काठमाडौं । नेपाल वायुसेवा निगमलाई चिनियाँ जहाज घाँडो भएको छ । निगमले दोहोर्याएर प्रस्ताव माग्दा पनि जहाज भाडामा गएको छैन । निगमले १० दिन अगाडि मात्रै भाडामा दिने दोस्रो पटकको अन्तिम सूचना सकिएको जानकारी दिएको छ ।
निगमले ५ वटा चिनियाँ जहाज भाडामा दिन खोजेको भएपनि कोही इच्छुक नै भएनन् । अब ति जहाज नयाँ मूल्यांकन गरेर बिक्रीकै लागि राखिने नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले बताइन ।
उनका अनुसार भाडामा नगएपछि सरकारले दिएकै विकल्प अनुसार अब बिक्री गरिने भएको छ । यसका लागि पहिले अन्तर्राष्टिय कन्सल्यान्टबाट मूल्यांकन गर्ने र उचित मूल्यमा बिक्री गरिने छ ।
बिक्रीमा राख्दा पनि कसैले लिन नचाए भने अन्तिम बिकल्प कवाडीमा बेच्ने पनि हुन सक्छ । तर अब बिक्री हुने अपेक्षा गर्नुपर्ने र त्यसको लागि प्रक्रिया अगाडि सारिएको निगमले बताएको छ ।