28.1 C
Kathmandu

सुशासनका लागि नागरिकको खबरदारी आवश्यक 

जनताले जनताद्वारा जनताकै लागि गरिने शासन आएको सात दशक बढी भयो । तर, यहाँ त जनता नै नामेट भए ! प्रायः सबै पार्टीका झोले कार्यकर्ता बने । संगठन बनाएर लुट मच्चाए । कुनै पार्टीमा आबद्ध नभएको व्यक्तिलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्न थाले । राजनीतिलाई सेवा भन्ने गरिन्छ । तर, नेपालमा राजनीति व्यापार बनेको छ । कार्यकर्ता टोले गुन्डा बनेका छन् ! दलहरू सत्तामा लिप्त् छन् । उनीहरूको प्रवृत्ति हेर्दा लाग्छ, दल भने जनता लुट्न बनेको एउटा वैधानिक संगठनमात्रै हो । पालैपालो मिलिजुली लुटिरहन्छन् । हुन त ‘सत्य कुरा तितो नै हुन्छ’ भन्छन् । तितोले फाइदा गर्छ र गुलियोले हानी गर्छ भन्ने प्रायः सबैलाई थाहा भए पनि धेरैले मन पर्ने भनेको गुलियो नै हो, खानेकुरा होस् या बोली । नेताको गुलियो कुरामा कति जनता फसे, कति ठगिए भन्ने हिसाबकिताब नै छैन । यहाँ ‘चिप्लो जिब्रो, मन कालो’ भएका धेरै छन् । जसले राजनीति शब्द नै घृणित बनायो ।

दलको प्रवृत्तिले जनता वाक्कदिक्क भएका छन् । नेताप्रति चरम वितृष्णा छ । चियागफदेखि सामाजिक सञ्जालका टिप्पणीहरू हेर्दा त्यस्तै लाग्छ । ‘नेता खत्तम भए, देश बिगारे, नेता काम लागेनन्’ भन्ने जस्ता अभिव्यक्ति गाउँ सहरमा धेरैको मुखबाट सुनिन्छ । हामीले देश नेतालाई जिम्मा दियौँ । नेताले विदेशीलाई दियो । सरकार उनीहरूकै चाहना बन्छ । उनीहरूकै इसारामा चल्छ । योभन्दा लाजमर्दो अवस्था अर्को के नै हुन सक्ला र रु यस्ता दल र नेताबाट आशा राख्नु र आत्महत्या गर्नु एउटै हो । जसको सरकार बनेपनि देश र जनताको लागि कहिल्यै सोच्दैनन् । राजनीतिप्रति वितृष्णा जाग्नु र नेतालाई यसरी गाली गर्नु उनीहरूकै कामको प्रतिफल हो । चुनाव आएपछि आश्वासनको पोको लिएर मतदातासामु पुग्छन् । जनता आफ्नो सबथोक भएको बताउँछन् । चुनाव जितेर गएपछि फर्केर हेर्दैनन् । जनता केही होइन ठान्छन् । सबथोक सत्ता र कुर्सी बन्छ । जनताको समस्या एउटा कानले सुन्छन् । र, अर्को कानले उडाउँछन् । जोसँग स्वार्थ मिल्छ, त्यहीसँग मिल्छन् । लुट मच्चाउँछन् । पार्टी देश र जनताको लागि नभएर मोजमस्तीका लागि बनेको छ । पार्टी समाज परिवर्तन, मुलुकको समृद्धि र विकासका लागि होइन पद, प्रतिष्ठा र पैसाको लागि हो ।

राणा शासनदेखि संघीय गणतन्त्रसम्म स्थापना गर्न लामो संघर्ष गरेका नेताका महत्वपूर्ण योगदानलाई कदापि भुल्न हुँदैन । तर, नेताले आफ्ना आदर्श, सिद्धान्त र सङ्घर्षका गाथा बिर्सिसके । व्यक्तिगत स्वार्थमा केन्द्रित भएका छन् । विश्वेश्वरप्रसाद कोइराला र पुष्पलालका सिद्धान्त, नैतिकता र विचार घाटमा सेलाइसके । भ्रष्टाचार, स्वेच्छाचारिता, व्यक्तिवादी सोच मात्रै छ । राजनीतिलाई ठेकेदार, व्यापारी र स्वार्थ समूहसँग मिलेर पैसा कमाउने माध्यम बनाएका छन् । ‘पैसा कमाउन राजनीति गर्ने कि व्यापार रु भनेर सोध्यो भने राजनीति रोज्छु भन्न थालेका छन् । काम पनि सजिलो । एउटा नेता वा मन्त्री समात्यो, प्रहरी कर्मचारीको सरुवा बढुवा गर्यो, २/४ लाख झरिहाल्छ । अझ ठेक्कापट्टा हात लाग्यो भने २/४ करोडै हात पर्छ । चुनावका बेला ठूल्ठूला आश्वासन बाँड्छन् । घोषणापत्र पनि उस्तै हुन्छन्, प्रेमीले प्रेमिकालाई तिम्रो लागि आकाशका जुनतारा झारिदिन्छु भनेजस्तै । प्रेमीले प्रेमिकाको लागि जुनतारा झार्नु र नेताले चुनाव बेला गरेका बाचा पूरा गर्नु उस्तै हो, कहिल्यै पूरा हुँदैन । नेता र दलहरूले देशका लागि कहिल्यै सोचेनन् । सत्ताको लागि मात्रै सोचे । पार्टी र कार्यकर्ताको मन्त्री/प्रधानमन्त्री बने । जनताका कहिल्यै बनेनन् । जुनसुकै शासन व्यवस्था आएपनि दलहरूले जनतालाई रैती सम्झिए, आफूलाई बिर्तावाल १ सधैँ मिलिजुली सरकार । पालैपालो देश चुसिरह्यो । जसले गर्दा देशमा दुर्दशा थपिँदै गयो । जनस्तरमा निराशा बढ्यो । तर, नेताहरू भने देश कायापलट गर्ने फतुर गफ लगाउन छाडेनन् ।

बिरालोले दिसा लुकाएजस्तो आफूले बिगारेका छरपस्ट यथार्थहरू लुकाए । देश सप्रेको भ्रामक आँकडा गर्वका साथ प्रस्तुत गरिरहे । जनतालाई बग्रेल्ती सपना देखाए । कामको सिन्को सारेनन् । जनतालाई मूर्ख बनाउन कुनै कसर बाँकी राखेनन् । देश र जनताको लागि भनेर गरेको राजनीति आफन्त र आसेपासेको लागि मात्रै भयो । श्रीमती, छोराछोरी, बुहारी, भान्जाभान्जी, सालासाली, गर्लफ्रेन्ड, बिचौलिया, तस्कर, व्यापारी, भ्रष्टाचारी, माफियालाई पद बाँडेको रमिताले जनता अघाइसके । गणतन्त्र आएपछि जनतालाई लागेको थियो– सामाजिक र आर्थिक अवस्थामा बदलाव आउँछ । तर, यो आशा विश्वासमा परिणत हुन सकेन । आशामा खिया लाग्यो । दलहरूप्रति निराशा छछल्कियो । र, पोखिन थाल्यो । नेतालाई सरकार बनाउने र ढाल्ने प्रक्रियामा मात्र चासो छ । जनताको समस्यामा कसैको चासो छैन । यसरी त कतिन्जेल चल्ला र देश ? जन्मिनेबित्तिकै विदेशीको ऋणी बन्नुपर्छ । त्यसैले बच्चा पाउन विदेशिन थालेका छन् । यस्तो अर्थहीन राजनीति कहिलेसम्म चल्ने हो, नेताज्यूहरू ? समस्या कहाँ र किन भयो ? अब जनता जान्न चाहन्छन् । नेतृत्वले जवाफ दिनैपर्छ । जनताले सिद्धान्त र वाद खोजेको होइन । सुशासन खोजेका हुन् । रोजगारी खोजेका हुन् । स्वच्छ खानेपानी खोजेका हुन् । शिक्षा, स्वास्थ्य खोजेका हुन् । विकास खोजेका हुन् ।

जनताले त ‘शिक्षावाद, स्वास्थ्यवाद, रोजगारवाद’ खोजेका छन् । जनताले महँगी कम गर्ने वाद खोजेका छन् । जनता ‘सुरक्षावाद’को खोजीमा छन् । हाम्रा चेलीबेटीहरू निर्धक्क भएर घर फर्किन सकुन् । जनताले जात र रङको राजनीति खोजेका छैनन् । एकअर्कामाथि आक्रमण गर्ने, कालोमोसो दल्ने कार्यकर्ता पनि खोजेका होइनन् । जनताले ‘मेलमिलापवाद’ खोजेको हो । व्यवस्था र पात्र नयाँ भए । तर, प्रवृत्ति उही पुरानै छ  । सोच्नुस् त, तपाईँले छानेको जनप्रतिनिधिले कति वाचा पूरा गरे ? हाम्रा नेताले जनताको विषयमा कहिल्यै चिन्ता देखाएनन् । योभन्दा दुःखको विषय अरू के हुन सक्छ र ? योभन्दा ठूलो विडम्बना के सक्छ र ? यसको मूल्याङ्कन हामीले कहिले गर्ने ? हामीले देश नेतालाई जिम्मा दियौँ । नेताले विदेशीलाई दियो । सरकार उनीहरूकै चाहना बन्छ । उनीहरूकै इसारामा चल्छ । त्यसैले बारम्बार छिमेकीबाटै हेपिन्छौँ । योभन्दा लाजमर्दो अवस्था अर्को के नै हुन सक्ला र रु ? यस्ता दल र नेताबाट आशा राख्नु र आत्महत्या गर्नु एउटै हो । जसको सरकार बनेपनि देश र जनताको लागि कहिल्यै सोच्दैनन्

अब अन्तिम विकल्प भनेको जनताको गठबन्धन हो । देश र जनताको लागि काम नगर्ने, वाचा पूरा नगर्ने नेतालाई बहिष्कार गर्नुपर्छ । भ्रष्टाचारी नेतालाई जहाँ भेट्यो, त्यही कालोमोसो दल्ने अभियान चलाउनुपर्छ । लखेट्नु पर्छ । जसरी श्रीलङ्कामा लखेटे । सबै शक्ति र कानून हातमा लिएकाहरूलाई लाग्न सक्छ, कसैले केही गर्न सक्दैनन् । हिजो राणा र राजाहरूले पनि यही सोच्थे । तर, उनीहरूको हबिगत सबैलाई थाहै छ । मर्ने बेला कमिलाको पखेटा पलाउँछ रे, अहिलेका हाम्रा नेताहरूको पनि पखेटा पलाएको छ । अहिलेका दल र नेता देशका लागि बोझ भएको छ । यस्ता भ्रष्ट नेताहरूलाई बहिष्कारको अभियान चलाउन ढिला गर्नु हुँदैन । त्यसको लागि जनता सचेत बन्न जरुरी छ । नागरिकको खबरदारी आवश्यक छ । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार