26.1 C
Kathmandu

कोरोनापछि पहिलो ट्राभल मार्ट धरानमा, आन्तरिक प्रवद्र्धनमा सहयोगी : पर्यटन बोर्ड

काठमाडौं । कोरोनापछि पहिलो ट्राभल मार्ट धरानमा सम्पन्न भएको छ । यो मार्ट आन्तरिक प्रवद्र्धनमा सहयोगी भएको नेपाल पर्यटन बोर्ड बताएको छ । पर्यटन व्यवसायीहरूको व्यवसायिक विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न तथा यस प्रदेश वरपरका क्षेत्रहरुको पर्यटन गतिविधिहरुको अभिवृद्धि गर्ने गरी प्रदेश १ मा यो महोत्सव भएको हो ।

नेपाल पर्यटन बोर्ड र धरान उपमहानगरपालिकाको मूल आयोजना तथा प्रदेश नं १ का निजी क्षेत्रका व्यवसायीहरुको आयोजनामा सुनसरीको धरानमा २०७८ चैत्र ११ देखि १३ गतेसम्पन्न भएको छ ।

पर्यटनको पुनरुत्थानको लागि स्थानीय तथा प्रदेशस्तरमा पनि पर्यटन पुनरुत्थानको सम्भावना र प्रयासलाई अझ टेवा पुगोस भन्ने उदेश्यले यी मार्टहरु आयोजना गरिएको हो । सन् २०१८ देखि नै धरानमा सफलतापूर्वक आयोजना गर्दै आइरहेको ईष्ट टुरिज्म मार्ट २०२२ यसको तेस्रो संस्करण हो ।

माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईबाट पानसमा दीप प्रज्वलन गरी पब्लिक हाईस्कुल परिसरमा मिति २०७८ चैत्र ११ गते मार्टको विधिवत उद्घाटन गरिएको थियो ।

उद्घाटन समारोहमा धरान उपमहानरपालिकाका मेयर तिलक राईले धरान र यस वरपरका क्षेत्रहरुको पर्यटन प्रवद्र्धनका लागि मार्टको आयोजना गरिएको र यस मार्टले प्रदेश नं. १ लाई आतिथ्यताको क्षेत्रमा थप स्थापित गर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको लागि भारत सबैभन्दा ठूलो बजार भएकोले बोर्डले भारतीय सिमावर्ती शहरहरुलाई लक्षित गरी त्यहाँका टुर अपरेटहरुलाई मार्टमा आमन्त्रण गरेको बताए । उक्त दिन भारतीय साइकल एसोशियसनका करिब १५ जना साइकल यात्रीहरु बिहारको पुर्णियाबाट धरानसम्म साइकल यात्रा गरी मार्टमा सहभागी भएका थिए ।

पूर्वी नेपाल क्षेत्रको पर्यटन प्रवद्र्धन गरी भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती शहर सिलिगुढी, सिक्किम, आसाम, पुर्णिया, दरबङ्गा, जोगबनीबाट करिब १०० जना टुर अपरेटर र सञ्चारकर्मीहरुलाई मार्टमा सहभागी गराई स्थानीय टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरु बीच व्यवसायिक छलफल गराईएको थियो ।

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशका पर्यटकीय आकर्षणहरु समावेश गरी स्टलहरु निर्माण गरिएका थिए भने स्थानीय टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुले समेत स्टलमा सहभागी भई प्याकेजहरुको प्रवद्र्धन गरेका थिए । यसैगरी प्रदेश नं. १ का १४ वटै जिल्लाहरुको उक्त स्टलमा सहभागिता रहेको थियो ।

यस मार्टको आयोजनाले कोभिड पछि शिथिल बनेको पर्यटन क्षेत्र तथा व्यवसायमा सकारात्मक उर्जा प्रवाह गराउँदै स्थानीय पर्यटकीय गन्तव्य तथा गतिविधिहरुको प्रचार प्रचार हुन गई यस क्षेत्रमा पर्यटक आगमन संख्या बढ्न जाने अपेक्षा गरिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार