29.1 C
Kathmandu

पाथीभरामा केवलकार बनाउन अघि बढ्यो यति ग्रुप, ३ अर्ब खर्च लाग्ने

काठमाडौं । पाथीभरामा केवलकार बनाउने काम अघि बढेको छ । यसलाई यति ग्रपले ३ अर्ब खर्च गरेर केबलकार बनाउन लागेको हो । एयरलाइन्स, होटल र रिसोर्ट सञ्चालन गर्दै आएको यती ग्रुपले अब केवलकारमा पनि लगानी विस्तार गर्ने भएको छ ।

ताप्लेजुङको पाथीभरामा दर्शन गर्न जाने पर्यटकलाई लक्षित गरी ग्रुपले पाथीभरा दर्शन केवलकार प्रालिमार्फत निर्माणको तयारी थालेको हो । ग्रुपले विभिन्न कम्पनीहरुसँगको सहकार्यमा सो प्रक्रिया अघि बढाएको हो । केवलकारमा कुन–कुन ग्रुप वा कम्पनी रहने भन्नेबारे अहिले खुलाइएको छैन । यद्यपि लगानीकर्ताहरु भने निश्चित भइसकेका कम्पनीले जनाएको छ ।

करिब ३ अर्ब रुपैयाँमा लगानी निर्माण हुन लागेको सो केवलकार अबको ५ महिनापछि निर्माण कार्य सुरु हुने र २ वर्ष भित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्वदेश गुरुङले जानकारी दिए । अहिले केवलकारको लिड उनै गुरुङले गर्दै आएका छन् ।

३ वटा बैंकको लगानी रहने कम्पनीमा अहिले प्रोजेक्ट फाइनान्सका लागि कम्पनीले प्रपोजलमा काम गरिरहेको छ ।

केवलकार निर्माणका लागि ४ दशमलव ९ हेक्टर जमिन लिएको कम्पनीले फुङलिङ नगरपालिका १० फुरुम्बुमा जमिन खरिद गरी आफ्नो नाममा ल्याइसकेको छ ।

१६ वटा गोन्डुलासहितको केवलकारमा प्रतिघण्टा ५ सय जना ओहोरदोहोर गर्न सक्ने कम्पनीले जनाएको छ । सहमतिअनुसार पाथीभरा मन्दिर क्षेत्रमा कुनै संरचना नबनाउने र पहिले बनेको प्रवेशद्वारबाटै यात्रुलाई प्रवेश गराउने योजनामा उल्लेख छ ।

सदरमुकाम फुङलिङबाट २० किलोमिटरको दूरीमा रहेको काफ्लेपार्टीबाट मन्दिरसम्म पैदलयात्रा गर्नुपर्छ । काफ्लेपार्टीबाट मन्दिरसम्म पैदल दूरी ५ किलोमिटर छ । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा अहिले वार्षिक ३ लाख तीर्थयात्री पैदल पुग्ने गरेका छन ।

सो ठाउँमा केवलकार निर्माणको चर्चा विगत २३ वर्षदेखि हुँदै आएको छ । २०५४ सालमा पाथीभरा क्षेत्र विकास समितिसँगको सहकार्यमा अध्ययनसमेत भएको थियो । केवलकार फुङलिङ नगरपालिका ११ फावाखोलाको काफ्लेपार्टीदेखि मन्दिरसम्म २।७ किलोमिटर लामो हुनेछ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार