‘परदेशी’ ! यो लबज नै कति अमिलो छ १ अर्थात्, पराइको देशमा रहने र बस्ने १ आफ्नो होइन अर्काको देशमा ! आफ्नोभन्दा टाढाको देश।। परको देशमा रहने ! नेपालीको परदेशिनुको कथाव्यथा अनेक छन्, व्यक्तिपिच्छे अलग छन् । थोरै रहरले धेरै बाध्यता बोकेर परदेशिएका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले परदेशिनुको पीडालाई ‘मुना मदन’ जस्तो महाकाव्य नै बनाए । जसमा वियोगान्तको ‘जड’ नै परदेशको मोह थियो, रहर थियो, लालच थियो । बेलायती फौजको व्यथा, भारतीय फौजको व्यथा धेरै भयो, अब अरबको व्यथा झनै सहन गाह्रो ! सत्य कुरो यही हो कि अमेरिका, बेलायत, युरोप, अस्ट्रेलिया, जापानको अवस्थाबाट पनि अब कोही अनभिज्ञ छैनन् । आफ्नो देशभन्दा प्यारो अरु देश कहीँ कतै हुँदैन । यही तितो सत्य हो । उच्च शिक्षा र रोजगारी अवसरको खोजीमा मात्र नभइ पछिल्लो डेढ दशकयता नेपालीहरू आफ्नो ज्यान जोगाउनकै लागि र सन्तानको भविष्य सुरक्षित राख्ने सपना र बहाना बोकेर पलायनका लागि प्रोत्साहित हुनेहरूको अकल्पनीय बाध्यात्मक धुइरो लागेको पीडादायी अवस्था देखिएको छ । निश्चय नै भोको पेट र मरेको लासले राष्ट्रियता भन्दैन । पहिले जिउने र दोस्रो शान्तिपूर्वक पेटभर खान पाउनुपर्छ । विगत डेढ दशकको हिंसात्मक युद्धले नागरिकको त्यो हक छिनिएको हो । त्यो त्रासदीपूर्ण अवस्थाले नेपालको ठुलो धनराशि र बौद्धिक उर्जा समेत पलायन भएको विडम्बनायुक्त अवस्था देशले भोगिराखेको छ ।
उच्च शिक्षा आर्जन गर्न अमेरिका, बेलायत, अस्ट्रेलिया, युरोप आदि देशमा पुगेका र त्यहीँ राम्रो रोजगारी पाएका बाहेक अन्य मुलुकमा छरिएर रहेका नेपालीहरू अधिकांश ‘शान्ति छैन, अवसर छैन, नातावाद कृपावाद छ, भ्रष्टाचार छ, पैसा नदिनेको काम नै हुन्न, अस्थिरता र द्वन्द्वले आफ्नो र सन्तानको भविष्य छैन भन्दै पलायन हुनु परेको वा विदेशिनु परेको कारण बताउने गरेका छन् । यो सत्य हो तर प्रत्येक समर्थ नेपालीले कुनै न कुनै बहाना बनाइ आफू अनुकुल देश भएन भन्दै पलायन हुने हो भने अर्को एकाध दशकपछि नेपालको पनि अस्तित्व समाप्त हुने खतरा देखिन्छ । नेपालीहरू भारतलगायत अन्य मुलुकमा भागेका छौँ, उता भारत बिहार र उत्तर प्रदेशलगायत बंगलादेशी, पाकिस्तानी, अफगानिस्तानबाट भागेका अपराधीहरूले संसददेखि सडकसम्म डेरा जमाइसकेका छन्, उत्तरतिरको चाप पनि काम छैन । यस्तै हो भने अर्को २० वर्षमा हामी आदिवासी नेपाली आफ्नै देशमा अल्पमतमा पर्ने देखिन्छ । तराइबाट पहाडिया र त्यहाँका आदिवासी नेपालीहरूलाई लखेट्ने, लुट्ने काम भइराखेको छ । मिल्दोजुल्दो छाला (अनुहार) को फाइदा उठाएर तराईवासीको नाममा नक्कली नेपालीहरूले लुटपाट मच्चाएका छन् । हत्या, हिंसा, बलात्कार, लुट सामान्य जस्तो भएको छ । एउटा नेपालीले अर्को नेपालीलाई यो हदसम्म गिरेर लुट्ने र मार्ने गर्न सक्दैन, त्यो हाम्रो संस्कृति नै होइन । तराईवासी नेपालीको हकहितको नाममा वास्तविक तराईवासी नेपाली विस्थापित हुनुपरेको दर्दनाक अवस्था छ ।
हामी नेपालीले गम्भीर भएर सोच्नुपर्ने कुरो के भने आफ्नो देशको तमाम विकृतिलाई हटाउने कसले र कसरी रु शिक्षित, सम्पन्न, सभ्य नागरिकले देश छोडेर पलायन हुने वा सस्तो आय आर्जनको नाममा कर्मठ, मेहनती, इमानदार युवाहरू विदेशिने अनि देशमा अशिक्षित भ्रष्ट, बेरोजगार र अपराध प्रवृत्तिका र आयातीत नक्कली नेपालीमात्र बाँकी रहने हो भने कहिले बन्छ त नेपाल ? हाम्रो दायित्व के त देशप्रति ? अरुलाई दोष थुपार्दैमा इतिहासले माफ गर्ला त हामीलाई ? संसारका विभिन्न कुनामा पुगेका छौँ, धर्म संस्कृति, भाषा, कला, साहित्य, प्रजातन्त्र मानवाधिकारको वकालत गर्छौं, तर त्यसले देशलाई केही फाइदा पुगेको छैन विदेशमा पनि नेपालीको घेरा तोडेर अन्तर्राष्ट्रियकरण गर्न सकेका छैनौँ । जहाँ पुगे पनि न्यून अल्पसंख्यक समेत नगनिएका हामी नेपालीले देशप्रति नै लगाव बढाउनु गर्व गर्न लायक देखिन्छ । फर्किएका आप्रवासी ज्येष्ठ नागरिकको अनुभव र युवाशक्तिको जोशमा एकता गऱ्यौँ भने पराइको कब्जामा पुगेको देश नेपाललाई मुक्त पारेर एक समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ । त्यसैले फर्कौं, नेपाल आमा रोइरहेकीछिन् !
एकछिन सोचौँ त ! कति हाम्रा आमाबुबा, छोरानाति नातिनाको मुख हेर्ने रहर बोकी पिँढीमा कुरेर बसेका छन् ? तिनका पिलपिलाउँदो अनुहारबाट तपकिएका आँशुले हामीलाई पोल्दैन ? कति श्रीमती, श्रीमान् नाबालक बच्चा परदेशिएका आफ्नो मान्छे फर्कने आशामा टोलाएर बसेका छन् ? उनीहरूको मनलाई रुवाएर कस्तो भविष्य बनाउन खोज्दैछौँ हामी ? आजभोलि प्रत्येक दिन विदेशमा युवायुवतीहरूको दुखान्त घटनाहरूको समाचार आउन थालेको छ । स्वदेशमा भन्दा विदेशमा दुःख छ, हामीले भोगिसक्यौँ । सम्पत्ति त जीवन गुजाराको एउटा साधनमात्रै हो, जीवनको साधन होइन ! अकुत सम्पत्तिका बाबजुद दुःखको रूप बदलिने हो, हट्ने त होइन ! मानसिक चिन्ता, व्यवधानबाट मुक्त हुने सरल उपाय अपनत्वको नजिक हुनु हो, त्यो आफ्नो देश हो, आफ्नै समाज हो ! महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यसै भनेनन् ‘सुनको थैला हातको मैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दित मनले !’ हामीले जसरी आफ्नो र सन्तानको सुखको खोजीमा अभिभावकलाई तड्पाउँदै छौँ त्यति नै पीडा हामीले भोग्नुपर्ने छ जीवनभर, यो यथार्थलाई मनन गरौँ । विदेशको त चलन नै हो एकल परिवार । हामी पछि आफू एक्लो हुँदामात्रै बाउआमा सम्झिने हो भने निकै ढिलो भइसकेको हुनेछ । पश्चातापमा पर्नेछौँ हामी त्यसबेला । त्यसैले लौ फर्कौँ बेलैमा आफ्नै देश नेपाल !
विदेशिएका हामी नेपालीले अझ विशेषगरी उच्च शिक्षा हासिल गर्नेहरूले एकपटक भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अनुशरण गरेमा नेपाल आमाले आशिष दिनेछिन् । अक्सफोर्डबाट विद्यावारिधि गरेका एक होनाहार विद्यार्थी डा. मनमोहन सिंह परदेशमै पलायन भएको भए के बन्थे होलान् ? कुनै वित्तीय संस्थाका प्रमुख वा मन्त्रालयका सल्लाहकार ? तर उनी स्वदेश फर्किए, आफ्नो विशिष्ट प्रतिभा बोकेर राष्ट्रको सेवा गरेबापत आज उनी दोस्रो गान्धीको उपाधिले प्रशंसित हुन थालेका छन् । गान्धीले विदेशी विरुद्ध लडे भने मनमोहनले देशको गरिबीसित लडे, आर्थिक क्रान्ति गरे । फलस्वरूप उनी ‘Top Hundred influential people of the World 2005’ र ‘World Statesman’s Award 2010’ बाट विभूषित भएका छन् । उनको मर्यादा नेहरूको भन्दा माथि उठेको छ । र, आजको भारतको आर्थिक समृद्धिको रेखा कोर्ने मनमोहन सिंह नै हुन् । भारतीय धनाढ्य अम्मानी परिवारलाई पनि देश फर्केर भारतको व्यवसायिक सेवामा लागेकाको नाममध्येको एक भनेर जोड्न सकिन्छ । विदेशिएका हामी नेपालीहरू विशेषगरी जो पलायन हुने वा भएका छन्, अमेरिका, बेलायत, अस्ट्रेलिया युरोप आदि देशमा उनीहरूको सीप, अनुभवलाई मात्र देशको लागि सदुपयोग गरियो भने नेपाललाई साँच्चिकै अर्को दश वर्षमा एउटा उदाहरणीय देश बनाउन सकिन्छ । देश जनताले बनाउने हो र बनाउनुपर्छ, नेतृत्व वर्गलाई दोष दिएर मात्र एउटा असल नागरिकको दायित्व पूरा हुन सक्दैन ।
धेरै भयो हामीले ‘देशले के दियो र दिन्छ’ भन्दै विदेशिने सोच राखेको, अब त्यसो होइन हामीले ‘देशलाई के दिन सक्यौँ र के दिन सक्छौँ’ भनी गम्भीर भएर सोच्नुपरेको छ । प्रत्येक नागरिकले देशप्रतिको उत्तरदायित्व बहन गर्ने तत्परता देखाउनुपर्छ । नत्र त इतिहासले हामीलाई भगौडा, हुतिहारा र बेइमान भनी चिन्नेछ । देश र परिवारबाट बिछोडिएर हिँड्नु भनेको जीवनको ठुलो अभिशाप नै हो जो सबैले ब्यहोरेको पीडा हो । त्यही दर्दनाक मानवीय पीडालाई महसूस गरेर संयुक्त राष्ट्रसंघ मानवाधिकार समितिको जेनेभा सम्मेलनले कारणवश अर्को देशमा शरणार्थी बन्नुपर्ने अवस्थामा परिवार समेतलाई पुनर्मिलन गराउनुपर्ने नीति राखेको हो । विदेशिएका हामीहरूको लागि के बर्गर र केएफसी हाम्रो दैनिकी बन्न सक्यो रु गुन्द्रुक, आलु तामाको सम्झना आउँदैन ? के हाम्रो खोलानाला, हिमाल, पहाड, चम्पा चमेली, बरपिपल याद आउँदैन ? देश रोइरहेछ ! आमा बाटो हेरिरहेकी छिन्, तर त्यसको मर्म बुझ्ने संवेदनशीलता हराएका स्वार्थी बनेका हौँ हामी ? के हामी त्यति निष्ठुरी छौँ कि कुरूप भइन् भन्दै आमालाई छोडेर पलायन हुने ? के मनले मानेको छ बिर्सन देश ? के भानुभक्त, लक्ष्मीप्रसादले हामीलाई प्रेरणा दिन नसकेका हुन् ? होइन भने पलायन हुने किन ? अर्काको देशमा आफ्नो धर्म, कला, संस्कृति, भाषाको रटान किन ? कत्ति ढाँट्ने यो मनलाई ? देशमा विकृति छ भनी आरोप लगाउँछौ त सच्याउने दायित्व कसको ?
हो, देशमा सकारात्मक सोचको मुहान भत्किएको छ, धमिलिएको छ, तर सफा गर्ने दायित्व हाम्रै होइन ? अरुको मुख ताक्ने बानीलाई त्यागेर अगाडि बढेनौँ भने अर्कोले त झनै विषाक्तता छरिदिन्छ, आफ्नो भन्ने केही बाँकी रहँदैन अब । समस्यादेखि भाग्ने लाछी हौँ र हामी ? समाधान हामीसित नै छ । समृद्ध नेपालको लागि हाम्रो योगदान अनिवार्य छ । हो, हाम्रो जस्तो अविकसित देशका नागरिकले उच्च शिक्षा र प्रविधिको ज्ञान हासिल गर्न, अनुभव बटुल्न विदेश जानुपर्छ । तर दम्भित, ग्रसित, गलित, भ्रमित, थकित भएर सुन्दर भविष्यको भ्रम बोकी तनावपूर्ण जीवन बाँच्नको लागि पलायन हुन विदेशिने होइन । दोस्रो दर्जाको नागरिक बनी झूटो गर्व गर्न होइन । त्यसमा पनि आज विश्वको बदलिँदो आर्थिक उतारचढावले गर्दा हाम्रो लागि अत्यधिक आकर्षण रहेको अमेरिका, बेलायत, अष्ट्रेलिया, युरोप वा जापानजस्तो मुलुकमा डेढरदुई दशक अगाडिसम्मको जस्तो अवसरको स्थिति पनि अब रहेन । विश्व आर्थिक मन्दीको चपेटामा परेका ती मुलुकमा रहेका आप्रवासी नेपालीहरूले यो सत्यलाई नजिकबाट भोगिरहेका छौँ । जीवन झनझनै कष्टमय बन्दैगएको छ । वास्तवमा नेपाल जस्तो अल्पविकसित देशमै आज अवसरका धेरै ढोकाहरू खुला देखिएको छ । विश्वकै उच्च आर्थिक वृद्धिदर रहेको चीन र भारत आजको आकर्षण हुन् । हामीले दुई छिमेकीको सदुपयोग गर्न सक्नुपरेको छ । भारतकै एउटा निरमा सर्फ कम्पनीलाई हेरौँ तत्कालमा २ हजार भारु तलब खाने सरकारी जुनियर केमिस्ट डा. कारसन भाइ पटेलले सन् १९६९ मा त्यो नोकरी छोडेर २० हजार रुपियाँमा घरमै निरमा सर्फ उत्पादन गरेर घर घरमा बेच्ने उद्योग सुरु गरेका थिए, जो आज बहुराष्ट्रिय कम्पनी भएको छ । करिब २० हजार कर्मचारी र ३० हजार करोडको सम्पत्ति बोकेर ठडिएको छ । प्रतिबद्धता, लगन, इमान भयो भने माटो नै सुन बन्छ, बनाउन सकिन्छ ।
जलविद्युत् मात्र होइन कृषि, पशुपालन फलफूल उत्पादनको लागि नेपालमा प्रचुर मात्रामा अवसर छन् । स्मरण रहोस्, अहिले नेपालमा वर्षेनी भारतबाटमात्रै सय अर्ब बराबरको मासुजन्य बस्तु, खाद्यान्न, फलफूल र सब्जीमात्रै आयात भइरहेको छ र, ठुलो धनराशि विदेशिएको छ । देशमा ब्यापार घाटा बढ्दो छ, जबकि हामीले उत्पादन गरेर भारत, चीन बंगलादेश मङ्गोलियासम्म निर्यात गर्न सक्षम छौँ । दूध र दूधबाट उत्पादन हुने बस्तुमा नेपालको हावापानी स्वीजरल्याण्डजस्तै राम्रो छ । हामी अन्य मुलुकमा निर्यात गर्न सक्छौँ । हाम्रो देशमा उब्जने अमूल्य जडीबुटीलाई सदुपयोग गर्न सकेका छैनौँ, या सुनको मूल्य पर्नेलाई खरानीको दरमा विदेशीलाई बुझाइरहेका छौँ । विश्वका दुई प्रमुख धर्मको प्रमुख तीर्थस्थल नेपालमै छ । विडम्बना के छ भने नेपालको पयर्टन व्यवसायमा ५० प्रतिशतभन्दा बढी भारतीयले ओगटेका छन् । तारेहोटल र ठूला ट्राभल एजेन्सीहरूमा माथिल्लो दर्जामा ७० प्रतिशत भारतीय छन् । निर्माण व्यवसायमा मजदुरदेखि प्राविधिकसम्म सिमापारिका नै छन् । यो कसरी भयो ? हामीले अस्वाभाविक आडम्बर र अल्छीपन बोकेको कारण हो यस्तो भएको । अरब मुलुकमा पुगेर पसिना पुछ्न पर्दैन, अवसर छ नेपालमा, तर सदुपयोग गर्न अग्रसर हुनुपऱ्यो । उचित व्यवस्थापन गर्न सक्यौँ भने अहिले विदेशबाट जाने रेमिट्यान्स भन्दा धेरै गुणा ज्यादा विदेशी मुद्रा आर्जन गर्न सक्छौँ आफ्नै घर परिवार अनि देशमा बसेर । नेपालको जलविद्युत् अरबको तेल र सुनभन्दा सैयौँ गुणा महत्व र आर्थिक स्रोत हो । त्यसको पनि अब समुचित उत्पादन गर्ने समय आएको छ, सुरु हुन्छ अब । लाखौँलाख रोजगारीको बजार नेपालमै छ । किन भौँतारिने विदेशमा मानसिक तनाव बोकेर ? सामूहिक भावनाको विकास गरौँ, सामूहिक खेती गरौँ, सामूहिक कमाइ गरौँ । वाद र दलको चपेटामा होइन बन्धुत्वको घेरा बनाऔँ, यही आजको आवश्यकता हो ।
प्रविधिको विकासले गर्दा संसारका प्रत्येक कुनाको गतिविधि पारदर्शी भइराखेको अवस्थामा एउटा स्वाधीन देशका जनताले आफ्नो देशको लागि अपनाउने नीति, विधि र परियोजनाहरूमा हिजोको जस्तो कुनै देशविशेष वा समूहविशेष अवरोध पुऱ्याउने सम्भावना न्यून हुँदै गएको छ । २०४६ सालसम्म १२६ प्रकारका ग्राहस्थ उत्पादनमा आत्मनिर्भर भइसकेको नेपालमा पुनः एकपटक राष्ट्रप्रति समर्पित विज्ञहरूको, साहसी नागरिकहरूको सक्रियताको खाँचो छ । देश बनाउने जिम्मेवार नागरिकहरूले हो, नेताहरूले होइन । देश विकासका कारकतत्वहरूलाई निरुत्साहित गर्दै, निषेध गर्दै प्रकृतिको स्वर्ग नेपाललाई विश्वको उदाहरणीय देश बनाउन सक्छौँ । संसारमा जे कुराको पनि सिमा हुन्छ, प्रगति उन्नति वा विकृति जेसुकैको पनि ! एकदिन सकारात्मकबाट नकारात्मक र नकारात्मकबाट सकारात्मकतर्फ अनिवार्य फर्कन्छ । एउटा प्रत्यक्ष उदाहरण हेरौँ कुनैबेला संसारको सबैभन्दा अग्लो टि्वनटावर न्युयोर्क भनिन्थ्यो आज मलेसिया दुबही गर्दै चीनमा बन्दैछ, कुनैबेला अमेरिका संसारको धनी र शक्तिशाली भनिन्थ्यो । आज चीन आर्थिकरूपले मात्र होइन, विकास र अवसरको लागि संसारकै आकर्षण बन्दै गएको छ । त्यसैले हाम्रो देशको ओरालो लाग्ने सिमारेखाको अब अन्त्य हुनेछ र, द्रुत गतिमा उकालो लाग्नेछ। विदेशिएकाहरूको सीप लगन र प्रतिबद्ध मेहनतको आवश्यकता छ ।
देशले भर्खरै भ्रष्टाचारविरुद्धको अभियानमा संयुक्त राष्ट्रसङ्घबाट घोषित महासन्धिमा हस्ताक्षर गरेको छ अब बिस्तारै भ्रस्टाचारविरोधि अभियानले सार्थकता पाउने छ । नेपालको समस्या भनेको Lack of Civic sense नै हो । हामी विदेशमा बस्नेहरूले पाएको शिक्षा र अनुभव भनेको यो पनि एक महत्वपूर्ण हो । हामीले देखेको भोगेको सभ्य मानिसहरूको स्वभाव व्यवहारमा उतार्यौँ भने समाजलाई सजिलै परिवर्तन गर्न सक्छौँ । समाजलाई आवश्यक पर्ने नीति नियमको विधेयक बनाएर सरकारलाई लागू गर्न सुझाव दिन सक्छौँ । मेचीदेखि महाकालीसम्म एउटा पारिवारिक सञ्जालमा बाँधिएको एउटै परिवारका हामी नेपालीले जापानिजभन्दा उच्च सिलस्वभाव, सहयोग र सद्भावयुक्त नागरिकहरू बसेको उदाहरणीय देश बनाउन सक्छौँ, किनकि हाम्रो देशमै शान्तिसिल र दयाका दुत भगवान् गौतम बुद्ध जन्मिएका हुन् । उनको शिक्षाबाट सिक्न सक्छौँ । समाजमा Civic sense को व्यवहारिक रूपले कार्यान्वयन हुन नसक्नु नै हाम्रो हजारौँ समस्याको जड भएको छ । आफ्नो अधिकारको लागि अर्काको अधिकार खोस्न हुन्न भन्ने सामान्य सोचलाई समेत हामीले व्यवहारमा उतार्न सकेका छैनौँ । हामी जो विदेशमा छौँ Civic sense भनेको के हो ? यसको महत्व कति छ ? कसरी लागू गर्न सकिन्छ ? भन्ने कुरो सिकेका छौँ । त्यसलाई व्यवहारमा उतार्न सरकार र नागरिकलाई अभिप्रेरित गर्नुपर्छ ।
देश नबन्नुमा आंशिकरूपमा दोष नेताहरूको भए पनि वास्तवमा नागरिक नै बढी जिम्मेवार छौँ । हाम्रो ढोके प्रवृत्ति, अल्छीपन, आडम्बर र इमान्दारिताको कमी पनि हो । समाजको विकृतिलाई हटाएर सु संस्कृति र सद्व्यवहार देखाउने दायित्व हाम्रो हो । नेताले तोडफोड गर, टायर बाल भन्छन् भने ‘यसो गर्नु अनुचित हो।। हामी यस्तो गर्दैनौँ’ भन्नु हाम्रो कर्तव्य हो । हामीले झुक्ने र झुकाउने प्रवृत्तिको अन्त्य गरौँ । ‘मानविय मूल्य र मान्यता’ को मर्मलाई व्यवहारमा उतार्ने अभियान चलाउ, प्रत्यक्ष वर्ग र क्षेत्रका नागरिकलाई आफ्नो हकहितको लागि कसरी प्रतिस्पर्धी बन्ने भन्ने कुराको चेतना जगाउनुपर्छ । वास्तवमा हामीले ठुलो आकाङ्क्षालाई इमान्दारिताको कसीमा राखेर अलिकति खुम्च्याउन सक्यौँ, आडम्बर त्यागेर आफ्नो हैसियतलाई इमानदारीपूर्वक समाजमा भिजाउन सक्यौँ र आफ्नो छिमेकी साथीभाइ वा आफूभन्दा दुःखी पीडितको दुःखमा सहभागी गराउन सक्यौँ भने हामी पनि आफ्नै देशमा खुशीसित रमाएर बस्न सक्छौँ हिंसा होइन प्रेम, विवाद होइन सहमति, अवरोध होइन सहयोग गर्नुपर्छ देश बनाउन र शान्ति कायम राख्न भन्ने कुरो विदेशिएका लाखौँ नेपाली बुझिसकेका छन् । दोस्रो दर्जाको नागरिक बनेर व्यक्तिगत मनोकाङ्क्षाको लागि विदेशमा पलायन नहोऔँ, आफ्नो देश आफैं बनाऔँ, लौ अब परदेशी होइन स्वदेशी बनौँ, स्वदेशी बोलौँ, स्वदेशी लगाऔँ, स्वदेश सम्हालौँ ।