26.1 C
Kathmandu

के भोलिको जिम्मेवार राजनीतिक दल रास्वपा बन्ला ?

देशमा अब केही राम्रो हुँदैन भन्ने सोचले हाम्रो मनोविज्ञानलाई निकै गहिरोसँग प्रभावित पारेको छ । आफ्नो उमेर समूह अनि सीप क्षमता अनुसार देश छाडेर हिँड्न अहिले सबै नागरिकहरूमा ठूलो उकुसमुकुस देखिन्छ । सन् २०२३ मा मात्र १७ लाखभन्दा बढी नेपालीले अवसरको खोजीमा देश छाडेको तथ्यांक छ। भ्रष्टाचारमा पहुँच पुग्नेहरू, दलीय स्वार्थ समूहका सदस्यहरू र बिचौलियाहरूको लागि मात्र यो देश स्वर्ग बनिरहेको छ । विस्तारै १८ देखि ४० वर्ष उमेर समूहका युवाहरू देशमा भेट्टाउन गाह्रो हुने अवस्था देखिदैछ । अहिले नै देशभित्र युवाहरू रित्तिँदै जाँदा यसको प्रभाव उच्च शिक्षामा भर्ना हुने विद्यार्थी संख्या, आन्तरिक पर्यटन, होटल व्यवसाय तथा रेस्टुरेन्टहरूमा देखिन थालिसकेको छ । अहिलेको नेपाली समाज निराशता, हीनताबोध, उकुसमुकुस तथा किंकर्तव्यविमूढताको मनोविज्ञानमा जेलिएको छ तर पनि मान्छेहरूमा आक्रोश देखिँदैन। कतै देशमा अब केही हुँदैन भन्ने चरम निराशाका कारण नेपालीहरू रिसाउन पनि छाडेका त होइनन्  ?

आर्थिक अवसर र सुरक्षालाई लिएर समाजमा देखा परिरहेको निराशा आजको भोलि विकसित भएको होइन । सामूहिक रूपमा निराश वा आशावादी हुन धेरै पटक हामीले समान खालका घटनाहरू अनुभव गर्नुपर्ने हुन्छ। राजनीतिक दल र नेतृत्वले बारम्बार देखाएका झुटा सपना तथा धोकाको शृंखलाहरूले आजको निराशाजनक अवस्था आएको हो । अर्थशास्त्रीय दृष्टिकोणमा हाम्रो सामूहिक निराशाका कारणहरू व्यक्तिभन्दा ठूला छन् र यो प्रत्यक्ष रूपमा हाम्रो राज्यको संरचनासँग जोडिएको छ। देशभित्रको सानो बजार, आन्तरिक उत्पादन निकै कम हुनु, आयातमुखी अर्थतन्त्र, व्यवसाय गर्न अप्ठ्यारै अप्ठ्यारो मात्र बिचौलिया अनि भ्रष्टाचारमैत्री कर्मचारीतन्त्र, न्यायालय तथा राजनीतिक दलहरू जस्ता कुराहरूले आम नागरिकहरूमा निराशा मात्र बढाएको छ । तीस चालीस वर्षसम्म दलीय नेतृत्व गरेर पटक–पटक असफल हुँदा पनि अहिले प्रायः तिनै पात्रहरू राष्ट्रिय राजनीतिको केन्द्रमा छन्। उनीहरू आफ्नो असफलताको लागि न त दण्डित छन् न त नेतृत्वबाट विस्थापित नै। अझै यो वा त्यो बहानामा आम नागरिकहरूलाई झुक्काउन सफल छन् ।

यही निराशा र आक्रोशको बीचमा हामी फरक हौं र फरक परिणाम ल्याउने गरी काम गर्छौ भनेर उदाएको पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)। ‘अब जान्नेलाई छान्ने’ भन्ने राजनीतिक नारा दिएर चुनावको मुखमा उदाएको नयाँ राजनीतिक दलले आम मानिसको मन जितेर चौथो ठूलो दल पनि बन्न पुग्यो । कांग्रेस, एमाले र माओवादीसँग आजित नागरिकहरूले एउटा विकल्पको रूपमा रास्वपालाई आफ्नो विद्रोही मत दिए । रास्वपासँग नागरिकको अपेक्षा ठूलो छ । सुशासन, राम्रो शिक्षा र स्वास्थ्य, पर्याप्त रोजगारीको अवसर, उद्यम गर्ने वातावरण, समय सुहाउँदो भौतिक पूर्वाधारको विकास अहिले नागरिकले पालेका अपेक्षा हुन् । रास्वपाको बाचापत्र यिनै विषयहरूले भरिभराउ छ । चौथो ठूलो दलको नाताले गठबन्धनको सरकारमा दुईदुई पटक सामेल भइसकेपछि रास्वपाले गठबन्धनको राजनीतिक संस्कार, आफ्नै पार्टी र देशको भविष्यको बारेमा धेरै प्रश्न उठाएको छ ।

पुराना दलहरूसँगै गठबन्धन गरेर यो देशका समस्या समाधान गर्न सकिने हो भने नयाँ राजनीतिक दलहरूको औचित्य अर्को आम निर्वाचन अगाडि नै समाप्त हुनेछ। वास्तवमा, हाम्रा समस्याहरू पुराना दलहरूभित्र छन्, पुराना दलहरूमा नेतृत्वले बोकेको सोच र कार्यशैलीभित्र छ, कर्मचारी संरचनाभित्र छन्, सार्वजनिक सेवाका लागि निर्माण गरिएका संस्थाहरूभित्र छन् । दुःखको कुरा, देशलाई असफलता र निराशाको भुमरीमा घुमाइरहेका दलहरू र नेतृत्वलाई वैधता प्रधान गरेर रास्वपाले आफूलाई यही राजनीतिक संस्कारको एउटा हिस्सा सावित गरिसकेको छ । पुराना दलहरू गलत राजनीतिक दर्शन र पार्टीभित्र असल क्षमतावान् मान्छेहरूको कमि भएर असफल बनेका होइनन् । सबै राजनीतिक दलहरू समाजमा आशा देखाएर अनि सामाजिक राजनीतिक मुद्दाहरूकै नेतृत्व गरेर उदाएका हुन् । रास्वपाको तुलनामा अहिलेका ठूला दलहरू कांग्रेस, एमाले र माओवादी निकै सङ्घर्षपूर्ण तथा त्यागको बाटो पार गर्दै आएका हुन् । यस्ता दलहरू पनि आजको दिनमा देशको सामाजिक आर्थिक रूपान्तरणको लागि अयोग्य देखा परेका छन् ।

दलभित्र असल र क्षमतावान् व्यक्तिको कमी भएर पुराना दलहरू असफल भएका होइनन् । यिनीहरूले राज्य सञ्चालनका संस्थाहरू (state institutions) जस्तै संसद्, मन्त्रालय, राजनीतिक दलहरू आदिको दिगो जग, सामूहिक र संस्थागत क्षमताको विकास गर्न नसक्दा हामी सबैले आजको परिणाम भोग्नुपरेको छ। त्यसैले, गठबन्धनमा कुनै नयाँ दल र अनुहारहरू थपिदैमा सरकार सञ्चालनको प्रकृतिमा त्यसले तात्त्‍विक फरक पार्न सक्दैन । यी पुराना दलहरूको असफलता र यसले राष्ट्रिय रुपमा निम्त्याएका परिणामहरू बुझ्न नखोजी यिनीहरूसँगै गठबन्धनको च्याँखे थाप्न जाने हतारोले रास्वपा जसरी उदायो, त्यसैगरी अस्ताउने बाटो रोजेको छ । गठबन्धनको पक्ष बनेर भागबन्डामा मन्त्री हुनेहरूको नैतिक र राजनीतिक धरातल कमजोर हुन्छ र यो बाटो नै गलत हो। यसले मन्त्री पदको वजन र वैधानिकतालाई खल्लो बनाइदिएको छ । गठबन्धनको सरकारमा रहेर मन्त्रीहरूले दैनिक प्रशासनिक काम (जुन काम गर्न मन्त्री भए पनि नभए पनि फरक पर्दैन) बाहेक परिणाममुखी काम गर्न सम्भव छैन । किनभने, हाम्रा मन्त्रालयहरूको क्षमता, संस्थागत संरचना, मन्त्रीहरूकै वैधानिकता, कर्मचारीहरूको काम गर्ने शैली र संस्कारमा समस्या मात्र छन् ।

यस्तो सरकारमा रहेका चतुरे मन्त्रीहरूले गर्ने काम भनेको धारावाहिक रूपमा निर्देशन दिइरहने र आफूलाई पपुलिज्मको वरिपरि घुमाइरहने हो । उदाहरणको लागि, पूर्व पर्यटन मन्त्री सुदन किराती लगायतले गठबन्धनका मन्त्रीहरू कसरी पपुलर हुनसक्छन् भनेर मार्ग निर्देशन गरिसकेका छन्। यो मार्गमा रास्वपा अरू दलका मन्त्रीहरू भन्दा अगाडि दौडिनेछ । चुनाव अगाडि बाचापत्र मार्फत आफूले निर्माण गर्न खोजेको राजनैतिक आधार र सीमा मिचेर गठबन्धनको राजनीतिमा सामेल रास्वपा कुन अर्थमा भोलिको विकल्प र जिम्मेवार राजनीतिक दल बन्न सक्ला  ? यो प्रश्नको जवाफ नमिल्दै रास्वपा अस्त पनि हुनसक्छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार