23.1 C
Kathmandu

बन्द उद्योग पूर्ण सञ्चालनको तयारीमा छौँः उद्योगमन्त्री

काठमाडौं / सरकारले बन्द रहेका मुलुकका औद्योगिक क्षेत्रलाई पुनःसञ्चालनका लागि आवश्यक तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न कारणले बन्द उद्योगलाई चालु आर्थिक वर्षभित्रै सञ्चालन गर्न मन्त्रालयले नीतिगत व्यवस्था गर्दै लगानीको ढाँचा तयार गरिरहेको बताए ।

मन्त्री बडूले मन्त्रालयको नेतृत्व सम्हालेको पाँच महिनामा मन्त्रालय र मातहतबाट सम्पादन भएका मुख्य कार्यहरु सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निजी क्षेत्रको साझेदारीतामा सरकारले बन्द उद्योग पुनः सञ्चालन गर्ने नीति लिएको बताए। गत चैत २४ गते मन्त्री बडूले उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

मन्त्री बडूले भने “औद्योगिक क्षेत्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने र बन्द उद्योगलाई पुनः सञ्चालन गरिन्छ । चालु आर्थिक वर्षभित्रै यो प्रक्रियालाई कार्यान्वयनमा लैजान आवश्यक कानून, कार्यविधि, नियमावली बनाउने र लगानीको ढाँचा तयार गर्ने दिशामा मन्त्रालय अगाडि बढेको छ ।”

सरकारले निजी क्षेत्रलाई पूर्ण विश्वासमा लिई उनीहरुको साझेदारीलाई प्राथमिकता दिएर मुलुकका समग्र उद्योग क्षेत्रलाई सञ्चालन गर्दै रोजगारी सिर्जना तथा निर्यात प्रवद्र्धनलाई प्राथमिकता दिएको मन्त्री बडूले उल्लेख गरे ।

उद्योगमन्त्री बडूले मुलुकको अवस्था, मुद्रा सञ्चितिलाई मध्यनजर गरी प्रतिबन्धित १० वस्तुमध्ये छ वटा खोलिएको भन्दै बाँकी चार वस्तु खुलाउन अध्ययन भइरहेको जानकारी दिए । “मुलुकको अर्थतन्त्रको अवस्थालाई मूल्याङ्कन गरेर निश्चित वस्तुको आयातलाई प्रतिबन्ध गरिएको हो, यसको सकारात्मक प्रभाव पनि देखिएको छ । तर, एकातर्फ वस्तु आयात रोकिरहँदा अनौपचारिक च्यानलबाट वस्तु आयात रोकिएन, राजश्व गुमिरहेको विवरण आएको छ, सबै विषयमा अध्ययन गरिरहेका छौँ, वस्तु आयात प्रतिबन्ध सधैँका लागि हैन आवश्यकताअनुसार क्रमशः खोल्दै जाने नीति रहेको छ”, उनले भने ।

सरकारले प्रतिबन्ध लगाएका १० वस्तु मध्ये छ वटाको आयात खुलिसकेको छ । अब चार वस्तु तयारी मदिरा, चार पाङ्ग्रे सवारीसाधन, १५० सिसीभन्दा माथिका मोटरसाइकल र तीन सय अमेरिकी डलरभन्दा माथिका मोबाइलको आयातमा प्रतिबन्ध लगाइएको छ । ती वस्तुको पनि पुनः मूल्याङ्कन भइरहेकाले सरकारले चाँडै निर्णय लिने उद्योगमन्त्री बडूले जानकारी दिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार