8.1 C
Kathmandu

नेपाल टेलिकमले तीन महिनामै कमायो ४ अर्ब २० करोड नाफा, वार्षिक तथ्यांकमा सुधारको संकेत देखिएको सरकारको दाबी

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासमा आफ्नो नाफामा उल्लेख्य वृद्धि भएको जनाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वैशाखदेखि असार मसान्तसम्मको तीन महिनामा मात्रै ४ अर्ब २० करोड २४ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको बताएको छ ।

तेस्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा मात्रै नाफा १ अर्ब ५ करोड ४४ लाख ३४ हजार रुपैयाँले बढेको कम्पनीको दाबी छ । सरकारले नेपाल टेलिकमको पहुँच र गुणस्तर बढाउन थालेको सुधारात्मक कार्यका कारण इन्टरनेट प्रयोगकर्ता बढेको र त्यसको सकारात्मक प्रभाव वित्तीय स्वास्थ्यमा देखिएको उल्लेख गरिएको छ ।

नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले पछिल्लो समय ‘फाइबर टु दि होम’ (एफटीटीएच) र जिएसएम डाटाको खपत बढ्दा आम्दानीमा वृद्धि भएको जानकारी दिए । उनले भ्वाइस सेवाको तुलनामा डाटाको माग बढेको र सञ्चालन खर्चमा गरिएको कटौतीका कारण समग्र नाफा बढेको बताए । प्रवक्ता लामिछानेका अनुसार विज्ञापन र प्रायोजनजस्ता शीर्षकमा गरिएको खर्च कटौतीबाट मात्रै १० देखि १५ करोड रुपैयाँ बचत भएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले अघि सारेको १० बुँदे सुधारात्मक कार्ययोजना र शासकीय सुधारका कार्यक्रमले टेलिकमको सेवामा सुधार आएको बताइएको छ । विशेषगरी डाटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने प्रणालीको अन्त्य, अनलाइन सेवाको विस्तार, र ‘वान टाइम केवाईसी’ जस्ता व्यवस्थाले ग्राहकलाई सहज बनाएको उल्लेख छ ।

वित्तीय विवरणअनुसार टेलिकमले गत आर्थिक वर्षभरिमा कुल ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४७.५८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ मात्र रहेको थियो ।

ब्याजदर घट्दा ब्याज आम्दानीमा केही कमी आए पनि मुख्य दूरसञ्चार सेवा (विशेषगरी जिएसएम र डाटा) बाट हुने आम्दानी बढेकाले कम्पनीको अवस्था सुदृढ भएको बताइएको छ । ४जी सेवाको गुणस्तर सुधार र थप फ्रिक्वेन्सीको उपलब्धताले आगामी दिनमा सेवा अझ प्रभावकारी हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

थप समाचार

ताजा समाचार