29.1 C
Kathmandu

इन्धनको खपत घटाउनका शनिबार र आइतबार सार्वजनिक बिदा दिन निगमको प्रस्ताव

काठमाडौँ / नेपाल आयल निगमले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार सार्वजनिक बिदा दिन र अत्यावश्यकबाहेक निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्न प्रस्ताव गरेको छ । निगमले मंगलवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै यस्तो प्रस्ताव गरेको हो ।

बिदाका दिन सवारीसाधनको सञ्चालन कम भई तेलको खपत घट्ने भएकाले आइतबार पनि सार्वजनिक बिदा थप्न प्रस्ताव गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । जोर बिजोर प्रणाली हुँदा तेलको खपत कम हुन गई निगमको घाटा र देशको ब्यापार घाटामा समेत सकारात्मक प्रभाव पर्ने भन्दै अत्यावश्यकबाहेक निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्न प्रस्ताव गरिएको निगमले जनाएको छ ।

यसैवीच निगमले इन्धनको मूल्य वृद्धि नियन्त्रणका लागि इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्क लगायतमा सरकारले प्रतिलिटर १५ रुपैयाँ घटाउन पनि निगमले माग गरेको छ ।

निगमले मन्त्रालयमा पठाएको १० बुँदे प्रस्तावमा इन्धनको करसँगै एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ शुल्क मिनाहा गर्नुपर्ने र बाँकी घाटा मूल्य समायोजनबाट मिलान गर्नुपर्ने निगमले जनाएको छ । रुस र युक्रेनबीच जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १ सय डलर माथि कारोबार भइरहेको छ । जसले गर्दा निगमलाई घाटा चुलिँदै गएको छ ।

१० बुँदामा विद्युतीय चुलो प्रयोग गर्न, पेट्रोल र डिजलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गर्न, विद्युतीय सवारी साधनमा प्रोत्साहन गर्न सरकारबाटै सार्वजनिक आह्वान गर्नु पर्नेमा निगमले जोड दिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार