30.1 C
Kathmandu

अनुशासित व्यवहार र सन्तुलित जीवन पद्धति नै आध्यात्मिकता 

संसारमा तीन किसिमका मानिस छन्, ईश्वरवादी, अनीश्वरवादी र ईश्वर मरिसक्यो भन्ने । ईश्वरवादी ईश्वर छन् भन्छन्, उनकै कारण जीवन र जगत चलेको छ भन्ने मान्यता राख्छन् । अनीश्वरवादी ईश्वरको कुरा नै बकवास हुन् । जीवन र जगतसम्बन्धी यावत गतिविधि प्रकृतिबाट स्वतः हुन्छ भन्ने गर्छन् । त्यस्तै ईश्वर मरिसक्यो भन्नेहरू भने ईश्वर थियो थिएन भन्ने होइन बरु ऊ मरिसक्यो भन्ने हो भन्ने  मान्यता राख्छन् । तथापि वास्तविकता के हो भने न ईश्वर छन् भन्नेहरूले यस्तै हुन्छन् भनेर देखेका छन्, देखाउन सकेका । न छैन भन्नेहरू र मर्यो भन्नेहरूको मत नै सर्वमान्य हुन सकेका छन् । सबै आआफ्नै तर्क पेश गरिरहेका छन्, आआफ्नै डम्फू बजाइरहेका छन् । थाहा छैन ईश्वर छन् कि छैनन् भए पनि कस्ता छन् तर कुनै न कुनैरूपमा ईश्वरीय अस्तित्व भने पक्कै छ, जसले सारा संसार बनाएको छ, चलाएको छ, खेलाएको छ, नचाएको छ र हँसाएको छ ।  आउनुस् केही उदाहरणद्वारा यिनलाई नियाल्ने प्रयास गरौँ ।

जस्तो हामीलाई थाहा छ, एउटा सानो यन्त्रलाई चलाउन पनि कुशल चालकको आवश्यकता पर्छ । नत्र कुनै पनि बेला दुर्घटना हुन पुग्छ । यस्तो अवस्थामा हामी नै भन्न सक्छौँ– के यति ठूलो ब्रह्माण्ड आफूखुसी सुचारू हुन सकेको होला ? के उसका पछाडि कुनै चालक वा निर्देशक छैन होला ? पृथिवी छ, उसको विशेषता छ, ग्रहहरू छन् नक्षत्रहरू छन् । जो निरन्तर अनन्तमा झुन्डिएर हिँडेका छन्, आआफ्ना काम गरिरहेका छन् । न दुर्घटना छ, न थकाइ भन्ने नै कतै देखिन्छ । कुनै कुशल चालकविना आफैँ यस्तो कसरी सम्भव हुन्छ ? सानो यन्त्रलाई निर्वाध चल्न त चालक चाहिन्छ भने विश्वब्रह्माण्डका व्यवस्थापन जस्तो कुरा बिनाचालक कसरी सम्भव हुन्छ ? हुँदैन, पक्कै हुँदैन । यसका पछाडि कुनै न कुनै अदृष्य शक्ति छ, जसले यी सब गराएको छ । हो यही नै ईश्वरीय अस्तित्व हुनुको वा छ भन्नुको पहिलो प्रमाण हो । आध्यात्मिक हुन मठमन्दिर चहार्दै हिँड्नु पनि पर्दैन, यज्ञ अनुष्ठानको पछि लाग्न पनि पर्दैन । चन्दन धारण गरी गेरु वस्त्र लगाउँदै हिँड्न त झनै पर्दैन । मात्र अनुशासित व्यवहार र सन्तुलित जीवन पद्धति भए पुग्छ ।

दोस्रो कुरा हामीले आकाशमा जहाज उडेको देखेका छौँ । कतिले चढेका छौँ । कतिले के धेरैले चढेका छौँ ।  जहाज आफैँ सयौँ टनको छ । त्यसमाथि हजारौँ यात्री छन्, तिनका समान छन्, जसलाई बोकेर आकाशमा उडेको छ । के यो पनि कम आश्चर्यको कुरा हो र ? तर आश्चर्य मान्नुपर्दैन । किनकि त्यहाँ समन्वय छ, सङ्गति छ । ज्ञान र विज्ञानको समन्वय र सङ्गति,  ईश्वर निर्मित हावा र मानव निर्मित यन्त्रको समन्वय र सङ्गति । अव हामी नै भनौँ त्यो समन्वय र सङ्गति मिलाउने को होला ? कतिलाई लाग्न सक्छ यस्तो काम चालकले गरेको हुन्छ तर त्यसो होइन । हो, रूपमा त त्यही हो तर सारमा होइन । सारमा त यही हो कि चालकले गर्ने भनेको त्यस समन्वय र सङ्गतिलाई बिग्रन नदिनु, असन्तुलित हुन नदिनु मात्र हो । मिलाउने काम त उही अदृष्य शक्तिले नै गरेको हुन्छ, जसलाई केही भन्छन्, कोही केही । अदृष्ट भन्ने पनि छन्, प्राकृतिक शक्ति भन्ने पनि छन्, हिग्सबोशन भन्नेहरू पनि छन् । जसले जे भने पनि नाम मात्र फरक हो आखिर हो उही ईश्वरीय सत्ता नै । ईश्वरीय अस्तित्व हुनुको अर्को प्रमाण हो यो ।

यी त भए विज्ञानका कुरा । एक छिन हेरौँ आफ्नै शरीरलाई । हाम्रो शरीर पनि आफैँमा कम चमत्कार होइन । लाखौँ तत्व र तन्तुहरू मिलेर बनेको छ । सबै आआफ्ना काममा सक्रिय छन् । पञ्चकोष अर्थात् अन्नमय कोष, प्राणमय कोष, विज्ञानमय कोष, मनोमय कोष र आनन्दमय कोष छन् । नव प्रणाली अर्थात् अस्थि प्रणाली, मांसपेशी प्रणाली, रक्तसञ्चार प्रणाली, श्वासप्रश्वास प्रणाली आदि विभिन्न प्रणाली आफैँ सक्रिय भइरहेका छन् । के यस्तो चमत्कार कुनै वैज्ञानिक प्रयोगशालामा सम्भव होला ? हुँदैन, पक्कै हुँदैन । विज्ञानले भोजनसम्म तयार पार्न सक्छ भोक निर्माण गर्न सक्दैन । सुत्ने स्थान दिन सक्छ निद्रा दिन सक्दैन । साधन दिन सक्छ शान्ति दिन सक्दैन । खान दिन सक्छ पचाउन सक्दैन । विसर्जन गर्नुपर्छ भन्छ  विसर्जन गराउन सक्दैन । शरीरले गर्ने काम शरीरले गरेको छ । मनले गर्ने काम मनले गरेको छ । बुद्धिले गर्ने काम बुद्धिले गरेको छ, मस्तिष्कले गर्ने काम मस्तिष्कले गरेको छ । मुटु, कलेजो, फोक्साको अवस्था त्यस्तै छ । यहाँ पनि हामी नै भन्न सक्छौँ यी सब गर्ने, गराउने को होला ? पक्कै उही अदृष्य शक्ति वा ईश्वरीय सत्ता नै हो । त्यसैले यो पनि ईश्वरीय सत्ता हुनुको अर्को प्रमाण हो ।

विज्ञानले गर्ने भनेको बिग्रेको अङ्गलाई मर्मत गर्नेसम्म हो । त्यस्तै परे ओभरहलसम्म गर्न सक्ला तर निर्माण गर्न सक्दैन । निर्माण गर्ने त यही ईश्वरी सत्ताले नै हो । यद्यपि आधुनिक दार्शनिक खासगरी मार्क्सवादीहरू यी सब आफैँ हुन्छ, प्रकृतिले नै यसको तारतम्य मिलाएको हुन्छ भन्छन् तर प्रकृतिलाई पनि चलाउने वा व्यवस्थित गर्ने कुनै तत्व त हुनैपर्छ । अब प्रश्न उठ्न सक्छ त्यसो भए उसलाई बनाउने चाहिँ को हो त ? प्रश्न गम्भीर छ, तर उत्तर गाह्रो छैन । ऊ त आफैँ भएको स्वयम्भू हो । उसलाई कसैले बनाउनै पर्दैन, बनाउनै सक्दैन । ऊ आफैँ यति बढी सर्वव्यापक, सर्व शक्तिवान् र सर्वगुण सम्पन्न छ कि आफूलाई बनाउन पनि सक्छ र अरूलाई बनाउन पनि सक्छ ।

त्यसैले ईश्वर छन् कि छैनन् भन्ने चक्करमा पर्नुभन्दा उसको सत्तालाई स्वीकार्नुको विकल्प छैन । यही नै आत्मिक अनुशासन हो अनि यही नै आध्यात्मिकता हो । आध्यात्मिकता भनेको सन्तुलित र अनुशासित जीवन पद्धतिकै अर्को नाम हो । आध्यात्मिक हुन मठमन्दिर चहार्दै हिँड्नु पनि पर्दैन, यज्ञ अनुष्ठानको पछि लाग्न पनि पर्दैन । चन्दन धारण गरी गेरु वस्त्र लगाउँदै हिँड्न त झनै पर्दैन । मात्र अनुशासित व्यवहार र सन्तुलित जीवन पद्धति भए पुग्छ । जहाँ यस्तो हुन्छ त्यहाँ स्वतः ईश्वरीय अस्तित्व रहेको हुन्छ, ईश्वरीय अस्तित्वले काम गरेको हुन्छ । अनि जहाँ ईश्वरीय अस्तित्वले काम गरेको हुन्छ, त्यहाँ सबै काम स्वतः भइरहेका हुन्छन् । यही नै सत्य हो, यही नै शिव हो अनि यही नै सत्यम् शिवम् सुन्दरम्‌ हो । अस्तु अहिलेलाई यति नै ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार