27.1 C
Kathmandu

आफूले आफैलाई माया गर्नु नै जीवन हो

जीवन सबैको उत्तिकै अमूल्य छ । तर, अनित्य पनि छ । र ती कुरा प्रायः सबैलाई थाहा छ । जीवनसँगै छाया जस्तो भएर मृत्यु पनि साथसाथै आइरहेको हुन्छ । हरेक पल जीवनको एकपाना मरिसकेको हुन्छ । प्रत्येक व्यक्तिको हिजोले उसको आज जन्मायो, आजले भोलि जन्माउन भ्याउँछ कि भ्याउँदैन अनिश्चित छ । मर्नु छ एकदिन भन्ने कुराको बोधले पनि जीवन यति सुन्दर भएको छ, नत्र कति कुरूप हुँदो हो जीवन ! अहिले विज्ञान प्रविधिको विकासले सय वर्ष बाँच्नेहरुको संख्या केही बढेको पनि छ ।

मानिसको प्राकृतिक आयु बढ्दै जानु कति राम्रो हो थाहा छैन । सबैका लागि जीवनको उत्तरार्द्ध सुखद हुन्छ भन्ने छैन । वृद्धावस्थासँगै शारीरिक, मानसिक स्वास्थ्य कमजोर हुँदै जानु, एक्लै पर्दै जानुजस्ता अनेक चुनौतीको सामना गर्नु सजिलो हुँदैन । बाँच्नु अहोभाग्य हो, तर कुन उमेरसम्म बाँच्नु ठिक हुन्छ, थाहा छैन । एकबारको यो अमूल्य जीवन सामान्य आयुसम्म बाँच्न पनि सबैलाई सजिलो छैन । केही समय यता त झन् झन् धेरैले आफ्नो जीवनलाई समाप्त पारेका समाचार सुन्नु परिरहेको छ । आत्महत्याको घटना बढिरहेजस्तो लाग्छ । यसले एउटा प्रश्न जन्माएको छ– किन जीवन यति सस्तो हुँदैछ ?

गत हप्ता मात्रै समाजका दुई होनहार पात्रहरू – एक सक्षम युवा महिला सर्जन र अर्का एक पाका तर अझै धेरै सपना बोकेका सक्रिय समाजसेवी योग्य केमिकल इन्जिनियरले जीवनलाई हैन मृत्युलाई रोजे । उनीहरूले आत्महत्या गरे भन्ने सुनियो । बितेको एक दशकतिर मात्र फर्केर हेर्दा पनि अनेक होनाहार व्यक्तिले आत्म हत्या गरेका छन् ।

गरिबी अभाव, शारीरिक पीडा, समाज, परिस्थिति, कृतघ्न आफन्त, राज्य, पति पत्नि, प्रेमीप्रेमिका, लज्जाबोध ‘ आदिका कारण दुःख सहन नसकेर आत्महत्या गर्नेहरूको पनि संख्या बढेकै होला । तर, सबै कुरा छ, ज्ञान छ, सीप छ, स्वास्थ्य पनि राम्रै छ, परिवारमा प्रेम छ, इज्जत छ, अनुयायीहरू वा प्रशंसकहरू छन्, अरुले हेर्दा सबै कुरा भएका मेधावी चिकित्सकहरू, लोकप्रिय लेखक कलाकारहरू, समाजले धेरै अपेक्षा राखेका अभियन्ताहरूको समेत आत्महत्याको समाचार झन् झन् धेरै सुन्नुपर्दा दुःख लाग्ने मात्र हैन, यो समयकै बारे प्रश्न गर्न मन लाग्छ । के मानिसको सहनशक्ति झन् झन् कम हुँदै गएको हो ? विज्ञान प्रविधिले मानिसलाई झन् झन् सुविधाभोगी बनाउँदै गएको हो ? लडेपछि उठ्नै नसक्ने हुँदै गइरहेको छ मानिस ?

जीवन सबैको उत्तिकै अमूल्य हुन्छ । दुःख कसैका निम्ति उत्तिकै अप्रिय हुन्छ । तर, समाजमा उपलब्धिहरू प्राप्त गरेका लोकप्रिय, सक्षम, खुसी ठानिएका मानिसले पनि एकपछि अर्को गर्दै आत्महत्या गर्न थाले भने त्यसले सिंगै समाजमा, सिंगै संसारमा ल्याउने तरंग सुनामीजस्तै डरलाग्दो हुनसक्छ । एकातिर बदलिँदै गएको जीवनशैलीका कारण थोरै दुःख पनि सहन नसक्ने, अनि अर्कोतिर ख्याति, सम्मान, लोकप्रियता हासिल गरिसकेका मानिसले पनि आत्महत्या गरिरहेको स्थितिले समाजमा एक किसिमको नजिर स्थापना गर्न सक्छ ।

उहिले उहिलेका जापानी सामुराईहरुको बीचमा ‘हाराकिरी’ स्वीकार्य भएजस्तो समाजका लोकप्रिय, सक्षम मानिसहरूको निम्ति पनि आत्महत्या बाध्यता मात्र नभई ‘सम्मानजनक’, वा ‘आफ्नो मर्जी’ का रूपमा बुझिन थाल्यो भने अकल्पनीय भयावह स्थिति आउनसक्छ । एकजना सक्षम नागरिक जन्माउन आमा बाबुको मात्र होइन, ऊ स्वयंको प्रयत्नसँगै धेरैको योगदान मिसिएको हुन्छ । आत्महत्याको बढ्दो घटनादरले ल्याउने अनिश्चितताले भविष्यमा बच्चाहरूको हुर्काईसमेत प्रभावित नहोला भन्न सकिँदैन ।

एकातिर दुःखलाई बुझ्नै नसक्ने, थोरै पीडा पनि सहनै नसक्ने मानिसहरूको संख्या बढ्दै जाने, अर्कोतिर ‘मेरो जीवन मेरै मात्र हो र यसमा मेरो बाहेक अरू कसैको न अधिकार छ, न सरोकार छ’ भन्ने सोचले जरो हाल्दै जाने, अनि त्यहाँमाथि प्रख्यात, लोकप्रिय, सक्षम र सुखीसमेत ठानिएका मानिसले आत्महत्या गर्ने नजिर बस्दै जाने हो भने कस्तो हुने होला संसार ? मानसिक रोगलाई विस्तारै जनस्वास्थ्यको महत्वपूर्ण सवालका रूपमा लिन थालिँदैछ भन्ने सुनिन्छ । कार्यान्वयन कसरी भइरहेको छ कुन्नी ? चिनजानका मनोविद् तथा मनोचिकित्सकहरूसँगको कुराकानीमा सुन्छु, सैद्धान्तिक रूपमा मनोरोगलाई महत्व दिन थाल्नुपर्छ भन्ने कुरा स्वास्थ्य नीतिनिर्माताहरूमा स्थापित हुँदै जान थालेपनि कार्यान्वयनमा हामी धेरै पछाडि छौँ अरे ।

प्रकोपजस्तै बन्न थालेको यो आत्महत्याको सिलसिलालाई कति महत्व दिइँदैछ, मलाई थाहा छैन । यसले पाउनुपर्ने जति महत्व अझै पाएको छैन भने यता ध्यान पुग्नु मात्र होइन, हतारो नै गर्नुपर्ने स्थिति आइसकेजस्तो लाग्छ । केही समय यता ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर धेरै थरी मानिसहरू बुरुक बुरुक उफ्रेको देखिँदैछ । तर, बुद्धका शिक्षालाई ग्रहण गर्ने कामले भने अझै पटक्कै महत्व पाउन नसके जस्तो लाग्छ । बुद्धले प्रथम धर्मचक्र परिवर्तनमै बुझाएको चार ‘आर्यसत्य’लाई बुझ्ने र बुझाउने प्रयत्नसमेत त बच्चा हुर्काउने क्रममा स्कूलदेखि नै गर्नुपर्ने हो ! त्यतिमात्र गर्न थाले पनि दुःखबाट त्रस्त हुने हैन, दुःखलाई बुझ्ने र त्यसबाट मुक्तिको सही बाटो खोज्नेतर्फ मानिसको मन मोडिन्थ्यो होला ।

अनित्यलाई बुझ्ने र बुझाउने प्रचलन परिवारमा, स्कूलमा, काम गर्ने ठाउँमा जताततै स्थापित हुन थाल्ने हो भने कुनै पनि अनिश्चितताका निम्ति मानिस तयार रहन सिक्न थाल्ने थिए होलान् । दुःख सत्यलाई राम्रोसँग बुझ्न सक्ने हो भने यो संसारमा पूर्णसन्तुष्टि भनेको मृग मरीचिका मात्र हो भन्ने बोध हुँदो हो । मानव जीवनको अवमूल्यबारे बाल्यावस्था देखिनै शिक्षा दिन थाल्ने हो भने साँच्चै प्रज्ञातर्फ उन्मुख हुने दिशाबोध हुँदो हो ।

जीवन बोधले नै जीवनलाई अमूल्य बनाउने पनि हो । मानव जीवनको एउटा विशेषता के पनि होला भने मान्छे प्रश्न गर्न र प्रश्नको समाधान पनि खोज्न सक्ने प्राणी हो । यो विकराल समस्या देखिसकेपछि, यसको समाधान खोज्न पनि हाम्रा लागि पक्कै सम्भव होला । मनोविज्ञान मात्र हैन, जीव विज्ञान, समाज विज्ञान, नृशास्त्र मानवशास्त्र आदि सबै सबै सम्बन्धित ज्ञानमा मानिसको पहुँच झन्झन् बढ्दै गइरहेको आजको समयमा मानिसको, अझ कलिलो उमेरका सक्षम मानिसको आत्महत्याले निरन्तरता पाइरहनु भनेको सिंगै मानव जातिकै लागि लज्जाको विषय हो । आशा गरौँ, यो क्रमलाई रोक्न केही न केही सार्थक प्रयास सबैबाट होला ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार