29.1 C
Kathmandu

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोशाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशमा उत्पादित पोशाक लगाउने व्यवस्था गर्न सरकारले सोच बनाएको बताउनुभएको छ ।

नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्वारा ललितपुरको महालक्ष्मी नगरपालिकामा आयोजित ‘विद्यमान व्यावसायिक समस्या तथा समाधान विषयक’ अन्तरक्रियामा उहाँले नेपाली पोशाकको प्रयोग पहिलो चरणमा सबै मन्त्रीहरुले गर्ने बताउनुभयो ।

वर्तमान सरकार स्वदेशी उत्पादन बढाउने ध्येयका साथ लागेको उल्लेख गर्दै मन्त्री भण्डारीले भन्नुभयो, “हप्तामा दुई दिन नेपाली कोट, पाइन्ट, जुत्ता, टोपी शिरदेखि पाउसम्म राज्यका सबै निकायमा उपभोग गर्ने नीति हामी ल्याउँदै छौँ, पहिला सबै मन्त्री त्यसपछि सांसद र स्थानीय तहका जनप्रतिनिधिले लगाउने छन् ।”

उहाँले नेपाली बजारमा स्वदेशी उत्पादनको क्षमता अध्ययन गरी सोहीअनुसार बजार वृद्धि गरेर राज्यका हरेक निकायमा सो पोशाक लगाउन अनिवार्य गरिने बताउनुभयो । “नेपाली उद्योगले दिन सक्छन् कि सक्दैनन् पहिला विस्तृत रुपमा उत्पादनको अवस्था अध्ययन गरेर त्यसपछि उत्पादनमा प्रोत्साहन गरिने छ”, उहाँले भन्नुभयो ।

नेपाली बजारमा निर्यातभन्दा आयात उच्च रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले सरकार निर्यात प्रवद्र्धनमा केन्द्रीत हुने बताउनुभयो । सरकारको मुख्य अहिलेको धेय जनतामा उत्पन्न भएको निरासालाई आशामा बदल्ने रहेको उहाँको भनाइ थियो । सरकारले अघि सारेको उत्पादन वृद्धिका लागि ‘स्टार्ट अप’ नीति कार्यक्रमलाई केही दिनभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी गराउनुभयो ।

‘प्रधानमन्त्री नेपाली उत्पादन कार्यक्रम’ आगामी आर्थिक वर्षबाट प्रभावकारी बनाउने गरी अर्को मन्त्रिपरिषद् बैठकबाट कार्यविधि पारित गरेर नेपालका स्वदेशी वस्तु उत्पादनमा अभिप्ररित गर्ने अगाडि बढाइने उहाँले जानकारी गराउनुभयो । नेपाली वस्तुले बजार नपाएको सन्दर्भ उल्लेख गर्दै उहाँले उद्योग मन्त्रालयबाट निर्यातमुखी व्यवसाय सञ्चालनका लागि आवश्यक तालीम तथा सीपको व्यवस्था गरिने बताउनुभयो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार