलिरहेका यस्ता समस्यालाई  चुनौती र समस्याको निराकरण गर्न राज्यले ठोस पहल गर्नु पर्ने आवश्यकता छ ।        

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार