26.1 C
Kathmandu

तस्करी गर्न सुपारी र केराउ अत्यधिक आयात

भन्सार अधिकारीहरुका अनुसार नेपालमा यति धेरै खपत हुने ठाउँ देखिँदैन तर यस्ता वस्तुको आयात विगतका वर्षमा भन्दा निकै बृद्धि भएको पाइन्छ ।

काठमाडौँ / नेपालबाट शून्य भन्सारदरमा कृषि वस्तु भारत निर्यात गर्न सकिने सुविधा दुरुपयोग गर्दै व्यवसायीहरुले भारत निर्यात गर्नका लागि सुपारी, केराउ, मरीच र छोकडा लगायतका बस्तु ठूलो परिमाणमा तेस्रो मुलुकबाट नेपालमा भित्र्याउने गरेका छन्। कृषि वस्तु भारत निर्यात गर्दा शून्य भन्सारदरमा निर्यात गर्न सकिने भएपछि वैध र अवैध तरिकाले यी वस्तुको आयात बढेको हो ।

नेपालले इन्डोनेसिया र थाइल्यान्डबाट सुपारी, रुस, अमेरिका र क्यानडाबाट केराउ, पाकिस्तान र दुबईबाट छोकडा र भियतनामबाट मरीच आयात गर्दै आइरहेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ४ अर्ब ५२ करोड रुपैयाँ बराबरका यी वस्तु आयात गरिएको थियो । २०७४/७५ मा दोब्बर अर्थात् १० अर्ब १७ करोडको आयात भयो । आर्थिक वर्ष २०७५/७६ मा १२ अर्ब ४२ करोड र २०७६/७७ मा १५ अर्ब ५६ करोडको आयात गरिएको छ । भन्सार अधिकारीहरुका अनुसार नेपालमा यति धेरै खपत हुने ठाउँ देखिँदैन तर यस्ता वस्तुको आयात विगतका वर्षमा भन्दा निकै बृद्धि भएको पाइन्छ ।

भारतमा सुपारी, केराउ, मरीच र छोकडाको माग अत्यधिक छ । इन्डोनेसियालगायतका उत्पादक मुलुकले भारतमा सोझै निर्यात गरे भन्सार महसुल लाग्छ । नेपालबाट भने खुला सिमानामार्फत तस्करीसमेत गरेर व्यापारीले फाइदा लिन्छन् ।
श्रोतका अनुसार नेपाली व्यवसायीले नेपालको भन्दा पनि भारतको आवश्यकतालाई दृष्टिगत गरी सुपारी, केराउ, मरीच र छोकडा आयात गर्छन् । उता पठाएर मनग्य फाइदा कमाउँछन सकिने भएकाले व्यवसायीहरु यसको अबैध कारोबारमा आर्कषित भएका हुन ।

अर्थशास्त्री पोषराज पाण्डे कर छुट सुविधा दुरुपयोग गर्दै भारत निर्यातकै लागि सुपारी र केराउ आयात गर्न दिँदा नेपाल–भारत व्यापारमा विकृति बढ्ने बताउँछन् । ‘भारतले नेपाललाई विश्वास गर्न नसक्ने वातावरण पनि बन्न सक्छ,’ उनले भने ।

सरकारले भने व्यापारीको प्रभावमा परेर बारम्बार यी सामग्रीको आयात खुलाउने र बन्द गर्ने निर्णय गरिरहेको छ । मन्त्रिपरिषद्ले एक महिनाअघि पनि तस्करीका लागि प्रयोग हुने सुपारी, केराउ, छोकडा र मरीच आयात खुलाउने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत यस्तो विवादास्पद निर्णय गरिएको हो । यही विषयमा विमति राख्ने उद्योग मन्त्रालयका तत्कालीन सचिव दिनेश भट्टराई र अन्य सहसचिवको सरुवा गरिसकिएको छ ।

सुपारी, केराउ, मरीच र छोकडा आयातका लागि करिब ५० वटा फर्म (ट्रेडिङ कम्पनी) सक्रिय रहेको भन्सार विभागले बताएको छ । ती फर्म चाँदी कारोबारमा पनि संलग्न रहेको आशंका छ । तर ती फर्म वा व्यक्तिको खोजी एवं छानबिन सरकारले गरेको छैन ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार