26.1 C
Kathmandu

पर्यटनमा महिला सहभागिताले आत्मनिर्भरता बढ्दो 

काठमाडौं । पर्यटन क्षेत्रमा महिलाको सहभागिता वृद्धि हुँदा उनीहरूमा आत्मनिर्भरता समेत बढ्दै गइरहेको सरोकारवालाहरूले बताएका छन् । यद्यपि पर्यटन क्षेत्रमा महिलाहरूलाई टिकाइराख्न भने समस्या देखिएको उनीहरूको तर्क छ । ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाण्डौमा आयोजना गरिएको “पर्यटनमा महिला सहभागिताः अवस्था, चुनौती र सम्भावना” विषयमा परामर्श कार्यशालामा बोल्दै सम्बन्धित संघ संस्थाहरूका अधिकारीहरूले यस्तो धारणा व्यक्त गरेका हुन । 

नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को सहलगानीमा सञ्चालित परियोजना जिविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले नारी दिवसको अवसरमा कार्यशाला आयोजना गरेको थियो ।

पर्यटन बोर्डमा आयोजित समुह छलफल (प्यानल डिस्कर्सन) मा सहभागीले यो क्षेत्रमा महिला सहभागिता बढेको, सहभागिता वृद्धि हुँदा आयआर्जनमा पहुँच पुगेको र आत्मनिर्भर बन्दै भएको बताए । यद्यपि निरन्तरताको कमीले पेशा छाड्नेहरू पनि बढ्दै गइरहेको जानकारी दिए । यता कार्यक्रममा सहभागीहरूले भने आफूहरूले पर्यटनका विभिन्न विषयमा तालिम लिएपनि काम नपाएको गुनासो गरे । उनीहरूले तालीम लिएर काम गर्ने इच्छा भएपनि अवसर नपाएको बताउँदै तालिमपछि रोजगारीमा जोड्न सहयोग गर्नु पर्ने धारणा राखे । कार्यशालामा व्यवसायीले कामदार नपाउने र कामदारले काम नपाउने अवस्था पर्यटन क्षेत्रमा पनि रहेको उनीहरूले उल्लेख गरे ।

सो अवसरमा हस्पिटालिटी, एयरलाइन्स ,ट्रेकिङ, माउन्टेनियरिङ, रिभर गाइड लगायतका क्षेत्रमा महिलाको सहभागिता बढ्दै गइरहेको र नेपालको समग्र पर्यटन क्षेत्रमा करिब २० प्रतिशत महिलाको सहभागिता पर्यटनमा रहेको सो अवसरमा जानकारी दिइयो ।

छलफल कार्यक्रममा होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापा, नेपाली माटोकी अध्यक्ष देविका बुढाथोकी, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) का सचिव युविका राजभण्डारी, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाई र हिमाल आरोही कल्पना महर्जनले पर्यटन क्षेत्रमा महिलाको सहभागिता र चुनौती र अवसरमा बारेमा क्षेत्रगत धारणा राख्नु भएको थियो ।

पर्यटनका विभिन्न क्षेत्रका महिलाहरूको उपस्थिति रहेको उक्त कार्यशालामा (एसटीएलआरपीका) जिविकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले कोभिडपछि हालसम्म पर्यटन क्षेत्रमा गरेका कामहरूका बारेमा जानकारी दिँदै परियोजनाले सहरसँगै विभिन्न ग्रामीण वस्तीका महिलाहरूलाई पर्यटन क्षेत्रमा ल्याउन विभिन्न तालिम सञ्चालन गरेको बताउनु भयो । यस अवधिमा विभिन्न जिल्लाका नौ हजार सात जनाले तालिम लिएको र तालिम लिनेहरूमा करिब दुई हजार पाँच सय जना महिलाहरू रहको उहाँले जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्ड र युएनडिपीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि यो परियोजना शुरु गरेको थियो । परियोजनाले महिलाहरूकै लागि सिन्धुपाल्चोकको भोटेकोशी र त्रिशूली नदीमा र्याफ्‌टिङ गाइड, ट्रेकिङ गाइड, पर्यटक बस चालक तथा सह-चालकहरुका लागि तालिम  तथा लैङ्गिक तथा अल्पसंख्यक समुदायका लागि पनि ट्रेकिङ गाइड तालिम दिएको थियो । यस्तै परियोजनाले देशका विभिन्न पालिकाहरूसँग मिलेर पर्यटन पूर्वाधार निर्माण तथा अन्य क्षमता अभिवृद्धिका कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार