26.1 C
Kathmandu

ओमान बन्यो टी-२० विश्वकप एसिया छनोट च्याम्पियन, नेपाल सुपर ओभरमा पराजित

काठमाण्डौ। टी—२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ। निर्धारित २० ओभरको खेलमा नेपालले ६ विकेटको क्षतिमा १८४ रन बनाएको थियो भने जवाफी व्याटिङमा ओमानले ९ विकेटको क्षतिमा बराबरी गरेको थियो। बराबरी पछि खेलिएको सुपर ओभरमा नेपाललाई हराउँदै ओमानले उपाधि जितेको हो ।

तस्विरः नेपाल क्रिकेट संघ (फेसबुक)

सुपर ओभरमा नेपालका लागि अभिनास बोहराले बलिङ गरेका थिए। उनले पहिलो बलमा एक रन दिए। दोस्रो बलमा ओमानका नीशम खुसीले छक्का हिर्काए। तेस्रो बल डट भयो। चौथो बल पनि छक्का भयो। त्यसपछिको बल वाइड भयो। पाँचौ बलमा ओमानले छक्का हिर्कायो। अन्तिम बलमा एक रन लिँदा ओमानले सुपर ‌ओभरमा २१ रन जोड्यो। सुपर ओभरमा २२ रनको लक्ष्य पछ्याउदा नेपालका लागि कुशल भुर्तेल र गुल्सन झा ब्याटिङमा आए। बलिङमा ओमानका बिलाल खान थिए। तर पहिलो बलमै कुशल क्याच आउट भए।

त्यसपछि ब्याटिङमा आएका कुशल मल्लले दोस्रो बलमा रन लिन सकेनन्। तेस्रो बलमा मल्लले एक रन मात्र लिन सके। चौथो बलमा गुल्सन झाले एक रन लिए। पाँचौ र छैटौं बलमा गुल्सनले चौका हिर्काएपछि नेपालले १० रन मात्र जोड्न सक्यो। त्यसअघि नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानलाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो। जसमा नेपालका सन्दीप लामिछानेले पहिलो बलमा एक रन दिँदा दोस्रो र तेस्रो बलमा विकेट लिए। ओमानका लागि चौथो बलमा फयज बटले एक रन र पाँचौ बलमा नदीमले चौका प्रहार गरे।

तस्विरः नेपाल क्रिकेट संघ (फेसबुक)

अन्तिम बलमा दुई रन लिनु पर्ने स्थितिमा ओमानले एक रन मात्र जोड्न सक्यो। दुई रन लिने क्रममा ओमानका फयज बट रनटआउट भए। ओमानका लागि कश्यप प्रजापति ६३ रन जोडे। १८औं ओभरमा नेपालका अभिनास बोहराबाट क्याचआउट हुनुअघि उनले ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। १९औं ओभरको पहिलो बलमा ओमानका निशम खुसीलाई करण केसीले १ रनमा विवेक यादवबाट क्याच आउट गराए। ‍करणले पाँचौ बलमा मेहरान खानलाई विवेककै हातबाट १० रनमा आउट गरे। तर सो ओभरमा करणले १८ रन खर्चिदा नेपालमाथि दबाब बढेको थियो। त्यसअघि विवेकले ओमानका कप्तान जीशन मक्सुदलाई २६ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए।

यस्तै गुल्सन झाले ओमानका अबिक इल्यासलाई ३३ रनमा सन्दीप जोराबाट क्याच गराए। अकिबले दशौं ओभरमा आउट हुनुअघि दोस्रो विकेटका लागि कश्यप प्रजापतिसँग ६७ रनको साझेदारी गरे। ओमानका प्रतिक अथाभलेलाई नेपालका सोमपाल कामीले तेस्रो ओभरको अन्तिम ओभरमा ७ रनमा एलबिडब्लूको धरापमा परे। सोमपालले सो ओभररको पहिलो पाँच बलमा तीन चौकासहित १७ रन खर्चिएका थिए। बलिङमा नेपालका सन्दीप र करणले २-२ विकेट लिए। आइतबार बिहान कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यक्रमका ब्याटस्मयानद्वय गुल्सन झा र रोहितकुमार पौडेलको अर्धशतकमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन जोड्यो।

तस्विरः नेपाल क्रिकेट संघ (फेसबुक)

कमजोरस्थितिमा रहेको नेपालको रन उकास्ने क्रममा गुल्सनले २५ बलमा ५४ रनको योगदान गरे। गुल्सनले ५ चौका र ४ छक्का प्रहार गर्दा नेपालको रन स्कोर बढेको थियो। उनले पाँचौ विकेटका लागि कप्तान रोहित कुमार पौडेलेसँग ७८ रनको साझेदारी गरे। गुल्सन दशौं ‍ओभरमा कुशल मल्ल ३ रनमा आउट भएपछि मैदान छिरेका थिए। मल्ल आउट हुँदा नेपालले ४ विकेटको क्षतिमा ६० रन जोडेको थियो। गुल्सनसँगै कप्तान रोहित पौडेलको अर्धशतक पनि नेपालका लगि महत्वपूर्ण सावित भयो। रोहितले नटआउट ५२ रन जोडे। उनले ३७ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै करण केसीले नटआउट २० रन जोडे। करणले ५ बलमा १ चौका र २ छक्का प्रहार गरे।

तस्विरः नेपाल क्रिकेट संघ (फेसबुक)

नेपालले अन्तिम ओभरमा ओमानका फयज बटलाई २४ रन प्रहार गरेको थियो। पहिलो १० ओभरमा ६० रन जोडेको नेपालले पछिल्लो १० ओभरमा १२४ रन जोडेको थियो। नेपालले ८ ओभर नसकिदै महत्वपूर्ण ३ विकेट गुमायो। ओपनिङ ब्याटर आसिफ शेख तेस्रो ओभरमा विलाल खानको बलमा ६ रनमा क्याच भए। सातौं ओभरमा सन्दीप जोरा १० रनमा जीशन मक्सुदबाट बोल्ड भए। आठौं ओभरको पहिलो बलमा नेपालले ओपनर कुशल भुर्तेललाई ३१ रनमा गुमायो। अकिब इल्यासको बलमा क्याच हुनुअघि उनले २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

विवेक यादवले १९औं ओभरमा छैटौं विकेटको रुपमा आउट हुनुअघि १ रन मात्र जोड्न सके। बलिङमा ओमानका विलाल खानले ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। दुवै टिमले यसअघि सेमिफाइनल जित्दै आगामी वर्ष वेस्ट इन्डिज र अमेरिका हुने टी-२० विश्वकपमा स्थान पक्का गरेका थिए।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार