29.1 C
Kathmandu

वाणिज्य बैंकहरुका सीईओको तलब, कस्को कति ?

काठमाडौं । वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को तलब बर्षेनी बैंकको वार्षिक प्रतिवेदनसँगै सार्वजनिक हुने गरेको छ । सार्वजनिक प्रतिवेदन अनुसार एक वर्षमा बैंकका सीईआले बुझ्ने तलब अधिकांशको करोड भन्दा माथि छ । हालसम्म सार्वजनिक भएको वार्षिक प्रतिवेदनका आधारमा कुन वाणिज्य बैंकको सीईआको तलब कति ?

नबिल बैंक

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहको शाहले बार्षिक २ करोड ४५ लाख रुपैयाँ पाएका छन्। शाहले पाएको सबै सुविधाबाट ३६ प्रतिशत सरकारले आयकर पनि पाउँछ। शाहले पाएको तलब सुविधालाई अल्पकालिन र दीर्घकालिन भनेर छुट्याइएको छ।

ग्लोबल आइएमइ बैंक

ग्लोबल आइएमइ बैंकले प्रमुख कार्यकारी अधिकृतलाई गत बर्ष कुल एक करोड ३९ लाख रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ। गत बर्ष बैंकले कामु प्रमुख कार्यकारीका रुपमा महेश शर्मा ढकाल र प्रमुख कार्यकारीका रुपमा रहेका रत्नराज बज्राचार्यलाई भुक्तानी गरेको रकम हो।

ढकाल साउन १ देखि साउन ३२ गतेसम्म कामु प्रमुख कार्यकारीको भूमिकामा थिए। बज्राचार्य भदौ १ देखि प्रमुख कार्यकारी अधिकृत छन्। त्यसैले यसको ठूलो हिस्सा अर्थात ११ महिनाको सुविधा बज्राचार्यले बुझेका हुन्।

बैंकले प्रमुख कार्यकारीलाई ७३ लाख ३२ हजार रुपैयाँ तलब दिएको छ। ४८ लाख ६० हजार रुपैयाँ भत्ता दिएको छ। सञ्चय कोष सुविधा बापत ७ लाख ३३ हजार र दसैं भत्ता १० लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको छ।

माछापुच्छ्रे बैंक

यो  बर्ष माछापुच्छ्रे बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई एक बर्षमा ६४ लाख २४ हजार रुपैयाँ भुक्तानी गरेको थियो। माछापुच्छ्रे बैंकले प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई वार्षिक एक करोड २८ लाख ६१ हजार रुपैयाँ तलब सुविधा उपलब्ध गराएको छ।

यो रकममा नाफाबाट पाइने बोनस जोडिएको छैन। अघिल्लो वर्ष बैंकले प्रमुख कार्यकारी अधिकृतलाई २ करोड २३ लाख ११ हजार रुपैयाँ तलब सुविधा भुक्तानी गरेको थियो।

सानिमा बैंक

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालको तलब एक बर्षमा ४६ लाख रुपैयाँले बढेको छ। बैंकले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै तलब एक करोड ८४ लाख १५ हजार रुपैयाँ पुगेको जनाएको छ।

अघिल्लो आर्थिक बर्ष उनले तलब, भत्ता र अन्य सुविधाहरु गरेर एक करोड ४६ लाख रुपैयाँ बुझेका थिए। बैंकका प्रमुख ब्यवस्थापकहरुले ३ करोड ८६ लाख ९२ हजार रुपैयाँ बुझेका छन्।

कुमारी बैंक

कुमारी बैंकले आफ्ना प्रमुख कार्यकारी अधिकृतलाई गतवर्ष २ करोड ३८ लाख ३१ हजार रुपैयाँ तलब सुविधा दिएको छ। बैंकले तलब बापत एक करोड २० लाख ३७ हजार रुपैयाँ र भत्ताबापत ४७ लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको छ।

गत आर्थिक वर्ष बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र भण्डारी थिए। उनी गत साउनबाट अवकाश भएका हुन्। भण्डारीले बैंकबाट दसैं भत्ताबापत १४ लाख ६६ हजार र बिदाबापत १० लाख रुपैयाँ लिएका थिए। अघिल्लो वर्ष पनि उनले २ करोड ३८ लाख ३१ हजार रुपैयाँ तलब, भत्ता बुझेका थिए।

सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेशनलले प्रमुख कार्यकारी अधिकृत गणेशकुमार पोखरेललाई एक बर्षमा कुल एक करोड ३१ लाख ९० हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराएको छ।

पोखरेलले पाएको पारिश्रमिकबाट ६५ लाख ३३ हजार रुपैयाँ सरकारलाई राजस्व बुझाएको बार्षिक प्रतिवेदनमा उल्लेख छ। उनले तलब बापत ८४ लाख रुपैयाँ, भत्ता ३० लाख, दसैं भत्ता साढे नौं लाख र सञ्चयकोष योगदान बापत ८ लाख ४० हजार रुपैयाँ बुझेका छन्।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश (एनबी) बैंकका प्रमुख कार्यकारी अधिकृतका रुपमा ज्ञानेन्द्रप्रसाद ढुंगानाले बुझेको तलब तीन वर्षदेखि बढेको छैन। उनी गत पुस ११ गते अवकास भइसकेका छन्। उनले गत आर्थिक वर्ष एक करोड ४१ लाख रुपैयाँ तलब बुझेका छन्।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले एक वर्षमा ३ करोड ६ लाख रुपैयाँ तलब भत्ता बुझेका छन्। पोहोर पनि उनले यति नै बुझेका हुन्। यो रकममा ३६ प्रतिशत कर भुक्तानी गर्नु पर्छ।

पाण्डेले तलबबापत एक करोड ६० लाख ७६ हजार रुपैयाँ बुझेका छन्। भत्ता बापत एक करोड ७ लाख १७ हजार, दसैं भत्ता २२ लाख ३३ हजार, सञ्चय कोष सुविधा १६ लाख ८ हजार रुपैयाँ बुझेका हुन्।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डू (बिओके) ले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई २ करोड ५६ लाख २७ हजार रुपैयाँ भुक्तानी गरेको छ।

यो सुविधा तत्कालिन प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले बुझेका हुन्। बैंकले गत आर्थिक वर्षको वित्तीय विवरणमा उल्लेख गरे अनुसार, यसमा तलबसँगै सञ्चयकोष, औषधोपचार, सवारी साधन, मोबाइल फोन सुविधा उपलब्ध छ। यसबाहेक नाफाबाट पाइने बोनस पनि समेटिएको छ।

पन्तले अघिल्लो वर्ष २ करोड ८१ लाख रुपैयाँ पारिश्रमिक र सुविधाहरु बुझेका थिए। त्यसअघि दुई करोड ३२ लाख ८५ हजार ४९५ रुपैयाँ तलब सुविधा बुझेका थिए।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल

स्ट्यान्डर्टर्ड चार्टर्ड बैंक नेपालले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई वार्षिक दुई करोड ७६ लाख २२ हजार रुपैयाँ तलब सुविधा दिएको छ। बैंकको प्रमुख कार्यकारी अनिर्भान घोष दस्तिदार हुन्।

पोहोर बैंकले २ करोड ८७ लाख ५५ हजार रुपैयाँ पारिश्रमिक तथा भत्ता भुक्तानी गरेको थियो।

मेगा बैंक

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँञ्जेलीले गत आर्थिक वर्ष एक करोड २ लाख रुपैयाँ तलब बुझेकी छिन्। यसबाहेक उनले ८ लाख ५० हजार रुपैयाँ दसैं भत्ता बुझेकी छिन्। खुँञ्जेलीले तीन लाख ७७ हजार रुपैयाँ इन्धन सुविधा लिएकी छिन्।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले मुख्य व्यवस्थापकहरुलाई दिने तलब घटाएको छ। बैंकले पोहोर ४ करोड ११ लाख रुपैयाँ तलब सुविधा दिएकोमा यसपाली ३ करोड ७० लाख रुपैयाँ मात्र दिएको छ।

नेपाल बैंक

नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृतलाई २१ लाख ६० हजार रुपैयाँ तलब र ३२ लाख ८२ हजार रुपैयाँ भत्ता दिएको छ।

कुल ५४ लाख ४२ हजार रुपैयाँ तलब भत्ता दिएको हो। यो सुविधा बैंकका प्रमुख कार्यकारी अधिकृतका रुपमा कृष्णबहादुर अधिकारीले लिएका हुन्। अघिल्लो बर्ष अधिकारीले ४६ लाख ९६ हजार ३०६ रुपैयाँ तलब भत्ताबापत पाएका थिए।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको तलब वार्षिक रूपमा वृद्धि भइरहेको छ। गत आर्थिक वर्ष उनको तलब २१ लाख रुपैयाँले बढेर २ करोड ६ लाख रुपैयाँ पुगेको छ।

यसमा नाफाबाट पाउने बोनस जोडिएको छैन। बोनस जोड्दा यो अझ धेरै हुन्छ। मानन्धरले तलब मात्र एक करोड ८० हजार रुपैयाँ बुझेका छन्। भत्ता ८१ लाख २० हजार रुपैयाँ बुझेका छन्। उनले दसैं भत्ता भनेर १४ लाख रुपैयाँ थप बुझेका छन् भने सञ्चय कोष सुविधाबापत १० लाख ८० हजार रुपैयाँ लिएका छन्। मानन्धरको अघिल्लो आर्थिक वर्ष तलब ७६ लाख रुपैयाँले बढेर एक करोड ८५ लाख रुपैयाँ पुगेको पुगेको थियो।

लक्ष्मी बैंक

लक्ष्मी बैंक लिमिटेडले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई एक वर्षमा कुल पारिश्रमिक र भत्ताबापत एक करोड नौ लाख ८० हजार रुपैयाँ उपलब्ध गराएको छ। अघिल्लो वर्ष बैंकले प्रमुख कार्यकारीलाई एक करोड २१ लाख रुपैयाँ भुक्तानी गरेको थियो। लामो समय प्रमुख कार्यकारीका रूपमा सुदेश खालिङले काम गरेका थिए। त्यही वर्ष खालिङको कार्यकाल सकिएपछि प्रमुख कार्यकारीमा अजयविक्रम शाह नियुक्त भएका थिए।

सनराइज बैंक

सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृतलाई २ करोड २९ लाख ५५ हजार रुपैयाँ तलब भत्ता तथा नाफाबाट बोनस दिएको छ। अहिले बैंकको प्रमुख कार्यकारीमा सुमन शर्मा छन्।

शर्मा गत माघ महिनामा प्रमुख कार्यकारी अधिकृत भएका हुन्। यो तलब गत आर्थिक वर्षको भएकाले पुरै उनले मात्र बुझेका भने होइनन्। माघसम्म जनक शर्मा पौडेल प्रमुख कार्यकारी अधिकृत थिए। अघिल्लो वर्ष बैंकले प्रमुख कार्यकारी अधिकृतलाई एक करोड ३५ लाख रुपैयाँ तलब सुविधावापत भुक्तानी गरेको थियो।

प्रभु बैंक

प्रभु बैंकले प्रमुख कार्यकारी अधिकृतलाई गत आर्थिक वर्ष ३ करोड ५३ लाख ९५ हजार रुपैयाँ तलब भत्ता दिएको छ। बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन छन्।

उनले तलब बापत २ करोड ७४ लाख रुपैयाँ बुझेका छन्। नाफाबाट कर्मचारी बोनसबापत ४१ लाख ६५ हरा रुपैयाँ बुझेका छन् भने दसैं तथा बिदा बापतको भत्ता ३७ लाख ३६ हजार रुपैयाँ पाएका छन्।

 

एनएमबि बैंक

एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई गत आर्थिक बर्ष तलब सुविधा बापत एक करोड ७४ लाख रुपैयाँ भुक्तानी गरेको छ।

उनले पाएको यो तलब सुविधामा नाफाबाट पाइने बोनस जोडिएको छैन। अघिल्लो आर्थिक वर्ष एक करोड ७५ लाख २८ हजार रुपैयाँ तलब भत्ताबापत पाएका थिए। त्यसअघिको बर्ष एक करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको थियो।

केसीले तलबबापत ६९ लाख ३६ हजार रुपैयाँ, सञ्चय कोष बापत ६ लाख ९३ हजार, भत्ता ६६ लाख ९४ हजार, बोनस तथा बेलफेयर २९ लाख ८५ हजार, अन्य एक लाख रुपैयाँ बुझेका छन्।

नेपाल एसबीआइ बैंक

नेपाल एसबीआइ बैंकले प्रबन्ध सञ्चालक (प्रमुख कार्यकारीको भूमिकामा) लाई एक वर्षमा एक करोड ३२ लाख ९२ हजार ९६१ रुपैयाँ खर्च गरेको छ।

स्टेट बैंक अफ इण्डिया (एसबीआइ) मुख्य सेयरधनी रहेको बैंकको प्रमुख कार्यकारी भारतबाटै नियुक्त भएका हुन्। प्रबन्ध सञ्चालकले पाएको एक करोड ३२ लाख रुपैयाँ तलब भने होइन। उनलाई आवास सुविधाका लागि भुक्तानी गरिएको भाडा र अनुमति प्राप्त भत्ता तथा खर्च रकम हो।

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले प्रमुख कार्यकारी अधिकृतलाई एक करोड ५२ लाख ३७ हजार रुपैयाँ तलब भत्ता दिएको छ।

बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल छन्।

सिभिल बैंक

सिभिल बैंकले गत आर्थिक वर्ष आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता गरेर कुल एक करोड १४ लाख रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको छ।

अहिले प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल छन्। तर यो पैसा उनले बुझेको भने होइन। गत आर्थिक वर्षको वैशाखसम्म गोविन्द गुरुङ प्रमुख कार्यकारी अधिकृत थिए। पोखरेल गत असार १८ गतेबाट प्रमुख कार्यकारी भएका हुन्। उनले वैशाख १८ देखि कामु प्रमुख कार्यकारीको जिम्मेवारी भने सम्हालेका थिए।

प्रमुख कार्यकारीलाई तलब बापत ५४ लाख १९ हजार, भत्ता ३० लाख ८७ हजार, दसैं खर्च ७ लाख ६७ हजार, सञ्चय कोष सुविधा ५ लाख ४१ हजार र नाफाबाट बोनस १६ लाख ७४ हजार रुपैयाँ भुक्तानी गरिएको छ।

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले प्रमुख कार्यकारी अधिकृतलाई एक वर्षमा एक करोड ५७ लाख १८ हजार ५०० रुपैयाँ तलब सुविधा भुक्तानी गरेको छ। यो सुविधा प्रमुख कार्यकारीका रुपमा तुलसीप्रसाद गौतमले बुझेका हुन्। उनी गत असार २० गते राजीनामा गरेर बाहिरिएका छन्।

वार्षिक प्रतिवेदन अनुसार, गौतमले तलब भत्ता एक करोड २६ लाख, दसैं भत्ता १० लाख ५० हजार, सञ्चय कोष सुविधा ७ लाख ५६ हजार र अन्य भत्ता भनेर १३ लाख १२ हजार ५ सय रुपैयाँ बुझेका छन्।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष प्रमुख कार्यकारी अधिकृतलाई २ करोड ११ लाख १९ हजार ८३० रुपैयाँ भुक्तानी गरेको छ।

अहिले बैंकको प्रमुख कार्यकारी अधिकृत सुन्दर कँडेल छन्। यो पारिश्रमिक भने उनले पाएको होइन। गत आर्थिक वर्ष प्रमुख कार्यकारी अधिकृतमा शम्भुनाथ गौतम थिए।

 

हिमालयन बैंक

हिमालयन बैंकले प्रमुख कार्यकारी अधिकृतलाई एक वर्षमा २ करोड १४ लाख ८९ हजार ६९७ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ। बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक राणा छन्।

वार्षिक प्रतिवेदन अनुसार, तलब एक करोड ६ लाख, भत्ता ९५ लाख ४८ हजार, विविध सुविधा ९ लाख २० हजार र टेलिफोन खर्चबापत ४ लाख १९ हजार रुपैयाँ भुक्तानी गरेको छ।

कृषि विकास बैंक

कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृतलाई एक बर्षमा ३९ लाख ६६ हजार ६६७ रुपैयाँ भुक्तानी गरेको छ।

बैंकले मासिक तलब २ लाख ५० हजार भुक्तानी गरेको छ भने सञ्चय कोषका लागि अर्को २ लाख ५० हजार र दसैं भत्ता बापत फेरि २ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ। अर्को भत्ता बापत ५० दिनको तलब पनि दिएको छ। मासिक भत्ता बापत ५ हजार रुपैयाँ थप दिएको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार