29.1 C
Kathmandu

आफ्नै कार्यकक्ष बनाउँदा गरेको खर्चले फसायो बोर्डको सीईओलाई, ४ वर्षको नियुक्त दुई वर्ष नपुग्दै गुम्ने

काठमाडौं । पर्यटन बोर्डका प्रमुख कार्याकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीलाई आफ्नै कार्यकक्ष बनाउँदा गरेको रकमले डुउने भएको छ । उनलले आर्थिक अनियमितता गरेकोले उनलाई कारवाही गर्नुपर्ने निष्कर्ष छानविन समितिले निकालेको छ ।

पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल संयोजकत्वको ३ सदस्यीय छानविन समितिले सीईओ रेग्मीको खराब आचरणदेखि पर्यटन बोर्डलाइ नोक्सानी पुर्याउने र पदीय मर्यादा विपरित सुन तस्करीमा संलग्न भएकोसम्मको निष्कर्ष निकालेको छ । रिजालको संयोजकत्वमा पर्यटन बोर्ड सञ्चालक समितिले २ पुसमा गठन गरेको उक्त समितिले सोमबार पर्यटन सचिव तथा बोर्ड अध्यक्ष महेश्वर न्यौपानेलाई प्रतिवदेन बुझाएको छ ।

उक्त प्रतिवेदनमा सीईओ रेग्मीले सार्वजनिक खरिद ऐन विपरित निर्माण तथा खरिद कार्यलाई टुक्रा टुक्रा पारेर फरक समयमा काम गरेको देखाएका छन । एकै समयमा र एउटै प्याकेजको उक्त काम अनियमित ढंगले गरेको उल्लेख छ । रेग्मीले आफ्नै कार्यकक्ष र सचिवालय मर्मत गर्दा ‘सार्वजनिक खरिद ऐन २०६३’ र ‘पर्यटन बोर्ड आर्थिक तथा खरिद विनियमावली २०७२’ विपरित एउटै प्रकृतिको खर्चलाई टुक्रा गरेर आफू अनुकुल खर्च गरेका थिए ।

एउटै प्याकेजमा खर्च गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावली आकर्षित हुन्छ । यसमा खुल्ला प्रतिस्पर्धाबाट काम दिनुपर्ने हुँदाहुँदै रेग्मीले आफूखुशी बोर्ड सचिवालय बनाएका थिए । उनले आफ्नै कार्यकक्ष बनाउन गरेको २८ लाख ५९ हजार रुपियाँ खर्च विभिन्न आठ वटा टुक्रा गरेर काम लगाएका थिए ।

सीईओ रेग्मीले गरेको अनियमितताको कार्यमा असहयोग गर्ने कर्मचारीलाई अमर्यादित व्यवहार गर्ने र सरुवा समेत गरेका थिए । यो कार्यबाट आफ्नो अनियमितता ढाकछोप गर्दै कागज मिलाउन खोजेको पनि छानविन समितिको प्रतिवेदनमा उल्लेख छ । रेग्मीले गरेको आर्थिक अनियमितताको विषयमा थप अनुसन्धान गरी कारवाही गर्न पनि छानविन समितिले सिफारिश गरेको छ । छानविन समितिले रेग्मीको अनुचित र कानून प्रतिकूल हुने गरी गरेका कामको सम्बन्धमा बोर्डले उनलाई निलम्बन गर्न समेत सुझाव दिएको छ ।

छानविन समितिले पर्यटन बोर्डको कार्यकारी समितिको बैठकबाट विभिन्न समयमा भएका निर्णय निर्देशनहरूको कार्यान्वयन अवस्थाको अध्ययन गरेको छ । उक्त अध्ययनबाट पर्यटन बोर्ड सञ्चलक समितिले गरेको निर्णय कार्यान्वयन समेत नहुने गरेको उल्लेख छ । रेग्मीले निर्णय नै नभएको र अधिकार नभएको क्षेत्रमा पनि काम गर्ने गरेको पाइएको छ ।

बोर्ड सीईओले नै पर्यटनको प्रवद्र्धन र विकासमा नै अन्योल उत्पन्न हुने गरी कार्य गरेको छानविन समितिको निष्कर्ष छ ।
बोर्डले विभिन्न सरोकारवालसँगको बैठक तथा छलफलको नाममा स्वीकृत कार्यक्रम, कार्यदिशा र सहभागिताको विवरण नै नराखी खर्च गर्ने गरेको पनि छानविन समितिले फेला पारेको छ । समितिको प्रतिवेदनका अनुसार रेग्मीले बोर्डको स्रोत दुरुपयोग गरेर होटल तथा रेस्टुरेन्टमा भएको खर्चलाई बोर्डबाट हिसाव मिलना गरेका छन् । यस्तो खर्चको आवश्यकता र औचित्य पुष्टि हुने आधार नै नभएको फेला परेको छ ।

रेग्मीले वल्र्ड ट्राभल मार्ट (डब्लुटीएम)मा सहभागि हुने पर्यटन बोर्ड संचालक समितिले दिएको निर्देशन र स्वीकृत कार्यक्रम विपरित ६ जना पर्यटन व्यवसायीलाई मात्रै कार्यक्रममा सहभागि गराएको पाइएको छ । यो कार्यक्रमा एक करोडभन्दा बढी खर्च भएको छ । बोर्डको सञ्चालक समिति र बजेट तथा कार्यक्रमको निर्णय विपरित रेग्मीले गरेको यस्तो खर्च पुष्टि भएको छैन । उक्त खर्च कानून विपरित भएको पनि छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।

सीईओ रेग्मीले जियोग्राफिकल इन्फरमेसन सिस्टम (जीआईएस) परियोजना कार्यान्वयन गर्दा आर्थिक अनियमिताता गरेर बोर्डर्लाइ हानी नोक्सानी पुर्याएको उल्लेख छ । उनले पर्यटन बोर्डको कार्यकारी समिति र बजेटले निर्दिष्ट गरेको योजना विपरित जीआईएसको सम्झौता गरेर ४ करोड ७३ लाख ४८ हजार रुपैयाँ खर्चिएका छन । उक्त जिआईएस निर्माण गर्ने जिम्मा त्रिभुवन विश्वविद्यालयलाई दिइएको भएपनि तोकिएको भन्दा कम खर्च गर्ने गरी सम्झौता गरेको फेला परेको छ ।

यस्तो सम्झौता र खर्चले पर्यटन बोर्डलाई आर्थिक नोक्सानी पुराएको पनि उल्लेख छ । यो कार्यक्रम गत वर्षको पर्यटन बोर्डको बजेटमा राखेर सोही वर्ष नै सक्ने भन्ने थियो । तर, रेग्मीको दबाबमा चालू आवको लागि पनि यो कार्यक्रमलाई बोर्डको बजेटबाट निरन्तरता दिएको पनि उल्लेख छ ।

बोर्डले ठूला र दीर्घकालिन दायित्व पर्ने यस्तो जीआईएस जस्तो कार्यक्रम सञ्चालन गर्दा त्यसको अध्ययन, सम्भाव्यता, लागत, लाभ, उपयोगिताको रणनीतिसहितका विषयलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ । तर, सीईओ रेग्मीले सो विपरित काम गरेको र खर्चको प्रभावकारिता, औचित्य र उपयोगिता एकीन नगरेको पनि उल्लेख छ ।

बोर्डका सीईओ रेग्मीले आफू अनुकुल प्रादेशिक कार्यालय सञ्चालन गर्न खोजेको पनि उल्लेख छ । उनले ७ वटै प्रदेशमा संरचना रहने गरी कार्यगत शर्त तोकेर आन्तरिक पर्यटन पुनरुत्थान समिति बनाएका थिए । उक्त समिति कानून र कार्यकारी समितिको निर्णय विना आर्थिक भार पर्ने गरी गठन गरेका थिए । रेग्मीले सोही काम गर्न कुनै आधा विना नै कर्मचारी खटाएर बोर्डको स्रोतको दूरुपयोग गरेको पनि छानविन समितिको प्रतिवेदनले औल्याएको छ ।

उनले प्रादेशिक कार्यालय तथा सूचना केन्द्र, कर्मचारीको कार्यसम्पादन मूल्यांकन, समितिसँग हुने आफ्नो र आफू मातहतका महाशाखा प्रमुखबीच हुने कार्यसम्पादन सम्झौता विपरित काम गर्न लगाएको तथ्य छानविन समितिले औल्याएको छ ।

कर्मचारीको नियमित हाजिरी व्यवस्थापन, करारका कर्मचारी व्यवस्थापनजस्ता कार्यालय सञ्चालनको लागि गरको काम समेत बोर्ड ऐन विपरित भएको छ । उनले कर्मचारीप्रतिको व्यवहार पनि मानवीय र पदीय आचरण अनुकुल नरहेको देखिएको छ । रेग्मीले कर्मचारीलाई अनावश्यक दुःख दिने र पदीय आचारण विपरित गालि गर्ने र सरुवा गरेका थिए ।

बोर्डका सीईओ रेग्मीले पदीय मर्यादा विपरित सुन तस्करीमा समेत संलग्न रहेको छानविन समितिको प्रतिवेदनले औल्याएको छ । रेग्मीले अवैध रूपमा सुन चोरी पैठारी सम्बन्धि मुद्दामा संलग्न भएका थिए । रेग्मीले गैरकानूनी तवरबाट भन्सार छली चोरी पैठारी गरेको ठहर भइसकेको छ ।

उनले ल्याएको सुन जफतसहित जरीवाना पनि तिरेका छन । सुन तस्करी गर्ने र चोरी पैठारी गर्ने कार्य गरेको रेग्मी सार्वजनिक पदमा रहिरहन आचरणको दृष्टिले समेत नमिल्ने भएकाले उनलाई निलम्बन गरेर थप कारवाही गर्न छानविन समितिले सुझाव दिएको छ ।

साथै उनले २० कात्तिकमा भन्सार छलेर ल्याएको ६ बोतल मदिरा ल्याउँदा भन्सारका कर्मचारीलाई गरेको दुव्र्यावहार सहनयोग्य नभएको पनि उल्लेख छ । अन्तर्राष्ट्रिय स्तरमा पुगेर पर्यटन प्रवद्र्धन गर्ने व्यक्ति तथा सार्ववजनिक पदमा रहेको व्यक्तिले गरको पदीय मर्यादा र आचरण विपरित उनले कार्य गरेको निष्कर्षमा छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार