काठमाडौँ । सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाका ऋणीहरुलाई ३५ दिनभित्र सहकारीबाट लिएको ऋणको साँवा ब्याज तिर्न निर्देशन सहितको सूचना निकालेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले सोमबार सूचना प्रकाशन गर्दै यस्तो निर्देशन दिएको हो ।
सार्वजनिक गरिएको सूचनामा तोकिएको समयमा ऋणको साँवा ब्याज भुक्तानी नगरे ऋणीको बैंक खाता रोक्का, सम्पत्ति रोक्का र कालोसूचीमा समेत राखिने उल्लेख गरिएको छ ।
कार्यालयले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि., पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लि., तुलसी बहुमुखी सहकारी संस्था लि., हाम्रो नयाँ कृषि सहकारी संस्था लि., कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था र कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी सहित विभिन्न प्रकृतिका १८ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । ती सहकारीबाट ऋणलाई ऋण लिएका व्यक्ति, संस्थाहरुलाई ऋणको साँवा ब्याज भुक्तानी गर्न यो सूचना प्रकाशित गरिएको हो ।
सूचनामा ‘समस्याग्रस्त सहकारी संस्थाका ऋणीले सो संस्थाबाट लिनुभएको ऋण रकमको सावाँ ब्याज यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र समितिको कार्यालयमा उपस्थित भइ राफसाफ गर्नुहुन सूचित गरिन्छ भनिएको छ । सो समयभित्र दायित्व राफसाफ नगरेको खण्डमा सहकारी ऐन ०७४ को व्यवस्था बमोजिम कुनै बैंक तथा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा खाता वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने, राहदानी रोक्का राख्ने र कालोसूचीमा राख्ने समेतको कारवाही हुने उल्लेख गरिएको छ ।