23.1 C
Kathmandu

२९ सय पुगेको शेयर बजार फेरि २७ सयमा झर्यो, साना लगानीकर्ता आत्तिदा प्यानिक

काठमाडौं । दुई साता अगाडि मात्रै २९ सय अंकमा पुगेको शेयर बजारमा मापक सूचक नेप्से फेरि २ सय अंक घटेर २७ सय अंकमा झरेको छ । बजारमा साना लगानीकर्ता आत्तिदा प्यानिक सेल भएकोले बजार घटेको हो ।

लगानीकर्ताहरुका अनुसार बैंकहरूले ब्याजदर १ प्रतिशत बढाउँदा शेयर बजारका लगानीकर्ता आत्तिएका कारण नेप्से परिसूचक १००.६७ अंकले घटेको छ ।

साताको पहिलो दिन आइतवार शेयर बजार एकैदिन ३.५९ प्रतिशतले घटेर २७००.८९ अंकमा झरेको छ ।

दुई साता अगाडि मात्रै २९ सय अंकमा पुगेको नेप्से परिसूचक आइतवारसम्ममा करीब २०० अंकले घटिसकेको छ ।

बजार घटेको दिन २२७ कम्पनीको एक करोड १६ लाख ६१ हजार कित्ता शेयर ८१ हजार ८३७ पटक किनबेच भएको छ । यस्तो किनबेचबाट ५ अर्ब ९७ करोडको कारोबार भएको छ ।

शेयर लगानीकर्ता तथा नेपाल इन्भेटर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारका अनुसार बैैंकले १ प्रतिशतले ब्याजदर बढाउँदैमा साना लगानीकर्ता ‘ओभर प्यानिक’ भएको देखियो ।

यसले साना लगानीकर्तामा धैर्यता नहुने र बजार बढ्दा किन्ने तथा घट्दा तुरुन्तै बेचेर बाहिरिहाल्ने भन्ने उल्टो अभ्यास भइरहेको पनि रौनियारले बताए ।

रौनियारले भने अहिले शेयर बजार घट्नुपर्ने अन्य कुनै कारण छैन । राजनीतिक कारणले शेयर बजार नघटेको र एमसीसीको कारण भने त्यस्तो ठूलो प्रभाव नहुने बुझाइ पनि उनको छ ।

एमसीसी पास भए पनि शेयर बजारलाई राम्रो गर्ने र पास भए पनि नेपालमा अमेरिकी सेना आउने भन्ने हल्ला मात्रै भएको हुँदा लगानीकर्ता आत्तिनुपर्ने कुनै कारण नभएको तर्क पनि रौनियारको छ ।

उनले भने, ‘नयाँ लगानीकर्ता आउने आत्तिने र मात्तिने अभ्यास नै गलत हुँदा बजारमा असर परेको देखिएको मात्रै हो ।’

दुई महिना अगाडि २३ सयमा झरेको बजार पुनः २९ सय पुगिसकेको थियो । रौनियारका अनुसार घटेको बेला किनेर मौका छोप्नेले बोनस पाए भने २९ सय पुगेको बेला लाभ पनि लिए । उनका अनुसार आत्तिने लगानीकर्ताले न बोनस पाए न उच्च बिन्दुमा पुगेका बेला लाभ ।

त्यसैले अहिले सय–५० अंकमा शेयर घट्दैमा बेचेर भागिहाल्नुपर्ने होइन । धैर्यता गर्ने र आत्मविश्वास बनाएर बस्ने लगानीकर्ताले भोलिका दिन बजार बढ्दा लाभ पाउने बुझाइ शेयर लगानीकर्ता रौनियारको भनाइ छ ।

बजार घटेका कारण नेप्सेमा सूचीकृत अधिकांश कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आइतवार सबैभन्दा बढी गुमाउनेमा माथिल्लो तामाकोशी हाइड्रोपावरका लगानीकर्ताले ८।३७, नारायणी डेभलपमेन्ट बैंकले ८.२६ प्रतिशतले गुमाएका छन् ।

यसका साथै शिव श्री हाइड्रोपावर, विन नेपाल लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले ७ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।

आइतवार सबै भन्दा बढी शेयर कारोबार माथिल्लो तामाकोशीको ३२ करोड ८४ लाख रूपैयाँको भएको छ । आज सबैभन्दा बढी कित्ता किनबेच हुनेमा भने नेपाल पूर्वाधार विकास बैंकको ६ लाख ८५ हजार ५३ कित्ता शेयरको कारोबार भएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार