29.1 C
Kathmandu

स्वतन्त्र जीवन बाँच्दा यात्रा सहज हुने 

पति पत्नीको ओछ्‌यान एउटै हुन्छ भन्ने मान्यतामा हुर्किएका, देखेका र अभ्यास गरिरहेकाहरूलाई राम्रो सम्बन्ध भए एउटै घरमा पतिपत्नी फरक कोठामा बस्छन् भन्ने सुन्यौँ भने हामीले सिधा अर्थ लगाउँछौँ‘ पक्कै यिनीहरूको सम्बन्ध राम्रो छैन र को यसरी बस्थ्यो रु भन्ने लाग्न सक्छ । मनमुटाव हुँदाहुँदै पनि, झगडाकै बीचमा पनि, असाध्यै चित्त दुखेको समयमा, जतिबेला पनि मानिसले एकर्कालाई उस्तै व्यवहार गर्न सक्छ भनेर परिकल्पना गरेका कारण हाम्रो समाजमा पतिपत्नीका सम्बन्धहरू एकअर्कामा डर, त्रास र जोखिमपूर्ण हुँदै गएका छन् । पत्नीसँग पति डराएका जोकहरू देशव्यापीरूपमा चर्चित मानिन्छन् । पत्नीसँग पति डराउँदा जोक बन्ने र पतिसँग पत्नी डराउने अवस्था हुँदा  जिन्दगी नै नरहन सक्ने पनि देखिएको छ ।

विगत र अहिलेको परिवेशमा हाम्रा मनमुटावका विषयहरू फरक हुँदै गएका छन् । हिजो बसाइ सामूहिक थियो, भान्साहरू सामूहिक थिए, कुराकानी र भेटघाटहरू पनि सामूहिक नै बढी हुन्थे । अहिले मानिसहरू एक्लाएक्लै रहन थालेका छन् । समूहमै रहेपनि मान्छेहरू आफ्नो मोबाइलमा घोप्टिएर बस्नु सामान्य झैँ बन्दै गएको छ । झगडाका बिउहरू पनि फेरिँदैछन् । हिजो घरायसी कामकाज लगायतका विषयहरू हुन्थे भने अहिले कसले कसलाई सामाजिक सञ्जालमा ‘लभ साइन’ पठायो, कसले कसलाई लाइक गऱ्यो, कसलाई के कमेन्ट गऱ्यो, फोन र म्यासेन्जरमा कसले म्यासेज पठायो जस्ता कुराहरू मनमुटाव र झैझमेलाका कारण बनिरहेका छन् । सम्बन्धमा समस्या विश्वव्यापी बन्दै गएको सन्दर्भमा पतिपत्नी, प्रेमीप्रेमिका तथा परिवारका सदस्यबीच ‘पर्सनल स्पेस’ अर्थात् व्यक्तिगत स्थान महत्वपूर्ण हुँदै गएको छ ।

विवाहलाई बन्धन मान्दै आएको सन्दर्भमा वैवाहिक जीवनहरू साँच्चिकै बन्धनयुक्त बन्दै गएका छन् । विवाह खासमा बन्धन नभएर मुक्ति बन्न सकेको भए पतिपत्नीका सम्बन्धहरू यति धेरै सकसपूर्ण हुने थिएनन् । एकअर्काको हस्तक्षेपले भरिएको बन्धन चुँडिँदै गएको सन्दर्भमा सम्बन्ध जोगाउनका लागि ‘पर्सनल स्पेस’ को खोजी हुन थालेको छ । विवाह भएपछि अब हामी उस्तै हौँ भनेपनि वास्तविकतामा हरेक मानिस छुट्टै हो, उ आफै हो र फरक हो । फरक व्यक्ति भएको हुनाले चाहनाहरू फरक हुन सक्छन् । कसैलाई एक्लै बस्दा रमाइलो लाग्छ, कसैलाई भिडभाड मन पर्छ । कसैलाई बोलिरहन मन लाग्छ, कसैलाई धेरै बोल्न मन लाग्दैन र वरिपरिका मानिसहरू पनि धेरै नबोलिदिए हुन्थ्यो जस्तो लाग्छ । फरक चाहना र भावनाका बीच जतिबेला पनि सँगै हुँदा भन्दा एउटै घरमा भएपनि आआफ्नो स्पेस कायम गर्दा सम्बन्धहरू सौहार्द्धपूर्ण हुने गरेका देखिएका छन् । विभिन्न देशमा एउटै घरमा तर अलगअलग कोठामा बस्ने गरिएको अभ्यासले राम्रो परिणाम दिएपछि जापानमा विवाह गरेर अलग अलग घरमा बस्ने अर्को नयाँ अभ्यास सुरु भएको छ ।

जापानमा युवाहरूले विवाह गर्ने दर घट्दै गएपछि विवाहमार्फत एकअर्कामा सँगै रहेको प्रतिबद्धता जनाउँदै दुवै जनाको इच्छाअनुसार मनलागे सँगै बस्ने, नलागे आआफ्नै घरमा बस्ने गरेका छन् । विवाहित जोडीले आफूहरू सँगै बस्दा भन्दा आफ्नो पर्सनल स्पेस प्रयोग गर्दा सम्बन्ध राम्रो भएको बताउने गरेका छन् । एकार्काको हस्तक्षेपले करिबकरिब मृत्युको मुखमा पुगेका सम्बन्धहरूलाई पर्सनल स्पेसले बचाउने गरेका छन् । जसका कारण सम्बन्ध बिच्छेद गर्ने बाबुआमाका सन्तानले जस्तो मूल्य यस्ता जोडीका सन्तानले चुकाउनु पर्दैन । यस्ता सम्बन्धलाई ‘लिभिङ टुगेदर बट अपार्ट’ भन्ने गरिएको छ ।

पर्सनल स्पेसले रिसाएर धुम्म परेकी पत्नी या पतिको अनुहार हेर्नबाट आफूलाई मुक्त गरेको र रिस मरेपछिको हँसिलो अनुहारले दुवैलाई खुशी दिने गरेको प्रयोगकर्ताहरूले बताउने गरेको भनी यो विषयमा प्रकाशित लेख, फिचरहरूमा उल्लेख गरिएको छ । कसलाई कस्तो गीत मनपर्छ, कसलाई कस्तो आवाज मनपर्छ । कसैलाई खेल मनपर्छ, कसैलाई सिनेमा मनपर्छ, कसैलाई ध्यान गर्न मन लाग्छ, आआफ्नो इच्छाअनुसारको जीवन बाँच्न पाउनु ब्यक्तिको अधिकारको कुरा हो । तर विवाह गरेकै कारणले ध्यान गर्न नपाएका, नाँच्न या निर्धक्क हाँस्न नपाएका, आफूले चाहेको कार्यक्रम हेर्न नपाएका या मान्छे भेट्न नपाएकाहरूको सङ्ख्या ठुलो छ । खुशी हुनका लागि गरिएको विवाह पछि आफ्ना पुराना साथीहरू, आफ्नै बाबुआमा र दाजुभाइ दिदीबहिनीहरू भेट्न नपाएर दुःखी हुनेहरू पनि त्यत्तिकै छन् । साथीहरूसँगै रमाउने हो भने मलाई किन विवाह गरेको ? भन्ने प्रश्नको सामना गर्नेहरू धेरै छन् । तर विवाह गर्नुको अर्थ वर्षौंदेखिका आफ्ना साथीहरूको साथ छोड्नु त कदापि होइन ।

अहिले झगडाका बिउहरू पनि फेरिँदैछन् । हिजो घरायसी कामकाज लगायतका विषयहरू हुन्थे भने अहिले कसले कसलाई सामाजिक सञ्जालमा ‘लभ साइन’ पठायो, कसले कसलाई लाइक गऱ्यो, कसलाई के कमेन्ट गऱ्यो, फोन र म्यासेन्जरमा कसले म्यासेज पठायो जस्ता कुराहरू मनमुटाव र झैझमेलाका कारण बनिरहेका छन् । एउटा छुट्टै मान्छे हुनुको अर्थमा हाम्रा रुचिहरू फरक हुन्छन् । कसैलाई फोनमा लामो कुरा गर्ने बानी हुन्छ । जतिबेला पनि फोनमा झुण्डिरहने जीवनसाथीलाई देखेर विरक्त हुनेहरूले जेसुकै गरोस् है उसको इच्छा भनेर स्वतन्त्र छोडिदिए हुने हो तर त्यसैलाई लिएर झगडाले उग्र रूप लिएका उदाहरणहरू पनि छन् । पतिपत्नीमध्ये कसैलाई जतिबेला पनि राजनीतिक कुरा मात्रै गर्न मन लाग्ला, कसैलाई राजनीतिक कुरा गरेको मनैनपर्ने पनि हुन्छ । आफ्नो जीवनसाथीको स्वर सुन्न नचाहने तर अरुको आवाजमा मन्त्रमुग्ध हुनेहरूबाट मुक्ति पाउन रातदिनको तनावपूर्ण यात्रा भन्दा पर्सनल स्पेसले ‘इरिटेशन’ घटाउन मद्दत गर्छ ।

कुनै बेला थियो, पतिपत्नीको सम्बन्धलाई सात जुनीको सम्बन्ध भन्ने गरिन्थ्यो । अहिले सात जुनी त के एक जुनीका केही वर्ष बिताउन पनि गाह्रो हुँदै गएको छ । पतिपत्नीका फ्रस्ट्रेसनहरू हँसीमजाकका रूपमा बाहिर आएपनि बडो पीडादायी अवस्थाबाट गुज्रिरहेका छन् भनेर बुझ्न गाह्रो पर्दैन । पतिपत्नीलाई लिएर बनाइएका छोटा भिडियोहरूमा प्रायः पत्नीलाई हरेक पाइलामा दुःख दिने, प्रश्न उठाउने दुष्ट महिलाको रूपमा प्रस्तुत गर्ने गरिएको छ । यसैगरी पतिलाई घर परिवारभन्दा बाहिर रमाउने, छिमेकीलगायतका बाहिरका महिला देख्यो कि आँखा लाउने, विवाहेत्तर सम्बन्धमा लिप्तहुने पुरुषको रूपमा प्रस्तुत गर्ने गरिएको छ । यस्ता सस्ता र भद्दा प्रकारका हँसिमजाकले समाजमा भइरहेका कुरा मात्र उजागर गरेका छैनन्, महिला र पुरुषका बारेमा ‘खत्तम मान्छे’का रूपमा नकरात्मक ‘न्यारेटिभ’ पनि ‘सेट’ गरिरहेका छन् । वास्तविकताचाहिँ के हो भने न सबै महिला उस्तै छन् न त सबै पुरुष या यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नै ! प्रत्येक ब्यक्तिका आआफ्ना फरक प्रवृत्तिहरू हुन्छन् । फरक ‘एटिच्युड’को ब्यवस्थापन गर्दै अघि बढ्नु पारिवारिक जीवनको ठुलो चुनौती पनि हो । पति, पत्नी मात्र होइन परिवारका हरेक सदस्यका फरक प्रवृत्तिसँग जोडिँदै, सामना गर्दै, ब्यवस्थापन गर्दै हामी अघि बढिरहेका हुन्छौँ । परिवार मात्र होइन कार्यस्थल, सङ्घसंस्था, पार्टी, सार्वजनिक स्थल, सभा, समारोह सबैतिर यो लागु हुन्छ ।

हाम्रोजस्तो सामाजिक संरचनामा पुरुषका भन्दा महिलाको ‘पर्सनल स्पेस’ कम हुने गरेको छ । पुरुषले चाहे भने ‘मलाई डिस्टर्ब नगर है’ भनेर घण्टौँ ध्यान गरेर बस्न सक्छन् या पुस्तक पढ्न सक्छन् । महिलाले एक्लै बस्ने समय पाउन गाह्रो छ । भान्सा र पारिवारिक दायित्वको बोझले प्रायः महिलाहरू थिचिएका छन् । ओशो, सद्गुरु, कन्यफ्युसियस, सुकरात, प्लेटो, अरिस्टोटललगायतका चिन्तकहरूलाई हेर्दा ‘त्यही स्तरमा महिला चिन्तकको सङ्ख्या किन भएन ? भन्ने प्रश्न मनमा उब्जिन्छ । जवाफमा ‘ब्यक्तिको आफ्नो संसार’ जोडिएर आउँछ । गौतम बुद्धले जस्तै आफूभित्रको खोजमा उहाँकी पत्नी यशोधराले घर छोडेर हिँड्नुभएको भए के हुन्थ्यो होला ? व्यक्तिगत सुरक्षाको डर त हुन्थ्यो नै, शायद समाजले बौलाहीको संज्ञा दिन्थ्यो होला ।

हामीकहाँ अहिले पनि धेरै महिलाहरूले आफ्नो पर्सनल स्पेस प्रयोग गर्न नपाएका कारण सिर्जनात्मक क्षमतालाई उजागर गर्न सकेका छैनन् । सबैलाई आवश्यक नहुन सक्छ, तर जसलाई आवश्यक छ उसले जतिबेला पनि सँगै बसेर स-साना कुरामा विवाद गर्ने झ्याउँझ्याउँवाला जिन्दगी बाँच्नुभन्दा एउटै घरमा रहेर ‘पर्सनल स्पेस’सहितको स्वतन्त्र जीवन बाँच्दा जीवनको यात्रा सहज हुने देखिन्छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार