24.1 C
Kathmandu

गौतमश्रीले सात अर्ब ठगेर भाग्यो, सञ्चालकहरु सबैको बैंक खाता रोक्का राखेर अनुसन्धान सुरु

काठमाडौं । गौतमश्रीले सात अर्ब रुपैयाँ ठगेर भागेको छ । राष्ट बैंकले यो सहकारीका सबै सञ्चालकहरुको बैंक खाता रोक्का राखेर अनुसन्धान सुरु गर्न लगाएको छ। सहकारी विभागले गौतम श्री बहुउद्देश्यीय सहकारीको सात स्थानमा रहेको सम्पत्ति रोक्कासमेत गराएको छ ।

विभागले उक्त सहकारीको मुलुकका विभिन्न सात स्थानमा रहेको सम्पत्ति विभागको अनुमति बिना खोल्न, चलाउन, सरसामान बिक्री नगर्न पाउने गरी रोक्का राख्न प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागलाई पत्राचार गरेको छ।

विभागले साउन १३ गते गरेको पत्राचार अनुसार संस्थाको कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको भवन तथा जग्गा, टेकुमा रहेको सेवा केन्द्र, पोखरामा रहेको सेवा केन्द्र, नारायणघाटमा रहको सेवा केन्द्र खोल्न, चलाउन तथा सरसामान बिक्री गर्न नपाउने गरी सुरक्षा प्रदान गर्न पत्राचार गरेको हो।

विभागको पत्रअनुसार संस्थाको कुलेश्वरमै सुपरमार्केट, हेटौंडामा गोदाम र काभ्रेको पातलेखेतमा गाईफार्म समेत रहेको उल्लेख छ।

संस्थाका अध्यक्ष काभ्रेपलान्चोक निवासी रामबहादुर गौतम र उनकी पत्नी निर्मला खत्री गौतमसहित १५ जना सञ्चालक तथा कर्मचारीको बैंक खाता रोक्का गर्न समेत राष्ट्र बैंकलाई विभागले आइतबार पत्राचार गरेको छ।

संस्थाका सचिव राम गौतम, सदस्यहरू होम कुमारी खत्री, अर्जुन गोतामे, सन्तोषी केसी, सुमित्रा कार्की, भागवती थापा, सुभाष भुसाल छन्।

लेखा समिति संयोजक सुनिता तिमल्सिना, लेखा समिति सदस्यद्वय पंकजकुमार झा र विकास चौधरी, व्यवस्थापक रबिन विष्ट, ऋण व्यवस्थापक अनिल गौतम, लेखापाल सुनिता सिंह छन्। यी सबैको बैंक खाता रोक्का राखिदिन विभागले पत्राचार गरेको हो।

सहकारीका सञ्चालकहरू फरार भएको खबर सार्वजनिक भएसँगै एभरेष्ट बैंकले शुक्रबार संस्थाको प्रधान कार्यालय सिल गरेको थियो। त्यससँगै सेयरधनी बचतकर्ताहरूले समेत यसको जानकारी पाएपछि विभागमा पुगेका हुन्।

आइतबारसम्म एक हजार ७५ जना पीडितले विभागमा बचत फिर्ता पाउँ भन्दै उजुरी दिएका छन्। सोमबारसमेत विभागमा फाट्टफुट्ट उजुरी परिरहेको छ।

बचतकर्ताहरूले संस्थामा आफूहरूले अधिकतम ५ करोडसम्म निक्षेप राखेको उजुरी दिएका छन्। करिब दुई दशकदेखि सञ्चालनमा रहेको भनिएको यस सहकारीले विगत लामो समयदेखि वार्षिक साधारण सभा समेत नडाकेको पीडितहरूले बताएका छन्।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार