23.1 C
Kathmandu

कृषिमा बढेन बैंकहरूको ऋण लगानी

 

काठमाडौं /बैंकहरुले कृषिमा ११ प्रतिशत लगानी गर्नै पर्ने व्यवस्था छ । तर पनि कतिपय वाणिज्य बैंकले तोकिएको क्षेत्रमा लगानी पुर्‍याउन सकेका छैनन् ।

तोकिएको क्षेत्रमा तोकिएको प्रतिशत लगानी नगर्ने बैंकहरुलाई राष्ट्र बैंकले जरिवाना गर्ने गरेको छ । कोरोना महामारीपछि भने राष्ट्र बैंकले लगानीमा कडाइभन्दा प्रोत्साहन नीति लिएको प्रवक्ता डा.गुणाकर भट्ट बताउँछन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको तथ्यांक अनुसार अहिले पनि कृषि क्षेत्रमा तीन वटा बैंकको लगानी १० प्रतिशत पनि पुगेको छैन । कृषि लगानीमा तोकिएको प्रतिशत नपुर्याउने बैंकमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी), मेगा बैंक र सिभिल बैंक छन् ।

एनसीसीले चालु आर्थिक वर्षको ६ महिनामा कृषिमा ८.४६ प्रतिशतमात्रै लगानी गरेको छ भने मेगाले ८.८५ प्रतिशत र सिभिलले ९.४८ प्रतिशत लगानी गरेका छन् । त्यस्तै, एभरेष्ट बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, बैंक अफ काठमाण्डू, सिटीजन्स बैंक इन्टरनेसनल, माछापुच्छ्रे बैंक र सेञ्चुरी कमर्सियल बैंकले ११ प्रतिशत भन्दा कम लगानी गरेका छन् ।
कृषिमा लगानी गर्नेमा कृषि विकास बैंक नै पहिलो नम्बरमा छ । केही वर्ष अघिको तुलनामा भने यस बैंकको पनि कृषिमा लगानी घटेको छ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३८.२८ प्रतिशत लगानी गरेको छ । कृषि विकास बैंक पछि कृषिमा धेरै लगानी गर्ने बैंकमा हिमालयन बैंक छ । हिमालयनले कृषिमा ६ महिनामा २३.६२ प्रतिशत लगानी गरेको छ ।

त्यसपछि मुलुकको जेठो बैंक नेपाल बैंकले १४.०६ प्रतिशत लगानी कृषिमा गरेको छ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक भने कृषि लगानीमा कमजोर देखिएको छ । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको ६ महिनामा जम्मा ११.२० प्रतिशत कृषि क्षेत्रमा लगानी गरेको छ ।

केन्द्रीय बैंकले प्राथमिकता प्राप्त क्षेत्रहरुमध्ये पनि कृषिलाई बढी महत्व दिएको छ । तर अहिले पनि कृषि क्षेत्रमा बैंकहरुको लगानी अत्यन्तै कमजोर रहेको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तथ्यांक हेर्दा बैंकहरु अझै पनि प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न हिच्किचाइरहेको देखिन्छ । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०३९/०४० मा कृषि क्षेत्रमा बैंकहरूले १५.९५ प्रतिशत कर्जा प्रवाह गरेका थिए ।

राष्ट्र बैंकका अनुसार २०६७र६८ मा आएर यस्तो कर्जा २.७५ मा सीमित हुन पुग्यो । आव २०६७र६८ को तथ्यांकअनुसार क्षेत्रगत रूपमा बैंकहरूले सबभन्दा बढी उत्पादन क्षेत्रमा २१.९५ प्रतिशत कर्जा लगानी गरेका छन् भने कृषिमा केवल २.७५ प्रतिशत मात्रै लगानी भएको छ ।

बैंकहरुले जरिबानाको त्रासले लगानी गर्दा सही ठाउँमा नपर्ने खतरा पनि हुन्छ । कृषि क्षेत्र भनेर जथाभावी लगानी गर्ने भन्दा पनि सही ठाउँमा लगानी होस् भन्ने राष्ट्र बैंकले चाहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।

कृषिमा अत्यन्तै कम लगानी भएको पाइएपछि नीतिगत व्यवस्था नै गर्नुपरेको पूर्व कामु गभर्नर चिन्तामणि सिवाकोटी बताउँछन् । नीतिगत व्यवस्था पछि बैंकहरुले कृषिमा लगानी त बढाए, तर अपेक्षाकृत भने बढाएनन् ।

सुरुमा केन्द्रीय बैंकले कृषिमा लगानी गर्नै पर्ने व्यवस्था गरेको थियो । नीतिगत व्यवस्था भएपछि पनि धेरै बैंकहरुले अटेरी गरेपछि हर्जना लिने व्यवस्था गरिएको पूर्व डेपुटी गभर्नर सिवाकोटी बताउँछन् । ‘हर्जना लाग्ने व्यवस्था त गर्यौं, तर पनि बैंकहरु लगानी गरेनन्’ उनी भन्छन्, ‘कतिपय बैंक अहिले पनि हर्जना तिर्न तयार हुने तर प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न नचाहने खालका छन् ।’

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार